नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की)ले आइतबार प्रभाकर शमशेर जबराको स्मृतिमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।
अर्थतन्त्र र राष्ट्रका लागि स्वर्गीय राणाको विरासत र योगदानको सम्मानस्वरुप निक्कीले नेतृत्व, दृष्टिकोण र विरासतबारे अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो।
निक्कीका अध्यक्ष सुनिल केसीले स्वर्गीय राणाले राष्ट्र र अर्थतन्त्रका लागि गरेको योगदानको कदरस्वरुप कार्यक्रम गरेको जानकारी दिए।
स्वर्गीय राणा निक्कीका संस्थापक अध्यक्ष समेत हुन्। उनले निक्कीको मात्र स्थापना नगरी अरु धेरै व्यवसाय र सामाजिक संस्थाहरु होटल संघ नेपाल (हान), स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान), पाटा नेपाल च्याप्टर र नेपाल हेरिटेज सोसाइटीको समेत संस्थापना गरेका थिए।
‘निक्की राणालाई एक भिजन भएका नेता, उद्यमीको रुपमा सम्झिन पाउँदा गौरवान्वित छ’, अध्यक्ष केसीले भने, ‘नेपालको सबैखाले व्यवसाय, आतिथ्य क्षेत्र, उद्योगहरु र जलविद्युतका क्षेत्रमा उहाँको योगदान छ।’
कार्यक्रममा उद्योगमन्त्री दामोदर भण्डारी, ऊर्जामन्त्री दीपक खड्कालगायत अतिथि थिए। त्यस्तै निक्कीले भारतीय सरकारका प्रमुख आर्थिक सल्लाहकार डा. कृष्णमूर्ति वेंकटा सुब्रह्मण्यमलाई मुख्य वक्ताका रुपमा निम्त्याइएको थियो।
सो कार्यक्रममा प्रभाकरका पुत्र सिद्धार्थ जबराले पनि पिताको स्मरण गरेका थिए। यही कार्यक्रममा निक्कीले नेपालमा भारतीय कम्पनीका लागि बिजनेस क्लाइमेट सर्भे नामक पुस्तक समेत विमोचन गरेको छ।
Shares

प्रतिक्रिया