कारोबार


नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउन अध्यक्ष ढकालको आग्रह

नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउन अध्यक्ष ढकालको आग्रह

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १९:४४, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई प्रभावकारी बनाउँदै सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा आजदेखि यहाँ सुरू भएको तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम)को उद्घाटन कार्यक्रममा उनले कनेक्टिभिटीका लागि नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउँदै सञ्चालन गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘हाम्रा दुई छिमेकी देशहरू भारत र चीनमा बौद्ध अनुयायीहरूको सङ्ख्या बढी छ। उहाँहरू पनि यहाँ आउन इच्छुक हुनुहुन्छ। हामीले छिमेकी मुलुकबाट पर्यटक यहाँ सोहीअनुसार योजना बनाउनुपर्छ। यहाँका उत्पादनको ‘ब्रान्डिङ’ गर्नुका साथै पर्यटक लक्षित ‘प्याकेज’हरू तयार गर्नुपर्छ।’

पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकाससँगै कनेक्टिभिटी बढाउन पनि सरोकार भएका निकायलाई अध्यक्ष ढकालले आग्रह गरे। मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गर्दै उनले मार्टलाई परिस्कृत गरी ब्रान्डका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

उनले बौद्ध पर्यटन प्रवर्द्धनका लागि नेपालको लुम्बिनीसहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थलहरू तथा भारतमा रहेका तीर्थस्थलहरूसँग जोडेर ‘बौद्ध सर्किट’ विकास गर्नुपर्ने बताए। अध्यक्ष ढकालले विश्वभरका बौद्ध धर्मावलम्बीलाई कम्तीमा एक पटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुपर्छ भन्ने सन्देश दिन तथा सोहीअनुरूप पर्यटक आगमन बढाउन सकेमा नेपाल आर्थिक रूपमा सबल हुनुका साथै पर्यटनको आयाम परिवर्तन गर्न सकिने धारणा राखे।

अर्बौंको लागतमा गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माण भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकाले पर्यटकको आवागमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको अध्यक्ष ढकालले बताए। विमानस्थल पूर्ण रूपमा सञ्चालनका लागि ठोस पहल गर्न उनले सरकारसँग आग्रह गरे।

‘गौतमबुद्धको जन्मस्थल लुम्बिनीको सम्भावना र सोही विमानस्थललाई हेरेर निजी क्षेत्रले ठूलो लगानी गरेका छन्। तर, विमानस्थल सञ्चालनमा नआउँदा लगानी गुम्ने जोखिम बढेको छ। यो विषय पोखरा विमानस्थलमा पनि लागू हुन्छ। यसप्रति सरकार संवेदनशील हुन आवश्यक छ’, उनले भने। बिआइटिएमले लुम्बिनीमा आन्तरिक तथा अन्तरराष्ट्रिय पर्यटकहरूको बसाइँ लम्ब्याउन र लुम्बिनीलाई एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पनि मद्दत गर्ने अध्यक्ष ढकालले धारणा राखे।

‘लुम्बिनीको आध्यात्मिक वातावरण ध्यान कक्षाहरू प्रदान गर्न उपयुक्त छ। वर्तमान समयमा सूचना, प्रविधिको बढ्दो प्रयोगले संसारका मानिस शान्ति, सजगता र दैनिक तनावबाट विश्राम खोजिरहेका छन्। लुम्बिनीले स्वस्थ पर्यटन प्रवर्द्धनका लागि आदर्श र शान्त वातावरण प्रदान गर्दछ। हामी धार्मिक पर्यटक लक्षित भएर विभिन्न कल्याणकारी कार्यक्रमहरू विकास गर्न सक्छौँ’, अध्यक्ष ढकालले भने।

उनले नेपालको हवाई भाडा महँगो हुँदाहुँदै सरकारले टिकटमा भ्याट लगाउँदा भाडा थप महँगो हुन गएको बताउँदै यसमा समीक्षा गर्न आग्रह गरे। उनले भारतीय पर्यटक नेपाल आउँदा २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन पाउने प्रावधानलाई परिमार्जन गरी अन्य देशहरूबाट आउने पर्यटकले जस्तै नेपालमा मान्य हुने पाँच हजार अमेरिकी डलरसम्मको मुद्रा ल्याउन पाउने व्यवस्था गरिनुपर्ने सुझाव दिए।

नेपालमा पर्यटनको सम्भावना अत्यधिक रहेको बताउँदै अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रले सहकार्य तथा समन्वय गरी यसबाट लाभ उठाउनसक्ने उल्लेख गरे। विदेशी लगानीकर्तालाई पनि यहाँको पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना भएकाले ढुक्कसँग लगानी गर्न उनले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad