विश्वव्यापी महामारी कोरोनाभाइरसका कारण देश लकडाउन भइरहँदा खाद्यान्न तथा अत्यावश्यक वस्तुबारे चिन्ता बढेको छ। छिमेकी देशहरु समेत लकडाउन हुँदा आपूर्ति व्यवस्थापनको चिन्ता समेत बढेको छ। तर सरकारी गोदाममा २४ हजार ६ सय १६ मेट्रिक टन खाद्यान्न मौज्दात रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
मन्त्रालयकी उपसचिव तथा सहायक प्रवक्ता उर्मिला केसीका अनुसार सञ्चित खाद्यान्नको उक्त परिमाण देशका विभिन्न स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा रहेको गोदाममा छ। उनका अनुसार बिर्तामोडमा ६ हजार ८ सय क्विन्टल चामल र १० हजार क्विन्टल चामल मौज्दात छ। त्यस्तै, विराटनगरमा १३ सय १० क्विन्टल चामल, लहानमा ६ हजार ८ सय क्विन्टल चामल र १५ सय ५० क्विन्टल धान, जनकपुरमा १५ हजार क्विन्टल धान, वीरगञ्जमा १४ हजार ४ सय ८४ क्विन्टल चामल र १४ हजार ८ सय ९५ क्विन्टल धान रहेको छ।
त्यस्तै भैरहवामा ३५ सय क्विन्टल चामल, पोखरामा १२ सय क्विन्टल चामल, सुर्खेतमा १४ हजार क्विन्टल चामल, तुलसीपुरमा १७ सय ७९ क्विन्टल चामल, नेपालगञ्जमा २८ हजार क्विन्टल चामल र १८ हजार क्विन्टल धान मौज्दात छ।
त्यस्तै राजापुरमा ४८ हजार क्विन्टल धान, धनगढीमा २१ सय क्विन्टल चामल र २५ हजार ६ सय ३० क्विन्टल धान, महेन्द्रनगरमा ५ हजार ७ सय ५० क्विन्टल धान तथा काठमाडौंमा २३ हजार ९ सय ४५ क्विन्टल चामल मौज्दात रहेको छ। त्यसबाहेक २३ दुर्गम जिल्लामा ३५ हजार क्विन्टल चामल शनिबारसम्म मौज्दात रहेको मन्त्रालयले जनाएको छ।
३ महिनालाई धान्न सक्ने मौज्दात
उक्त मौज्दात रहेको खाद्यान्नले तीन महिनासम्म धान्न पुग्ने उद्योग मन्त्रालयले जनाएको छ। यसबाहेक खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुर्खेत र काठमाडौंबाट तिते फापर र जुम्लाको सिमी समेत बेचिरहेको छ।
मन्त्रालयका अनुसार तिते फापर सुर्खेतमा ६० क्विन्टल र काठमाडौंमा ६ सय १० क्विन्टल मौज्दात छ। त्यस्तै जुम्लाको सिमी सुर्खेतमा ६५ क्विन्टल र काठमाडौंमा ५ सय ८९ क्विन्टल मौज्दात रहेको छ।
१० महिनालाई पुग्ने नुन गोदाममा
त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनमा शनिबारसम्म चिनीको मौज्दात १ लाख ४० हजार १ सय ३३ बोरा अर्थात् ७० लाख ६ हजार ६ सय ६२ किलो रहेको छ।त्यस्तै, वेयर हाउसमा नुन १ लाख २० हजार ८ सय २२ मेट्रिक टन मौज्दात रहेको छ। उक्त नुन विभिन्न जिल्ला समेतको हो। ४५ हजार मेट्रिक टन नुन आयातको क्रममा रहेको मन्त्रालयले जनाएको छ।
आयातको क्रममा रहेको र गोदाममा रहेको समेत गरी नुनको कुल मौज्दात १ लाख ६५ हजार ८ सय २२ मेट्रिक टन रहेको छ। नुनको यो मौज्दातले करिब १० महिना धान्न सक्ने मन्त्रालयले जनाएको छ। पेट्रोलियम पदार्थको भने नियमित आपूर्ति भइरहेको र अभाव नभएको मन्त्रालयको दाबी छ।
Shares

प्रतिक्रिया