कारोबार


उन्नति कल्चरल भिलेजमा थारु सांस्कृतिक प्रदर्शनी (तस्बिरहरू)

उन्नति कल्चरल भिलेजमा थारु सांस्कृतिक प्रदर्शनी (तस्बिरहरू)

नेपालखबर
चैत ७, २०८१ बिहिबार १६:३६, काठमाडौँ

उन्नति कल्चरल भिलेज बर्दघाट-७ वेलहानीमा बिहीबार थारु सांस्कृतिक प्रदर्शनी आयोजना गरिएको छ।

पश्चिम नवलपरासीका थारु समुदायको विशेष सहभागितामा प्रदर्शनी आयोजना गरिएको हो। 

थारु समुदायको बाहुल्य रहेको पश्चिम नवलपरासीमा उक्त सांस्कृतिक प्रदर्शनीले छुट्टै अर्थ राखेको कार्यक्रमका मूल आयोजक समितिका अध्यक्ष राधेश्याम चौधरीले बताए। 

उनका अनुसार थारु समुदायको समृद्ध संस्कृति, परम्परा, भेषभूषा, नृत्य, हस्तकला तथा खानपानको विविधता झल्काउने यस कार्यक्रम उन्नति कल्चरल भिलेजले आयोजना गरेको हो।

चौधरीले थारु संस्कृतिलाई जीवन्त राख्न र जगेर्ना गर्न यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताए। 

त्यस्तै,  नेपाल थारु संघका तर्फबाट सहआयोजक सुर्यमन चौधरीले थारु समुदायको संस्कृति तथा परम्पराको व्यापक प्रचार हुन जरुरी रहेको उल्लेख गर्दै यस्ता कार्यक्रम देशभरि हुनुपर्नेमा जोड दिए। 

कार्यक्रममा झुमरा, हुरीजस्ता परम्परागत नृत्यहरूले माहोल उल्लासमय बनाएको थियो भने ढिक्री, सिद्रा माछा, घोंगी लगायतका मौलिक परिकारहरूले विशेष आकर्षण थपेको थियो। हस्तकला तथा थारु परम्परागत लुगा र गहना प्रदर्शनीले सहभागीहरूलाई थारु जीवनशैली झल्काएको थियो। 

थारु समुदायको सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनका लागि यस क्षेत्रका सांसद विनोद चौधरीको विशेष पहलमा यो कार्यक्रम सम्पन्न भएको थियो। 

उनले भने, ‘थारु संस्कृति हाम्रो साझा सम्पदा हो। यसको प्रवर्द्धनले नवलपरासीको पर्यटन र अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउनेछ।’

स्थानीय स्तरका विभिन्न संस्कृति प्रेमीहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्य बनाएको थियो। आयोजक टोलीले आगामी दिनमा अझ बृहत् रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad