कारोबार


आईएमई ग्रुप अब प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढ्यो : चन्द्र ढकाल

आईएमई ग्रुप अब प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढ्यो : चन्द्र ढकाल

नेपालखबर
चैत १२, २०८१ मंगलबार १६:३६, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आईएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताएका छन्।

मंगलबार काठमाडौँ टेक्निकल स्कुल (केटीएस) को उद्घाटन समारोहमा अध्यक्ष ढकालले सो कुरा बताएका हुन्।

ढकालले यस काठमाडौं टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आईएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताए।

उनले सो स्कूलले थप हजारौँ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

‘नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको शुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘हामीले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएका हौँ । यसका लागि यस स्कुलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ।’

सरकारले पनि प्राविधिक स्कुल तथा तालिम केन्द्रहरुको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्ने उनले बताए।

अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौति बेरोजगारी तथा युवा शक्तिको पलायन रहेको बताउँदै अध्यक्ष ढकालले सीप विकास नै यसको समाधान रहेको स्पष्ट पारे।

‘स्वदेशमा रोजगार वा स्वरोजगार हुन नचाहेर विदेशै जान चाहे पनि यदि सीप छ भने राम्रो काम र उच्च ज्याला वा तलब पाइने अवस्था रहन्छ। अहिले देशले प्राप्त गरेको रेमिट्यान्सको परिमाणमा पनि यसले सकारात्मक प्रभाव पार्ने छ। यस्ता कुरामा हस्तक्षेप गरी युवाहरुलाई सीपले सुसज्जित गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने।

आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आईएमई ग्रूपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौँ उद्योग तथा परियोजनाहरू सञ्चालन गरिसकेको जानकारी दिँदै ढकालले आईएमई ग्रुपअन्तर्गतका कम्पनीहरुमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बताए।

काठमाडौँ टेक्निकल स्कुल (केटीएस) का अध्यक्ष मनोज पौडेलले आगामि दश वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तीमा आज उद्घाटन गरिएको यस स्कूलले सहयोग पुग्ने बताए।

उनले केटीएसले युवाहरुलाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको समेत बताए।

आईएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल  सञ्चालनमा आएको हो। टेक्निकल स्कुलको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उदघाटन गरेका हुन्।

काठमाडौँको धुम्बाराहीमा रहेको काठमाडौँ टेक्निकल स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ।

स्कुलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad