कारोबार


तरकारी आपूर्ति न्यून तर नियमित, आज २ सय २५ टन भित्रियो

तरकारी आपूर्ति न्यून तर नियमित, आज २ सय २५ टन भित्रियो

सन्तोष न्यौपाने
चैत १३, २०७६ बिहिबार ९:५,

सरकारले मुलुकभर लकडाउन गरेपछि खाद्यान्न, तरकारी तथा फलफूलको वितरण न्यून भए पनि नियमित भइरहेको छ।

काठमाडौंमा रहेको कालीमाटी फलफूल तथा तरकारी बजारमा न्यूनरुपम तर नियमित रुपमा तरकारी आइरहेको छ भने उपत्यकाको खाद्यान्न वितरण पनि नियमित भइरहेको छ।

कालीमाटी बजारका उपनिर्देशक विनय श्रेष्ठले तरकारी आपूर्ति न्यून रुपमा भए पनि आइरहेको जानकारी दिए।

खुद्रा व्यवसायी महासंघका पूर्वअध्यक्ष पवित्रमान बज्राचार्यले खाद्यान्न सप्लाई पनि नियमित भएको तर सुरक्षित कसरी रहने भन्ने समस्या भएको बताए।

श्रेष्ठका अनुसार कालीमाटी तरकारी बजार बिहानको समयमा खुल्ने गरेको छ। बुधबार र बिहीबार बिहान ८ बजेसम्म मात्र कालीमाटी तरकारी बजार खुला भएको थियो। प्रशासनले खुल्ने समय तोकेको छैन।

उनका अनुसार तरकारी आउने क्रम रोकिएको छैन तर न्यून भने भएको छ। लकडाउन भएको दोस्रो दिनसम्म तरकारी अपूर्ति झण्डै ७० प्रतिशतले घटेको छ।

‘केही परिमाणमा सामान आइरहेको छ,’ श्रेष्ठले भने, ‘आज २ सय २५ टन तरकारी आएको छ।’ त्यस्तै, हिजो बुधबार ३ सय ७० टन तरकारी आएको थियो।

कालीमाटीमा आइरहेको सामानमध्ये अधिकांश तरकारी भएको र केही मात्रामा फलफूल भएको उनले बताए। सामान्य अवस्थामा कालीमाटी बजारमा ८ सयदेखि साढे ८ सय टन तरकारी आउने गरेको उनले बताए।

पछिल्ला दुई दिनमा काठमाडौंवरिपरिका केही जिल्लाबाट तरकारी आइरहेको छ। त्यसबाहेक भारतबाट पनि आलु, प्याजजस्ता तरकारी आएको उनले बताए।

सबै क्षेत्र प्रभावित भएको बेला तरकारी आपूर्तिमा गाह्रो भएको छ। तरकारी आउने दिए पनि त्यो गाडी फर्केर जाँदा समस्या भइरहेको उनले बताए।

‘सरकारले तरकारी आउन दिने भनेको छ,’ श्रेष्ठले भने, ‘त्यो गाडी फर्केर जाँदा ड्राइभरले समस्या भोगेको आइरहेको छ।’

कालीमाटी बजारमा तरकारी किन्नेको भीडभाड हुने भएकाले खुला राख्न पनि समस्या देखिएको छ। तरकारी बिक्रेतालाई पनि सुरक्षाको महसुस नभएकाले कारोबार कम हुँदै गएको श्रेष्ठले बताए।

‘खुलै राख्न पनि समस्या भयो। व्यापार गर्ने र ग्राहकलाई पनि सुरक्षा छैन,’ श्रेष्ठले भने, ‘मान्छेको आवतजावत धेरै गर्न नहुने भएकाले कारोबार कम भएको छ।’

व्यापार गर्न आउने, किन्न आउनेलाई पनि समस्या छ। सहज रुपमा आउँदैनन्।

सरकारले तरकारी तथा खाद्यान्न वितरण गरिराख्ने भएकाले अबका दिनमा समस्या धेरै नहुनेमा उनको विश्वास छ।

तरकारी बिक्री वितरणसँगै सुरक्षाको उपाय पनि अपनाउनुपर्ने भएकाले सचेत रहन माइकिङ गरिरहको उनले बताए। त्यस्तै, त्यस क्षेत्रमा महानगरपालिकाले बुधबार भाइरस मुक्त बनाउन स्प्रे पनि गरेको थियो।

खाद्यान्न सहज
खुद्रा व्यवसायी महासंघका पूर्वअध्यक्ष बज्राचार्यले उपभोक्तालाई सहज रुपमा आपूर्ति गर्ने कार्य भइरहेको बताए।

‘हामीले उपभोक्तालाई सामान आपूर्ति कम नहोस् भनेर लागिरहेका छौं,’ बज्रचार्यले भने, ‘अहिलेको अवस्थामा व्यापारी र उपभोक्ता दुवै सुरक्षित रहन आवश्यक छ।’

उपभोक्तालाई चाहिएको सामान दिने तर अन्य अवस्थामा पसल बन्द गर्नुपर्ने उनले बताए। स्थानीय जनप्रनिधिसहितको समूहसँग सामान आपूर्ति कसरी गर्ने भन्ने विषयमा कुराकानी भइरहेको उनले बताए।

सरकारले औपचारिक रुपमा खाद्यान्न पसल खोल्ने समय नतोकेको उनले बताए।

सरकारले सामान दिने भनेको तर होलसेल वा गोदामबाट पसलसम्म सामान पु¥याउन असहज भएको उनले बताए। एक ठाउँमा बस्ने र अर्को ठाउँमा पसल भएकालाई आवतजावतमा गाह्रो भएको छ।

‘म ओमबहाल बस्छु, तर मेरो पसल स्वयम्भूमा छ,’ बज्रचार्यले भने, ‘मलाई आवतजावत गर्न गाह्रो छ।’ त्यस्तै, सामान सप्लाई गर्ने ड्राइभरले पनि यस्तै समस्या भोगिरहेको उनले बताए।

पसल खोलेर मात्र नहुने दुवै पक्ष पनि कसरी सुरक्षित रहने भन्ने विषयमा पनि सोच्नुपर्ने उनले बताए। ‘व्यापारीले ग्राहकलाई र ग्राहकले व्यापारीलाई संक्रमण सार्न सक्छ,’ बज्रचार्यले भने, ‘कसरी सतर्क रहने भन्ने महत्वपूर्ण कुरा छ।’

सरकारको काम सकारात्मक : आयोग
यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को संक्रमणको विषम अवस्थामा नेपाल सरकारले नियन्त्रण तथार दैनिक उपभोग्य वस्तु आपूर्तिमा चालेको कदमलाई सकारात्मक रुपमा लिएको छ।

नेपालको संविधानमा स्वास्थ्यको अधिकारलाई मौलिक हकको रुपमा उल्लेख गरिएको सन्दर्भमा वर्तमान जटिल परिस्थितिमा नागरिकको स्वास्थ्यप्रति जिम्मेवार हुन सरकारको प्रमुख दायित्व रहेको आयोगले उल्लेख गरेको छ।

‘लकडाउन’को अवस्थामा घरमै रहेका अपांग बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्नहरुको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिन तथा उपचार कार्यमा अहोरात्र खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षकर्मी, कर्मचारी तथा तिनका परिवारहरुको लागि आवश्यक स्वास्थ्य सुरक्षा सुनिश्चित हुने गरी विशेष व्यवस्था गर्न समेत आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad