राजनीति


प्रधानमन्त्रीले पूर्वराजालाई सोधे : मलाई साथ देऊ भन्नुहुन्छ, केमा साथ माग्नुभएको हो?

प्रधानमन्त्रीले पूर्वराजालाई सोधे : मलाई साथ देऊ भन्नुहुन्छ, केमा साथ माग्नुभएको हो?

सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली।


नेपालखबर
फागुन २५, २०८१ आइतबार १८:४१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिलाई लिएर प्रश्न सोधेका छन्।  फागुन ५ गते शाहले गरेको सम्बोधन सुनेर आफू छक्क परेको भन्दै ओलीले सोधे-  'फागुन ६ गते नै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ। कानुनको पनि कुरा गर्नुहुन्न, लोकतन्त्र, प्रणाली प्रक्रियाको कुरा गर्नुहुन्न त। मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु भन्नुहुन्छ। देश के भएको छ?'

सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले पूर्वराजाको क्रियाकलापले देश अप्ठ्यारोमा पर्न लागेको बताए। देशलाई फेरि पछाडि फर्काउने प्रयास भएको भन्दै ओलीले आपत्ति पनि जनाए। 
 
ओलीले भने, 'उहाँहरूको अस्थिरताका क्रियाकलापहरूले उहाँद्वारा प्रेरित क्रियाकलापले देश अफ्ठ्यारोमा पर्दै छ। म उहाँलाई सुझाव दिन चाहन्छु– पूर्वराजाको हैसियतले, पुस्तौनी सत्ता चलाएको हैसियतले देशलाई सभ्य, सुसंस्कृत ढंगले लोकतान्त्रिक बाटोमा, लोकतान्त्रिक विधिबाट संविधान र कानुनअनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनुपर्ने ठाउँमा के चुनावमा साथ मागेको कि भोट मागेको कि के मागेको ?'

राजनीतिमा आउने भए आफूहरू शाहलाई स्वागत गर्न तयार रहेको ओलीको भनाइ छ। तर आफूलाई साथ देऊ, आउँछु भनेर के कुरालाई इंगित गरेको भन्ने आफूले नबुझेको ओलीको भनाइ छ। 

'मलाई साथ देऊ, आउँछु ! कहाँ आउने उहाँ, पोलिटिक्समा आउनुस् न हामी स्वागत गर्छौैं,' ओलीले भने, 'अराजनीतिमा आउने कि राजनीतिमा? केमा साथ माग्नुभएको हो बुझिएन। अहिले बुझिएन मात्रै भनौँ।'

आज आइतबारमात्रै पूर्वराजा शाह एक महिने पोखरा बसाइ सकेर काठमाडौँ फर्किएका छन्। काठमाडौँमा उनको स्वागतका लागि राजावादीहरूको बाक्लो उपस्थिति थियो। राजा फर्किने र स्वागतमा ठूलो भिड जम्मा हुने भएपछि यहाँको सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad