प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशका रिजन ढकाल र सूर्य तामाङ चम्किँदा कर्णाली प्रदेश निरीह बनेको छ। कर्णालीलाई बागमतीले ५८ रनमा अलआउट गर्दा रिजनले ५ र सूर्यले ४ विकेट लिए। एक विकेट रनआउट गर्यो।
५० ओभरको खेलमा कर्णाली २० औँ ओभरको पहिलो बलमै अलआउट हुँदा बागमतीले ५९ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य बागमतीले मात्रै एक विकेट गुमाएर सातौँ ओभरमा पूरा गर्यो।
बागमतीको जितमा आशुतोष घिरैया १९ र शुभ कंसकार १६ रनमा नटआउट रहे। इशान पाण्डे ११ बलमा २२ रनको योगदान गरेर आउट भए। कर्णालीका लागि दिपेन्द्र रावतले ३ ओभरमा २९ रन खर्चिएर एक विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको कर्णालीका लागि सुनिल धमलाले २७ बलमा १५ रन बनाउनु बाहेक अन्य १० ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। रविन्द्र शाही ८, बिपिन शाही २, राज शाह २, दीपेन्द्र रावत ३ र अर्जुन घर्ती ५ रनमा आउट भए। दिनेश राउतले ५, दिनेश अधिकारी र प्रकाश जोशीले समान ४ रन बनाए।
बिपिन रावल शून्य रनमा आउट हुँदा कप्तान दिवन पुन शून्य बलमै नटआउट रहे।
रिजनले ८.१ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिँदा ७ ओभरमा १७ रन खर्चिएका सूर्यले ४ विकेट लिएका हुन्। रिजन प्लेयर अफ द म्याच घोषित भए। जितसँगै ८ खेलमा ८ अंक जोडेको बागमती चौथो स्थानमा उक्लिएको छ। समान ८ अंक नै जोडेको कर्णाली पाँचौ स्थानमा छ।
शीर्ष तीनमा विभागीय टोली हाबी छन्। अपराजित नेपाल पुलिस क्लब ७ खेलमा १४ अंकसहित शीर्षस्थानमा र ८ खेलमा समान अंक बनाएको आर्मी क्ल्ब दोस्रो तथा ८ खेलमा १२ अंक जोडेको एपीएफ तेस्रो स्थानमा छन्।
Shares

प्रतिक्रिया