गुर्खाज फाइनान्सले दोस्रो पटक नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई राष्ट्र बैंकले खारेज गरेको छ।
सीईओमा बस्न अस्वीकार गरेका प्रकाशचन्द्र अधिकारीको नियुक्ति खारेज गर्दै फाइनान्सले नयाँ सीईओ नियुक्ति गरे पनि राष्ट्र बैंकले खारेज गरिदिएको हो।
फाइनान्सले सन्तोष घिमिरेले प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएपछि अधिकारीलाई सीईओमा नियुक्त गरेको थियो। तर त्यसविरुद्ध केही सञ्चालक र सेयरधनीहरुले छानबिनको मागसहित राष्ट्र बैंकमा उजुरी दिएका थिए। त्यसबारे केन्द्रीय बैंकले छानबिन गरिरहेकै बेला फाइनान्सले भने ज्ञानेन्द्र इवाहाङलाई सीईओ नियुक्त गरेपछि राष्ट्र बैंकले ‘एक्सन’ लिएको हो।
अहिले केन्द्रीय बैंकले सीईओ नियुक्तिसम्बन्धी सबै प्रक्रिया खारेज गरेर छानबिन गरिरहेको जनाएको छ। यसअघिका सीईओ घिमिरेले असोज २२ गते पदबाट राजीनामा दिएका थिए।
फाइनान्समा सञ्चालक र उच्चपदस्थबीच विवाद बढ्न थालेपछि घिमिरे बाहिरिएका थिए। त्योसँगै सेयरधनीहरुको समूहले अध्यक्ष गौरव बुढाथोकीसहितका सञ्चालकहरुको नाम किटान गरेर अनियमितता गरेको तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनविपरीतका काम गरेको भन्दै उजुरी दिएको थियो।
त्यसमा राष्ट्र बैंकले छानबिन गरिरहेकै समयमा फाइनान्सको सञ्चालक समितिले माघ १४ गते गणपूरक संख्या नै पूरा नगरी सीईओमा अधिकारीलाई नियुक्त गरेको थियो। कम्पनीको ५०३औँ बैठकले सीमित सञ्चालकहरुको सहमतिमा अधिकारीलाई सीईओमा नियुक्त गरेको थियो। त्यसमा अधिकारीले असन्तुष्टि जनाउँदै पदमा बस्न मानेनन्।
राष्ट्र बैंकले पुस २४ र २५ गते विशेष निरीक्षण गर्दै कम्पनीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन अक्षरशः पालना गर्न निर्देशन दिएको थियो। तर निर्देशनलाई पालना नगरी कम्पनीको पुस २९ गते बसेको साधारणसभाबाट गणपूरक संख्या नपुगी नियुक्तिलाई अगाडि बढाएपछि सेयरधनीहरु अध्यक्ष बुढाथोकीसहितका सञ्चालकविरुद्ध उत्रिएका थिए।
नियुक्ति विवादमा तानिएपछि अधिकारीले चैत ६ गते गणपूरक संख्या नपुर्याई नियुक्ति दिएकोले पद अस्वीकार गरेर राजीनामा दिएका थिए। त्यसपछि चैत ६ गते बसेको बैठकले नियुक्ति खारेज गरेको थियो।
अधिकारीको नियुक्ति खारेज भएको ४ दिनपछि सञ्चालक समितिले सीईओमा ज्ञानेन्द्र इवाहाङलाई नियुक्त गरेको थियो। कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले इवाहाङलाई सोमबार (११ चैत) बाट लागू हुने गरी ४ वर्षका लागि सीईओ नियुक्त गरेको थियो।
यता अधिकारीको नियुक्तिमाथि नै छानबिन गरेको राष्ट्र बैंकले आफूले दिएको निर्देशन बेवास्ता गर्दै भएको इवाहाङको नियुक्ति खारेज गर्न सोमबार ठाडो निर्देशन दिएको हो।
लामो समयदेखि वित्तीय अवस्था खराब बन्दै गएको फाइनान्समा उच्च व्यवस्थापन तहमा विवाद बढ्दै गएको थियो। ऐनविपरीत गएर निकट व्यक्तिहरुलाई नियुक्त गर्नेदेखि अनियमितता गरेर संस्थालाई धराशायी पार्नेसम्मका आरोप अध्यक्षसहितका सञ्चालकहरुमा लाग्दै आएको थियो।
विवादमा फस्दै गएको फाइनान्सको वित्तीय अवस्था पनि समस्याउन्मुख देखिएको छ। असोज मसान्तसम्म कम्पनीको खराब कर्जा ४१ प्रतिशत माथि पुगेपछि राष्ट्र बैंकले निगरानी बढाएको थियो।
राष्ट्र बैंकले फाइनान्सको गतिविधिमा निगरानी गरिरहेकै अवस्थामा अपारदर्शी रुपमा नियुक्ति प्रक्रिया अगाडि बढाइएको थियो।
राष्ट्र बैंकका वित्तीय संस्था सुपरिवेक्षण विभागीय प्रमुख सत्येन्द्र तिमिल्सिनाले फाइनान्सको सीईओ नियुक्तिमा पारदर्शिता नभएकोले सञ्चालक समितिले गरेको दोस्रो पटकको नियुक्ति पनि खारेज गरेको बताए।
उनले भने, ‘पारदर्शितामा कैफियत देखिएपछि निर्देशन दिँदै तत्काल खारेज गर्न भनेका हौँ।’
यो वर्ष मात्रै कम्पनीमा चार जना सञ्चालकले कम्पनी छोडिसकेका छन् भने २ जनालाई सञ्चालकमा नियुक्त गरिएको छ। असारयता कम्पनीमा पुराना सञ्चालक धमाधम बाहिरिँदै आएका छन्।
हाल कम्पनीमा अध्यक्षमा गौरव बुढाथोकी छन् भने सञ्चालकहरुमा कल्पना गुरुङ, युवराज राई, नरेन्द्र अग्रवाल र निलम बोहोरा छन्।
यो पनि-
Shares

प्रतिक्रिया