मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोअक्सिक्लोरोक्विन नामक औषधि कोरोना भाइरसविरुद्ध प्रभावकारी नहुने नयाँ चिनियाँ अध्ययनले पत्ता लगाएको छ।
गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो औषधि कोरोनाविरुद्ध गेम चेन्जर साबित हुने वक्तव्य दिएपछि त्यसको माग ह्वात्तै बढेको थियो।
झेजियाङ युनिभर्सिटीको जर्नलमा प्रकाशित रिपोर्टअनुसार चीनमा यो औषधि लिने संक्रमितहरु नलिनेको तुलनामा निको हुने सम्भावना बढी छ कि छैन भनेर अध्ययन गरिएको थियो। तर, अध्ययनबाट सो औषधिले संक्रमितलाई निको हुन सहयोग गरेको कुनै प्रमाण फेला नपरेको रिपोर्टमा जनाइएको छ।
यद्यपि यो अध्ययन ३० जना बिरामीको सानो समूहमा मात्र गरिएको थियो।
यसअघि फ्रान्समा ४० जनामा गरिएको अध्ययनले सो औषधि एन्टिबायोटिक्ससँग मिसाएर दिँदा संक्रमण घटेको देखिएको थियो।
अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले यो औषधि प्रयोगका लागि अनुमति दिइसकेको छैन। तर, न्युयोर्कमा परीक्षणका लागि पनि अनुमति प्रदान गरेको छ।
यो औषधिको गलत प्रयोगले अमेरिकामा एक जनाको ज्यान गइसकेको छ भने नाइजेरियामा दुई जना अस्पताल भर्ना हुनुपरेको छ। त्यसैले नेभाडा राज्यका गभर्नर स्टिभ सिसोलकले कोरोना संक्रमितमा हाइड्रोअक्सिक्लोरोक्विन र क्लोरोक्विन औषधि प्रयोग गर्न प्रतिबन्ध समेत लगाएका छन्।
कोरोनाविरुद्ध यी औषधिले काम गर्छ कि गर्दैन भन्नेमा विज्ञ तथा चिकित्सकहरुकै मत बाझिएको छ। एजेन्सी
Shares

प्रतिक्रिया