कारोबार


कुमारीपाटी–जावलाखेल सडक महोत्सव शुक्रबारदेखि

कुमारीपाटी–जावलाखेल सडक महोत्सव शुक्रबारदेखि

नेपालखबर
चैत २१, २०८१ बिहिबार १४:५३, ललितपुर

ललितपुरको कुमारीपाटी–जावलाखेलमा शुक्रबारदेखि चैत २३ गतेसम्म सडक महोत्सव हुने भएको छ। स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्न कुमारीपाटी जावलाखेल विकास संस्था र ललितपुर महानगरपालिकाले ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा महोत्सवको आयोजना गरेको हो।

स्थानीय कला, संस्कृतिको संरक्षणका साथै पर्यटन प्रवर्द्धनका लागि नौ वर्षपछि कुमारीपाटी–जावलाखेल खण्डमा महोत्सवको आयोजना गर्न लागिएको ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काले जानकारी दिए।

‘महानगर र कुमारीपाटी जावलाखेल विकास संस्थाले संयुक्त रूपमा आयोजना गर्ने महोत्सव ललितपुरको इटीटोलबाट सुरु हुनेछ’, उनले भने, ‘महोत्सवलाई सफल पार्न ललितपुरका सबै वडासँग समन्वय गरेर तयारी थालेका छौँ, यस महोत्सवले स्थानीय उत्पादन र कला संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने विश्वास लिएका छौँ।’

महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेकाले भोलि दिउँसो १ बजे बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आथित्यतामा उद्घाटन गरिनेसडक महोत्सवका संयोजक वीरेन्द्र शाक्यले जानकारी दिए। उनका अनुसार ललितपुरको इटीटोलमा महोत्सवको मञ्च राखिनेछ। साथै रातो मच्छिन्द्रनाथको रथको पाङ्ग्रा र रातो मच्छिद्रनाथसँग सम्बन्धित अन्य मूर्ति, सालिक पनि प्रदर्शनमा राखिने उनले बताए।

शुक्रबार र शनिबार कुमारीपाटी–जावलाखेल खण्ड पूर्णरूपमा बन्द रहने जनाउँदै शाक्यले सडकको दाँयाबाँया राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका विभिन्न परिकारसहित विभिन्न जातजातिका वेषभूषा प्रर्दशनीमा राखिने उल्लेख गरे।
उनले भने, ‘सडक महोत्सवमा विभिन्न जातजाति अनुसारका संस्कृतिक कार्यक्रम हुनेछ भने बेलुकी ३ बजेदेखि साङ्गीतिक प्रस्तुतीको पनि व्यवस्था गरिएको छ।’

दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवक आयोजक समितिले जनाएको छ। महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न सुरक्षा व्यवस्थासहित जावलाखेल–कुमारीपाटी र लगनेखल क्षेत्रमा सवारीसाधन पार्किङको व्यवस्था गरिएको संयोजक शाक्यले जानकारी दिए।

पहिलो पटक विसं २०७१ मा सञ्चालन भएको महोत्सव उपलब्धिमूलक भएकाले दोस्रो पटक दुई दिनका लागि महोत्सव गर्न लागिएको आयोजक समितिले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad