कारोबार


बिमा प्राधिकरणले निर्देशन संशोधन गरेर हिमालयन रिलाई दियो वैदेशिक रोजगार बिमा कोष सञ्चालन अनुमति

बिमा प्राधिकरणले निर्देशन संशोधन गरेर हिमालयन रिलाई दियो वैदेशिक रोजगार बिमा कोष सञ्चालन अनुमति

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १३:४५, काठमाडौँ

नेपाल बिमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बिमा सामूहिक बिमा कोष सञ्चालनका लागि हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई अनुमति दिएको छ।

प्राधिकरणले वैदेशिक रोजगार बिमालेखबापत प्राप्त रकम जम्मा गर्न सामूहिक बिमा कोषको कोष र खाता हिमालयन रि इन्स्योरेन्सले सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मा दिएको हो।

वैदेशिक रोजगार म्यादी जीवन बिमा सामूहिक बिमा कोष (पुल) सञ्चालनसम्बन्धी निर्देशन, २०८१ को दफा ५ मा प्राधिकरणबाट इजाजत पत्रप्राप्त प्रत्येक पुनर्बिमकले चार वर्षका लागि पालैपालो कोष प्रबन्धकको रुपमा कार्य गर्न सक्ने व्यवस्था गरेको छ।

उक्त निर्देशनअनुसार प्राधिकरणले कोष सञ्चालनको जिम्मा ४ वर्षका लागि हिमालयन रिइन्स्योरेन्सलाई दिएको हो।

नेपालमा अहिले २ वटामात्रै पुनर्बिमा कम्पनीहरू छन्। सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनी र निजी स्वामित्वको हिमालयन रि इन्स्योरेन्स सञ्चालनमा छ।

निर्देशनअनुसार ४ वर्षका लागि प्राधिकरणले उक्त कोषको सञ्चालन व्यवस्थापनको जिम्मा हिमालयनलाई दिएको हो।

प्राधिरकरणले फागुन ४ गतेको दुवै पुनर्बिमा कम्पनीलाई छलफलमा बोलाएको थियो।

आपसी सहमतिमा वैदेशिक रोजगार बिमालेखबापतको प्राप्त रकम जम्मा गर्ने सामूहिक बिमा कोष र त्यसको खाता सञ्चालन तथा व्यवस्थपनको जिम्मा हिमालयनले ४ वर्ष गर्ने अनुमति पाएको छ।

नेपालमा अहिले वैदेशिक रोजगार बिमालेख सबैभन्दा धेरै जारी हुने बिमालेख हो।

निर्देशन संशोधन गरेर अनुमति
प्राधिकरणले वैदेशिक रोजगार म्यादी बिमालेख सामूहिक कोष (पुल) स्थापना तथा सञ्चालनसम्बन्धी निर्देशन २०८१ दोस्रो पटक संशोधन गरेर ४ वर्षका लागि हिमालयन रिलाई कोष सञ्चालनको अनुमति दिएको हो। 

यसअघिको निर्देशनमा प्राधिकरणबाट इजाजतप्राप्त पुनर्बिमक कम्पनीहरुले संयुक्त रुपमा कोष प्रबन्धकको रुपमा काम गर्न पाउने व्यवस्था गरेको थियो।

प्राधिकरणले उक्त व्यवस्था हटाएर पुनर्बिमक कम्पनीहरूमध्ये एकले मात्रै ४ वर्ष कोष सञ्चालन गर्ने व्यवस्था गरेको हो। संशोधित निर्देशनअनुसार अब संयुक्त रुपमा कोष सञ्चालन नगरेर ४ वर्षका लागि पालैपालो कोष सञ्चालन गर्ने व्यवस्था गरेको हो।

यो व्यवस्थाअनुसार अब ४ वर्षका लागि हिमालयनले एक्लै सो कोष सञ्चालन तथा व्यवस्थापन गर्न पाउनेछ।

योबाहेक प्राधिकरणले बिमालेख जारी गर्दा प्राप्त बिमाशुल्क खातामा रियल टाइममा जम्मा गर्नुपर्ने व्यवस्था पनि हटाएको छ। 

संशोधित निर्देशनमा प्रत्येक महिनाको १ गतेदेखि १५ गतेसम्मको विवरण १६ गतेभित्र र १६ गतेदेखि मसान्तसम्मको विवरण अर्को महिनाको १ गते जम्मा गर्नुपर्ने व्यवस्था गरिएको हो।

यस्तै निर्देशनले खाता सञ्चालन गर्ने कम्पनीले बिमाशुल्क प्राप्त भए नभएको दैनिक रूपमा एकीन गर्नुपर्ने व्यवस्था हटाएर  एकीन मात्रै गर्ने लेखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad