कारोबार


कमिसनको आम्दानीले नपुग्ने भन्दै ब्रोकरले मागे कार्यक्षेत्र विस्तार, चुक्ता पुँजी बढाउने समय २ वर्ष थप्न माग

कमिसनको आम्दानीले नपुग्ने भन्दै ब्रोकरले मागे कार्यक्षेत्र विस्तार, चुक्ता पुँजी बढाउने समय २ वर्ष थप्न माग

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १३:२७, काठमाडौँ

चुक्ता पुँजी बढाउन नसकेको मौकामा धितोपत्र दलालहरुले आम्दानी बढाउन कार्यक्षेत्र थप गर्नुपर्ने माग गरेका छन्।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले कमिसनबाट मात्रै आम्दानी नभएको भन्दै कार्यक्षेत्र थप गर्न नियामक निकाय धितोपत्र बोर्डलाई आग्रह गरेको हो।

एसोसिएसनले पाँचवटा माग राख्दै धितोपत्र बोर्डमा बुझाएको थियो। उसले कार्यक्षेत्र विस्तारसँगै ब्रोकरले असारसम्म चुक्ता पुँजी २० करोड पुर्‍याइसक्नुपर्ने व्यवस्थालाई संशोधन गर्न समेत माग गरेको छ।

बोर्डले असार मसान्तसम्म २० करोड चुक्ता पुँजी पुर्‍याउन सबै ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको थियो। चुक्ता पुँजी सीमामा पुर्‍याउने अन्तिम समय आइसक्दा पनि पुँजी बढाउन नसकेका ब्रोकर कम्पनीहरुले समय थपको माग गरेका हुन्।

उनीहरुले १० गुणा चुक्ता पुँजी बढाउन सहज नभएको भन्दै थप २ वर्षको समय मागेका छन्। चालू हुँदा २ करोड चुक्ता पुँजी रहेका कम्पनीहरुले १० गुणाले पुँजी बढाउनुपर्ने व्यवस्थाबमोजिम २०८२ असारसम्म चुक्ता पुँजी पुर्‍याउन असम्भवप्राय: रहेको उल्लेख गरेका छन्।

उनीहरुले २०८४ असारसम्मको समयसीमा लम्ब्याउनुपर्ने उल्लेख गरेका छन्। यस्तै एसोसिएसनले क वर्गका बैंकको सहायक कम्पनीले गर्ने धितोपत्र कारोबारमा दुविधा उत्पन्न भएको भन्दै यस्ता कम्पनीहरुले आफ्ना मुख्य कम्पनी वा सोका अन्य सहायक कम्पनीको धितोपत्र स्वामित्व ग्रहण गर्न नपाउने व्यवस्था गर्न आग्रह गरेका छन्।

हाल यस्ता कम्पनीहरुले आफ्ना मुख्या कम्पनी वा तिनका अन्य सहायक कम्पनीको धितोपत्र खरिद वा बिक्री गर्न नपाउने व्यवस्था थियो।

एसोसिएसनले सो व्यवस्थालाई संशोधन गर्दै सेयर ग्रहण समेत गर्न नसक्ने व्यवस्था गर्न माग गरेको छ। 

योबाहेक क वर्गका बैंकको लगानी रहेको ब्रोकर कम्पनीमा बैंकसँग सम्बन्धित कर्मचारीलाई नियुक्त गर्न पाउनुपर्ने तथा आम्दानी बढाउन कार्यक्षेत्र विस्तार गर्नुपर्ने माग गरेका छन्।

हालको व्यवस्थामा तोकिएको पुँजीअनुसारको कार्यक्षेत्र थोरै भएको तथा धितोपत्रको खरिदबिक्रीबाट प्राप्त कमिसन आम्दानीबाट मात्रै व्यवसाय सञ्चालन कठिन देखिएको हुँदा थप कार्यक्षेत्र विस्तार गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने विज्ञप्तिमा भनिएको छ।

एसोसिएसनले सञ्चालनमा आएका ब्रोकर कम्पनीलाई एक वर्षपछि प्राथमिक सेयर निष्काशनका लागि अनुमति प्रदान गर्नुपर्ने, म्युचुअल फन्ड म्यानेजरसम्बन्धी काम गर्न पाउनुपर्ने, धितोपत्र बजारको अनुमति लिई तोकिएको कम्पनीमा दुईतर्फी खरिदबिक्री गर्न आवेदन दिने गरी बजार निर्माताको कार्य गर्न पाउनुपर्ने तथा संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्नु पाउनुपर्ने, लगानी एडभाइजरी सेवा दिन पाउनुपर्नेलगायतका मागहरु राखेका छन्।

यस्तै एसोसिएसनले ब्रोकरका सेयरधनी कार्यकारी प्रमुख, कर्मचारी निजको एकाघर परिवारको सदस्यका लागि समेत आफ्नो कम्पनीबाट सेवा दिनपाउनुपर्ने माग राखेका छन्। हाल धितोपत्र व्यवसायी नियमावली २०६४ ले आफ्ना सेयरधनी, कर्मचारी वा एकाघर परिवारका सदस्यलाई सेवा दिन नपाउने व्यवस्था गरेको छ। 

एसोसिएसनले यस्तो कारोबारलाई प्रत्येक त्रैमासिकमा बोर्डलाई जानकारी दिनुपर्ने व्यवस्था गरेर भए पनि सेवा दिन पाउनुपर्ने माग राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad