नेपाल विद्युत् प्राधिकरणले १४ घण्टा लोडसेडिङ गर्दा बजारमा महंगी बढेको उद्योगीले दाबी गरेका छन्।
नेपाल सिमेन्ट उद्योग संघ, स्टिल्स उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेका हुन्।
स्टिल्स उत्पादक संघका अध्यक्ष शोभाकर न्यौपानेले १४ घण्टाको लोडसेडिङ व्यहोरेको बताए।
‘विद्युत् प्राधिकरणले दैनिक ८ देखि १० घण्टा लोडसेडिङ गरिरहेको छ’, न्यौपानेले भने, ‘घोषित रुपमा १२ घण्टा र अघोषित रुपमा २ घण्टा गरी १४ घण्टा लोडसेडिङ भइरहेको छ।’
न्यौपानेले विद्युत् प्राधिकरणले बक्यौता नतिरेका उद्योगको मात्रै लाइन काटिएको भनेर भ्रम फैलाएको बताए। सबै ठूला उद्योगको लाइन काटिएको उनको भनाइ छ।
नेपालमा डन्डीको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजार, नेपालमा उद्योगको लोडसेडिङ, डलरको उच्च मूल्यलगायतका कारण लागत बढेको उनको दाबी छ।
उद्योगीको प्रतिकिलो १७ रुपैयाँ ३३ पैसा लागत बढेको र लोडसेडिङबाट मात्रै ९ रुपैयाँ बढी खर्च वृद्धि भएको उनको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले हिउँदमा २४ घण्टामा १२ घण्टा उद्योग बन्द गर्न नसक्ने बताए। बर्खामा निर्माण काम नै हुँदैन हिउँदा निर्माण हुने समयमा लोडसेडिङ गर्दा उत्पादन नै गर्न नसकेको उनले बताए।
त्यस्तै, डेडिकेटेड र ट्रंकलाइनको बक्यौता २४ सै घण्टा चलाएको प्रमाण दिए रकम तिर्न तयार रहेको पनि उनले बताए।
‘विद्युत् प्राधिकरणले उद्योगीलाई विद्युत् प्रयोग गरेको प्रमाण दिनेबित्तिकै हामी बक्यौता तिर्न तयार छौँ’, मुरारकाले भने, ‘(उक्त प्रमाण) अदालत, लेखा समिति कसैलाई दिनुपर्दैन।’
Shares

प्रतिक्रिया