होटल क्षेत्रमा अर्बौं लगानी भए पनि बनेका विमानस्थल नचल्दा र सडकहरु समयमै नबन्दा होटल क्षेत्र ठूलो मारमा परेको होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताएका छन्।
अन्तर्राष्ट्रिय चेनहरु ल्याएर अर्बौं लगानी भएका होटलहरु खोले पनि राम्रो प्रतिफल पाउन नसकिएको उनले बताएका हुन्।
आगामी वर्षको बजेटबारे कुराकानी गर्दै अध्यक्ष शाहले होटल क्षेत्रमा क्षमता धेरै विस्तार भइसकेको उल्लेख गरे।
अध्यक्ष शाहकाअनुसार हस्पिटालिटी क्षेत्रमा ३५–३६ लाख पर्यटक आउँदा पनि स्तरीय सेवा दिनसक्ने क्षमता छ। तर कनेक्टिभिटी सुचारु नहुँदा समस्या भइरहेको छ। आर्थिक चाप, देशमा तरलता धेरै रहेको, बाह्य सूचकहरु राम्रो देखिँदा समेत व्यवसायीहरुले लाभ लिन नपाएको उनले बताए।
त्यसकारण व्यवसायीका समस्या सम्बोधन गर्ने बजेट ल्याउन उनले माग गरे।
शाहले भने, ‘हाम्रा एयरपोर्टहरु बनेका छन् तर सुचारु नहुनु, बाटोघाटाको समयमै स्तरोन्नति नहुनु समस्याका रुपमा देखापरेका छन्। यसले गर्दा आउनुपने पर्यटक पनि ल्याउन कठिन भइरहेको छ। अहिले हस्पिटालिटी क्षेत्र क्षमताको एक तिहाइ मात्रै प्रयोग भइरहेको छ। यसले देश र लगानीकर्ताहरुलाई निराश बनाएको छ। जुन प्रतिफल पाउनुपर्थ्यो, त्यो पाउन सकिएको छैन।’
सरकारले नीति तथा कार्यक्रममा केही कुराहरु राम्रो ल्याएकोले त्यसलाई समेत समेटेर बजेट ल्याउनुपर्नेमा उनको जोड छ।
‘अहिलेको मूलभूत समस्या भनेको कनेक्टिभिटीलाई बजेटले जोड दिनुपर्छ’, उनले भने, ‘पोखरा, चितवनका राजमार्गहरु वर्षौंदेखि बनिरहेका छन्। कहिले सकिने भन्ने एकीन छैन। समयसीमा नै तोकेर ती राजमार्गहरु स्तरोन्नति गर्नुपर्छ।’
अध्यक्ष शाहले यी कुरा बजेटले सम्बोधन गर्नुपर्ने बताए।
पर्याप्त बजेट भएनन् भने ती राजमार्गहरुको भविष्य झनै अनिश्चित हुने भएकाले त्यसमा ध्यान दिन जरुरी रहेको उनले उल्लेख गरे।
अहिलेको बजेटले ती राजमार्गका सन्दर्भमा फरक हिसाबले हेर्नुपर्ने र पूर्वाधार निर्माणमा सरकारी निकायबीच नै देखिएको समन्वयको अभाव अभाव रहन नहुने उनको भनाइ छ।
भैरहवा र पोखरा एयरपोर्टलाई द्रुत रुपमा पूर्ण सञ्चालनमा ल्याउने गरी सरकार लाग्नुपर्ने बताउँदै उनले त्यसो भयो भने एक वर्षमा पर्यटकको संख्या दोब्बर गर्न सकिने हुँदा त्यतातिर बजेट केन्द्रित हुनुपर्ने सुझाव दिए।
राम्रो लगानी गरेर सरकारको नीति नियम मानेर सरकारलाई कर तिरेर गर्ने होटलहरु र अनौपचारिक क्षेत्रका होटलहरुले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेकाले यो कुरालाई बजेटले हेर्नुपर्ने उनले बताए।
विगतमा पनि राम्रा कार्यक्रम योजना ल्याइएको तर कार्यान्वयन हुन नसकेकोले बजेटले यसपालि तोकेकामध्ये १५—२० प्रतिशत मात्रै काम सुरु हुने र फत्ते नहुने समस्या सुल्झाउन उनको जोड छ।
बजेट कार्यान्वयनलाई सरकारले प्रभावकारी हिसावले नबढाएसम्म निजी क्षेत्रको विकास नहुने उनको बुझाइ छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको सक्रियतामा अध्यादेशमार्फत आएको होटल क्षेत्रलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगका रुपमा मान्यता दिइनु सकारात्मक भएको अध्यक्ष शाहको भनाइ छ। न्युज एजेन्सी नेपालबाट
Shares

प्रतिक्रिया