धितोपत्रको प्राथमिक र दोस्रो बजारमा लगानी बढाउन सेयर कारोबारीहरूले बैंक तथा वित्तीय संस्थाहरूबाट मार्जिन प्रकृतिको कर्जा अर्थात् सेयर धितो कर्जा लिने गरेका छन्।
आफूसँग भएको सेयरलाई नै धितो राखेर लिने हुँदा यस्तो कर्जामा विशेष गरी दोस्रो बजारका लगानीकर्ताहरू धेरै हुन्छन्। छोटो समयमा नाफा निकाल्ने उद्देश्यले उनीहरू यो शीर्षकबाट कर्जा लिएर दोस्रो बजारमा लगानी गर्छन्।
सरकारले विस्तारै नीतिगत कडाइ खुकुलो बनाउँदै लगेपछि पछिल्लो समय लगानीकर्ताले कर्जा बढाउँदै लगेका छन्। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म उनीहरूले बजारमा लगानी गर्न कुल ३५ अर्ब ऋण लगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
यसमा ठूला कारोबारीको हिस्सा मात्रै ८२.८५ प्रतिशत छ। करोडमाथिको कर्जा लिने यस्ता लगानीकर्ताले मात्रै १० महिनामा कुल २९ अर्ब ८० करोड रुपैयाँ ऋण लगेका छन्। गत वर्ष गत सोही अवधिमा सेयरधितो कर्जामा कुल ९ अर्ब ६४ करोड कर्जा प्रवाह हुँदा ८ अर्ब ९ करोड रुपैयाँ ठूला कारोबारीले लगेका थिए।
यो वर्ष भने असारदेखि वैशाखसम्म ठूला कारोबारीहरूले ५३.३ प्रतिशत बढी कर्जा लगेका हुन्।
सस्तो ब्याजमा साना लगानीकर्ताले पनि बढाए कर्जा
सामान्यतया कसलाई ठूला लगानीकर्ता वा ऋणी भन्ने वा कसलाई साना लगानीकर्ता वा ऋणी भन्ने निक्र्योल नभए पनि राष्ट्र बैंकले कर्जा लैजाने ऋणीहरूलाई रकमका आधारमा ४ प्रकारका वर्गीकरण गर्दै आएको छ।
यसअनुसार २५ लाखसम्मको कर्जा, २५ लाखदेखि ५० लाखसम्मको कर्जा, ५० लाखदेखि १ करोडसम्मको कर्जा र १ करोडभन्दा माथिको कर्जा प्रवाह गरिएको हुन्छ।
चालू आवको सुरुबाटै वाणिज्य बैंकहरूको ब्याजदर एकल अंकमा छ। वैशाखमा मात्रै वाणिज्य बैंकहरूको ब्याजदर ६ प्रतिशतसम्म ओर्लिएको थियो। झण्डै एक दशकपछि तल्लो सीमामा ब्याजदर आएपछि त्यसको फाइदा उठाउँदै लगानीकर्ताले लिने कर्जा बढाएको देखिन्छ।
राष्ट्र बैंकका अनुसार १ करोड माथिको कर्जा लैजाने ऋणीहरूले वैशाख मसान्तसम्म ५३.३ प्रतिशतले कर्जा बढाएर कुल कर्जाको ८२.८५ प्रतिशत कर्जा उपभोग गरे भने ५० लाखदेखि १ करोडसम्मको कर्जा लैजाने लगानीकर्ताले २ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगेका हुन्।
असारयता लगानीकर्ताले यस्तो कर्जा २१ प्रतिशतले बढाएका हुन्।
यस्तै २५ लाखदेखि ५० लाखसम्मको कर्जा लैजाने लगानीकर्ताले १५.३ प्रतिशतले कर्जा बढाउँदा २५ लाखसम्ममात्रै कर्जा लैजाने लगानीकर्ताले १०.८ प्रतिशतले कर्जा बढाएका छन्।
वैशाख मसान्तसम्म २५ लाखदेखि ५० लाखसम्मका सेयर धितो कर्जामा लगानीकर्ताले २ अर्ब २० करोड र २५ लाखभन्दा तल ७९ करोड रुपैयाँ कर्जा लगेका छन्।
बजारमा देखिएन लगानी
कुल कर्जाको ८२ प्रतिशत कर्जा उपभोग गर्ने ठूला लगानीकर्ताले यो अवधिमा कर्जालाई बढाए पनि बजारमा भने लगानी गरेका छैनन्।
धितोपत्रको दोस्रो बजारमा हुने दैनिक औसत कारोबारले पनि कर्जाको वृद्धिअनुसार कारोबार बढेको देखिँदैन।
यो अवधिमा धितोपत्रको दोस्रो बजारमा अधिकतम २९ अर्बको कारोबार भएको थियो।
साउन ३० गते लगानीकर्ताले एकै दिन २९ अर्बको कारोबार गरेर अलटाइम हाइ रेकर्ड राखे। तर त्यसपछिको बजारमा भने कारोबारले उस्तै लय लिएन। बरु लगातार बजारमा कारोबारीहरू निष्क्रिय रहँदा कारोबार रकम खस्किन पुग्यो।
अहिले दैनिक सरदर ६ देखि ७ अर्बको मात्रै कारोबार हुँदै आएको छ।
गएको १० महिनामा ३९ प्रतिशतले कर्जा बढ्दा कारोबारमा त्यसअनुसारको वृद्धि नदेखिएको हो।
Shares

प्रतिक्रिया