विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरको सङ्क्रमण फैलन नदिन जारी भएको लकडाउनका कारण म्याग्दीका दूध उत्पादन गर्ने गाईभैँसीपालक कृषक समस्यामा परेका छन्।
लकडाउनसँगै बजार क्षेत्रमा बसोबास गर्ने मानिस गाउँ फर्किएपछि दुध खपत हुन छाडेको किसानले बताएका छन्। उत्पादन भएको दूध गाइभैँसीलाई नै खुवाउनुपर्ने बाध्यता आएको कृषकहरुको गुनासो छ।
अठार वर्षदेखि व्यावसायिकरूपमा भैँसीपालन गर्दै आएका बेनी नगरपालिका–६ बाँसबोटका दुर्गाप्रसाद पौडेलले दैनिक १०० लिटर बढी दूध खेर गएको दुःखेसो गरे।
सत्र वटा भैँसी पालेका वरदान पशुपक्षी फार्मका सञ्चालक पौडेलले दैनिक २५० लिटर बढी दूध उत्पादन गर्दै आएका छन्। खपत घटेपछि दूधलाई व्यवस्थापन गर्न समस्या भएको उनले बताए।
बिहान उत्पादित दूधमध्ये दैनिक ८० लिटर बजारमा ल्याएर बिक्री गर्ने गरे पनि बाँकी १०० लिटर भन्दा बढी दूध दैनिकरूपमा खेर जाने गरेको उनको भनाई छ। ‘केही दुध कुराउनी, पनिर बनाएर सदुपयोग गर्ने कोसिस गरेको छु, तर त्यो पनि विक्री गर्न कठिन छ। विक्री नहुने दूध पाडापाडी र भैँसीलाई नै खुवाउने गरेको छु’, पौडेलले भने।
यहाँका कृषकले उत्पादन गरेको दूध बजारमा डेरीमा प्रतिलिटर १०० र फुटकर रुपमा १२० रुपैयाँमा बिक्री हुँदै आएको छ।
व्यावसायिकरूपमा गाईभैँसी पालन गर्दै आएका अर्थुङ्गेका युवा कृषक कमल पौडेलले उत्पादन भएको आधाभन्दा बढी दूध खेर फाल्नुपर्दा ठुलो नोक्सानी व्यहोर्नुपरेको गुनासो गरे। ‘मेरो फार्ममा एउटा गाई र नौ भैँसी छन्, दैनिक ८० लिटरसम्म दूध उत्पादन गर्छु। आधा पनि खपत हुँदैन। बाँकी दूध भैँसीलाई नै खुवाउने र खेर फाल्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने।
बेनी बजार आसपासका कृषकले दैनिक उत्पादन गर्ने ६० प्रतिशत दूध खेर गइरहेको एकता दुग्ध उत्पादक तथा गाईभैँसी स्रोत केन्द्र विकास समितिका अध्यक्ष जीवनप्रसाद पौडेलले बताए।
छ वटा भैँसी पाल्दै आएका पौडेलले दैनिक ६० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएका छन्। अहिले आधा पनि बजारीकरण गर्न नसकेको उनको भनाई छ।
बेनी नगरक्षेत्रमा मात्रै दुई दर्जनभन्दा बढी कृषकले व्यावसायिक रूपमा दूध उत्पादन गर्ने गरी गाईभैँसी पालन गर्दै आएका छन्।
समितिका अनुसार सामान्य अवस्थामा बेनी बजारमा मात्रै दैनिक १५ सय लिटरको हाराहारीमा दूध खपत हुने भए पनि अहिले त्यसको ४० प्रतिशत मात्रै खपत हुने गरेको छ।
बेनी नगरपालिकासँगै जिल्लाको रघुगङ्गा, मङ्गला र मालिका गाउँपालिकामा समेत व्यावसायिकरूपमा गाईभैँसी पालन हुँदै आएको छ।

प्रतिक्रिया