कारोबार


ठेकेदार सम्पर्कविहीन भएपछि मादी नदी लिफ्ट खानेपानी योजना अधुरै

ठेकेदार सम्पर्कविहीन भएपछि मादी नदी लिफ्ट खानेपानी योजना अधुरै

नेपालखबर
बैशाख ८, २०८२ सोमबार १७:३७, तनहुँ

व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको मादी नदी लिफ्ट खानेपानी योजना अधुरै रहेको छ। निर्माणमा संलग्न व्यवसायीको लापरवाहीका कारण उक्त योजना समयमै निर्माण गर्न नसकिएको हो।

भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना निर्माण गर्न लागिएको हो। निर्माणको ठेक्का पाएको ‘पराजुली कन्स्ट्रक्सन’का सञ्चालक सतिश पराजुलीले निर्माण कार्य बाँकी छाडेर सम्पर्कविहीन भएपछि उक्त योजना सम्पन्न हुन नसकेको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए।

सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना अघि बढाइएको थियो। विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी २०७९ भदौमा उक्त योजनाबारे सम्झौता भएको व्यवस्थापक श्रेष्ठले बताए। उक्त योजनाको हालसम्म करिब ८० प्रतिशत भौतिक प्रगति रहेको छ।
    
‘तीन पटकसम्म योजना निर्माणको म्याद थप गरिसकेका छौँ’, उनले भने। व्यवस्थापक श्रेष्ठका अनुसार अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको रिर्जभ टयाङ्की निर्माण गरिएको छ। तर भदुरमा ५० हजार लिटर क्षमताको टयाङ्की निर्माण कार्य अधुरै छ। रु १९ करोडको लागतमा उक्त आयोजना निर्माण कार्य अघि बढाइएको हो।

‘निर्माणमा ढिलाइ हुँदा पानी आपूर्तिमा कठिनाइ भएको छ’, उनले भने।     व्यास–४ चुरेखोल्सीस्थित मादी नदीबाट पानी ल्याएर वडावासीलाई वितरण गर्न लागिएको हो।
 
विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भएको हो। संस्थाले हालसम्म दुई हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ।

व्यास–१३ करादी खिरखादी मुहानबाट ल्याएर पानी वितरण गरिँदै आएको छ। सो क्षेत्रमा बस्ती विस्तार हुँदै गएपछि पानी अभाव भएको हो। उक्त अभाव पूरा गर्न वैकल्पिक खानेपानीको रूपमा मादी नदी लिफ्टिङ खानेपानी योजना निर्माण अघि बढाइएको व्यवस्थापक श्रेष्ठले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad