कारोबार


नयाँ गभर्नरमा ‘थर्मल गन ग्याङ’ हावी, आजै नियुक्तिको सम्भावना कति?

नयाँ गभर्नरमा ‘थर्मल गन ग्याङ’ हावी, आजै नियुक्तिको सम्भावना कति?

नीलम ढुंगाना रवीन्द्र पाण्डे र राजेन्द्रकिशोर क्षेत्री


नेपालखबर
चैत १८, २०८१ सोमबार १६:५६, काठमाडौँ

अन्तत: नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि ‘थर्मल गन ग्याङ’ हावी हुने देखिएको छ।

नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने अन्तिम चरणमा रहेको सरकारले नियुक्तिको विषय सोमबारको मन्त्रिपरिषद्‍को बैठकमा नलैजाने सम्भावना देखिएको छ।

स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्तिको विषय नसमेटिने सम्भावना बढेको हो।

तर, नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारी चैत २५ गते अवकाशमा जाँदै छन्। उनको विदाइमा चैत २२ गते शुक्रबार राष्ट्र बैंकमा कार्यक्रम नै राखिएको छ।

सरकारले उनी विदाइ हुनुअगाडि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने थियो। किनकि नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नर अवकाशमा जानु एक महिनाअगाडि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्छ।

त्यसैले ऐनअनुसार ढिला भएका कारण आजको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्नुपर्ने हो। आज नभएको खण्डमा भने अर्को सोमबारसम्म नियुक्ति प्रक्रिया लम्बिनेछ।

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिम्स्टेकको छैठौँ सम्मलेनका लागि थाइल्यान्ड भ्रमणमा जाँदै छन्। उनी मंगलबार गएर शनिबार फर्किने तालिका छ।

उनको भ्रमणअगाडि नै गभर्नर नियुक्त गर्नसक्ने आकलनअनुसार भएमा आज बस्ने मन्त्रिपरिषदको बैठकले गभर्नर नियुक्त गर्नुपर्ने हो।

यद्यपि स्रोतले भने आज गभर्नरको विषय मन्त्रिपरिषदको बैठकमा जाने सम्भावना कम रहेको बताएको छ। यसैबीच, आज बस्ने बैठकले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बारेको निर्णय माइन्युट गर्ने स्रोतको भनाइ छ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार मन्त्रिपरिषद्‍द्वारा गठित गभर्नर सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा सिफारिस गर्नेछ।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले योग्यताका आधारमा आकांक्षीहरुबाट तीन जनाको नाम सिफारिस गर्नै लाग्दा आकांक्षीहरुको दौडधुप पनि बाक्लिँदै गएको थियो। 

तर, स्रोतका अनुसार गभर्नरमा पहिलो नम्बरमा डेपुटी गभर्नर नीलम ढुंगानाकै नाम रहनसक्ने सम्भावना छ। दोस्रोमा राष्ट्र बैंककै क्याडर तथा हाल सञ्चालक सदस्य रवीन्द्र पाण्डे र तेस्रोमा पूर्वमूख्यसचिव राजेन्द्र किशोर क्षेत्री रहेको स्रोतले जनाएको छ।

नीलमलाई गभर्नर बनाउन प्रधानमन्त्री स्वयं लागिपरिरहेका छन् भने पछिल्लो समय राष्ट्र बैंकका अर्का डेपुटी गभर्नर बम बहादुर मिश्र, भर्खरै राजीनमा दिएर गभर्नरको दौडमा आएका राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश कुमार श्रेष्ठ र नबिल बैंकको सीईओबाट राजीनामा दिएर गभर्नर बन्न कस्सिएका ज्ञानेन्द्र ढुंगाना पनि दाबेदारको रुपमा अगाडि आएका छन्।

स्रोतका अनुसार आजै सिफारिस समितिले मन्त्रिपरिषदमा नीलम, राजेन्द्र किशोर र पाण्डेको नाम लैजानसक्ने सम्भावना पनि छ।

यसअघि पनि नियामक निकायहरुको नियुक्तिमा हावी रहँदै आएको थर्मल गन ग्याङ भनेर चिनिने समूहका व्यक्ति नै गभर्नर नियुक्ति हुने सम्भावना बढी छ।

किनकि यो समूहले पछिल्लो समय नियामक निकायहरुमा कब्जा गर्ने र अर्थतन्त्रलाई बन्धक बनाउने कसरत गरिरहेको छ।

स्रोतका अनुसार थर्मल गन ग्याङनिकट व्यक्ति नै १८औँ गभर्नरको प्रमुख दाबेदार देखिँदा अर्थमन्त्री निरीह बनेका छन्। यसअघि पनि धितोपत्र बोर्ड तथा बिमा प्राधिकरणमा पनि थर्मल गन ग्याङ निकट व्यक्ति नै नियुक्त हुँदा पनि अर्थमन्त्री निरीह बनेका थिए।

नेप्सेमा पनि थर्मल गन ग्याङनिकट व्यक्ति नै नियुक्त गर्न दबाब परिरहेको छ।

यो पनि-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad