कारोबार


आईओई र डब्ल्यूटीओ उच्च नेतृत्वसँग चन्द्र ढकालको भेट, बहुपक्षीय व्यापार र साना अर्थतन्त्रको बजार पहुँचबारे छलफल

आईओई र डब्ल्यूटीओ उच्च नेतृत्वसँग चन्द्र ढकालको भेट, बहुपक्षीय व्यापार र साना अर्थतन्त्रको बजार पहुँचबारे छलफल

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १८:३२, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले परिवर्तित आर्थिक परिदृश्यमा नेपालजस्ता साना मुलुकमा लगानी विस्तार एवं बजार पहुँचबारे अन्तर्राष्ट्रिय संस्थाहरुसँग छलफल गरेका छन्। 

स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न ११३औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा रोजगारदाताहरुको अन्तर्राष्टिय संगठन इन्टरनेशनल अर्गनाइजेसन अफ इम्पोलयर्स (आईओई) का महासचिव रोबर्टो स्वारेज सान्तोस तथा डब्ल्यूटीओका उपमहानिर्देशक झाङ शियाङछेन्सँग भएको छुट्टाछुट्टै भेटवार्ताका क्रममा उनले नेपालभित्र भएका लगानीका सम्भावना र दुवै संस्थाहरुसँगको सहकार्य तथा नेपालको अपेक्षाबारे आफ्ना धारणा राखेका थिए।

आईओईका महासचिव रोबर्टो स्वारेज सान्तोससँगको भेटवार्ताका क्रममा उनले विकासका चुनौतीहरू पार गर्न तत्काल लगानीको खाँचो रहेको उल्लेख गरे। अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्पर्कलाई मजबुत बनाउन र यस क्षेत्रमा प्रयोग भइरहेका उत्कृष्ट अभ्यासहरू नेपालमा भित्र्याउन सहयोग आदान प्रदान गर्न सक्ने विचार व्यक्त गरे। 

उनले पर्यटन, जलविद्युत् र सूचना तथा सञ्चार प्रविधिजस्ता क्षेत्रहरूमा नेपालमा उल्लेखनीय लगानीका अवसरहरू उपलब्ध रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा फैलाउन सहयोग गर्न महासचिव रोबर्टो स्वारेज सान्तोससँगको आग्रह गरे।

“नेपालमा लगानीका पर्याप्त सम्भावना छन्। भारत र चीनजस्ता दुई विशाल अर्थतन्त्रहरूबीच अवस्थित नेपाल ३ अर्ब जनसंख्याको बजारमा उत्पादन र निर्यातका लागि उपयुक्त स्थान भएकाले अन्तर्राष्टिय लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दछु”, उनले भने। 

अध्यक्ष ढकालले आईओई र महासंघसँगको सहकार्यमार्फत नीति संवाद, सामाजिक संवाद तथा संस्थागत क्षमताको सुदृढीकरणमा दिएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे। उनले आईओईसँगको सहकार्यले नेपाली रोजगारदाताहरुलाई विश्वव्यापी मञ्चहरूमा आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै तालिम र अनुसन्धान पहुँच बढाएको उल्लेख गरे। 

सो अवसरमा बोल्दै आईओईका महासचिव रोबर्टो स्वारेज सान्तोसले महासंघ आईओईको पुरानो र क्रियाशलि सदस्य रहेको उल्लेख गर्दै महासंघले अन्तर्राष्ट्रियस्तरका निर्वाह गरेको भूमिका र सहकार्यको प्रशंसा गरे। उनले आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि आईओई सधैँ तयार रहेको बताए।

यसैगरी सम्मेलनको क्रममा महासंघका अध्यक्ष ढकालले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का उपमहानिर्देशक झाङ शियाङछेन्सँग पनि बेग्लै भेटवार्ता गरे। उक्त भेटमा उनले नेपालले अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा भोगिरहेका केही संरचनात्मक चुनौतीहरूबारे चर्चा गरे।

सन् २०२६ सम्म नेपालले अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति गर्ने प्रक्रियाको सन्दर्भमा डब्ल्यूटीओले अन्तरिम अवधिमा शुल्क तथा कोटामुक्त पहुँच कायम राख्ने निर्णयलाई अध्यक्ष ढकालले स्वागत गरे। तर, उनले नेपाललाई अन्तर्राष्ट्रिय मापदण्डहरू पुरा गर्न सक्ने बनाउने प्रविधि, ज्ञान र स्रोतमा आधारित प्राविधिक सहायता र सन्धिहरू कार्यान्वयनका लागि लचकता उपलब्ध गराउन डब्ल्यूटीओसँग विशेष अनुरोध गरे।

“एलडीसी ग्र्याजुयसनको विषय राष्ट्रिय गौरवको विषय भए पनि निःशुल्क र कोटामुक्त बजार पहुँचजस्ता सुविधाहरू गुम्दा साना तथा मझौला उद्यमहरू विशेष प्रभावित हुने सम्भावना छ । तसर्थ अन्तराष्टिय श्रम संगठन (आइएलओ) र संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालका पक्षमा न्यायोचित र सहयोगमूलक रूपान्तरणको वकालत गर्न म आईओईसँग आग्रह गर्दछु”, ढकालले भने।

उनले विकसित राष्ट्रहरूले कृषि क्षेत्रमा दिने अत्यधिक अनुदानका कारण नेपाली कृषकहरू प्रतिस्पर्धाबाट पछाडि परेको बताए। (डब्ल्यूटीओ) अन्तर्गतका स्यानिटरी र फाइटोस्यानिटरी ( एसपीएस) तथा प्राविधिक अवरोध (टीबीटी) सन्धिहरूमा उल्लेखित उच्च मापदण्डहरू पूरा गर्न नेपाली साना उत्पादकहरूलाई कठिन भइरहेको बताए।

“भन्सार प्रक्रियाको जटिलता, आयात अनुमति तथा कोटाजस्ता गैर–शुल्कीय अवरोधहरूले हाम्रा निर्यातलाई अझै पनि बाधा पुर्‍याइरहेका छन्”, उनले भने। 

डब्ल्यूटीओको प्रतिबद्धताअनुसार गरिएको भन्सार महसुल कटौतीले सरकारको राजस्व घटाएको, जसले आधारभूत पूर्वाधार, स्वास्थ्य र शिक्षामा लगानी गर्न कठिन बनाएको भन्दै उहाँले थप सहयोगको आवश्यकता औँल्याए। 

भेटवार्ताका अवसरमा विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का उपमहानिर्देशक झाङ शियाङछेन्ले डब्ल्यूटीओ नेपालको आर्थिक क्षेत्रको विकास, अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन र क्षमता विस्तारमा निरन्तर सहयोग गर्ने बताए। भेटवार्ताका अवसरमा महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठ र उपसभापति बाबुकाजी कार्कीको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad