कारोबार


लगानी बोर्डमा निजी क्षेत्रबाट नयाँ बोर्ड सदस्य नियुक्त हुने, को बाहिरिए?

लगानी बोर्डमा निजी क्षेत्रबाट नयाँ बोर्ड सदस्य नियुक्त हुने, को बाहिरिए?

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १२:१६, काठमाडौँ

लगानी बोर्डमा निजी क्षेत्रबाट नयाँ बोर्ड सदस्य नियुक्त हुने भएका छन्।

बोर्ड सदस्यहरु भवानी राणा, हरिभक्त शर्मा, राजेशकाजी श्रेष्ठ बाहिरिएसँगै नयाँ सदस्य मनाेनयन हुने भएका हुन्।

कार्य अवधि सकिएकाले ३ जना बाहिरिएसँगै बोर्ड अध्यक्षले नयाँ सदस्य नियुक्त गर्ने लगानी बोर्डले जनाएको छ। 

‘बोर्डमा कार्य अवधि सकिएर ३ जना बाहिरिनुभएको हो’, बोर्ड सहप्रवक्ता युवराज खतिवडाले भने, ‘अब अध्यक्षले नयाँ सदस्य नियुक्त गर्नुहुन्छ।’

लगानी बोर्ड ऐन २०५८ अनुसार  प्रधानमन्त्री बोर्डको अध्यक्ष हुन्छन्। उपाध्यक्ष प्रधानमन्त्रीले तोकेको व्यक्ति हुन्छ भने सदस्यमा अर्थमन्त्री, उद्योगमन्त्री, वनमन्त्री, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गभर्नर, नेपाल सरकारको मुख्य सचिव पदेन सदस्य हुन्छन्। 

त्यसबाहेक उद्योग, पर्यटन, पूर्वाधार विकास, वाणिज्य कानुन तथा वित्तीय क्षेत्रका विशेषज्ञहरुमध्ये बोर्डले मनोनयन गरेको कम्तीमा एक जना महिलासहित ४ जना नियुक्त हुने व्यवस्था रहेको छ। हाल एक महिलासहित ३ जना मात्रै मनोनयन गरिएको थियो। 

उद्योग वाणिज्य महासंघको तर्फबाट भवानी राणा, नेपाल उद्योग परिसंघको तर्फबाट हरिभक्त शर्मा र चेम्बर अफ कमर्सको तर्फबाट राजेशकाजी श्रेष्ठ मनोनयन भएका थिए।

लगानी बोर्डले सबैभन्दा बढी ऊर्जा परियोजनालाई स्वीकृति दिएको छ। ऊर्जा प्रवर्द्धकले आफूहरूलाई राख्नुपर्ने माग गर्दै आएका छन्।

बोर्डको खाली भएका सदस्यहरुको लागि नेपाल उद्योग वाणिज्य महासंघबाट चन्द्रप्रसाद ढकाल, उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, इप्पानका अध्यक्ष गणेश कार्की, अरुण कुमार  र महिला सदस्यमा सिर्जना राणा बन्ने चर्चा छ। 

‘लगानी बोर्डको सदस्य खाली रहेका छन्। यो पटक ऊर्जा प्रवर्द्धकको प्रतिनिधित्व हुनुपर्छ भन्दै आएका छौँ’, इप्पानका अध्यक्ष गणेश कार्कीले भने।

सदस्यहरुको नियुक्ति प्रधानमन्त्रीले गर्ने व्यवस्था छ। उनीहरु २ वर्षको लागि नियुक्त हुन सक्नेछन् भने पुनर्नियुक्त पनि हुन सक्नेछन्। बोर्डको सदस्य पदमुक्त भएमा उक्त स्थानमा अर्को व्यक्तिलाई बाँकी अवधिका लागि मात्र नियुक्त गरिनेछ। 

सदस्य सचिवको रूपमा कार्यालयको कार्यकारी प्रमुख हुन्छन्। अहिले सुशील ज्ञवाली बोर्डका कार्यकारी प्रमुख छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad