आज (बिहीबार) ६३ औं राष्ट्रिय सहकारी दिवस। औपचारिक कार्यक्रमको आयोजना गरी देशब्यापी सहकारीका बारेमा राष्ट्रिय बहस हुनुपर्ने दिन। तर यस वर्षको सहकारी दिवस फरक ढंगले मनाइएको छ।
कोरोना भाइरको संक्रमणका कारण विश्वसँगै देश पनि अहिले संकटमा छ। यस्तो अवस्थामा संक्रमणको रोकथामका निम्ती सहकारी दिवस केन्द्रित रह्यो।
यसवर्षको ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको छ।
नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको हो। राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा स्थापना भएको उक्त केन्द्रलाई बिहीबार एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माीकुमारी अर्यालले शुभारम्भ गरेकी हुन्।
त्यस अवसरमा केन्द्रको शुभारम्भ गर्दै मन्त्री अर्यालले सहकारी सेवामूलक संस्था हो भन्ने पहिचान दिने अवसर भएको भन्दै सहकारी दिवसका दिन कोरोना उपचार केन्द्रको स्थापना गरिएको बताइन्।
सो कोरोना नियन्त्रण सहकारी केन्द्रमा सेवा लिन र सहयोग गर्न समेत मन्त्री अर्यालले आग्रह पनि गरिन्।
त्यस अवसरमा भेन्टिलेटर, पीपीई लगायतको सामग्री हस्तान्तरण गरिएको थियो। कोरोनाको महामारीलाई नियन्त्रण गर्नका लागि सहकारी अभियानको ऐक्यबद्धतामा उक्त सेन्टरको स्थापना गरिएको कोरोना नियन्त्रण सहकारी व्यवस्थापना समितिका संयोजक तथा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन्।

प्रतिक्रिया