भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारसँग नेपालमा कति सवारीसाधन छन् भन्ने यकिन तथ्यांक नरहेको बताएका छन्।
मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात संवद्ध मन्त्री र सचिवसहितको विषयगत समितिको बैठकमा बोल्दै दाहालले नेपालसँग कति सवारीसाधन छन् भन्ने यकिन तथ्यांक नहुँदा अन्तर्राष्ट्रिय सम्मेलनमा समेत अनुमानित तथ्यांक दिनुपरिरहेको बताएका हुन्।
उनले अनुमानित ५०/६० लाख सवारीसाधनहरु रहेको बताए। वैशाखसम्ममा नेपालभर रहेका सवारीसाधनहरुको यकिन तथ्यांक संकलन गरिने उनको भनाइ छ।
‘अहिलेसम्म हामीसँग कति भेहिकल छन् भन्नेकुरा एउटा राज्यसँग यकिन तथ्यांक छैन। कति छन् भन्नेकुरा थाहा छैन भनेर भनिरहनुपर्ने कुरा त्यत्ति शोभनिय कुरा होइन। तर भनिरहेका छौँ,' उनले भने, 'कसैले ६० लाख भन्छन्, कसैले ५० लाख छन् भन्छन्। यो वैशाखसम्ममा जसरी पनि यकिन तथ्यांक ल्याउनुपर्छ। अब हामी अन्तर्राष्ट्रिय गोष्ठीमा जानुपर्ने छ। तर त्यहाँ पनि हामीले यस्तै यस्तै डाटा भन्छौँ। कहिले ५० लाख, कहिले ६० लाख भन्ने चाहीँ गरेका छौँ। त्यसमध्येको ८० प्रतिशत मोटरसाइकल भनेका छौँ।’
मन्त्री दाहालले कुल सवारीसाधनमध्ये ८० प्रतिशत मोटरसाइकल रहेको दाबी गरे।
Shares

प्रतिक्रिया