नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागका प्रमुख मोतिलाल दुगडसहितको टिमले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरेको छ।
अहिलेको समसामयिक विषयलाई केन्द्रित गरेर मन्त्रालयमा शिष्टाचार भेट गरेको हो।
भेटमा नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले सरकारको संस्थानको रुपमा रहेका उत्पादनमूलक उद्योगहरु सञ्चालनको मोडालिटी तय गर्न आग्रह गरेको छ।
धेरै राम्रा उद्योगहरु रहे पनि तिनीहरुले प्रतिफल दिन नसकेको भन्दै सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालनको तयारी गर्न समेत सुझाव दिएको हो।
विभाग प्रमुख मोतिलाल दुगडले बुटवल धागो उद्योग, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, जडीबुटी कम्पनी, नेपाल औषधि लिमिटेडजस्ता देशको मुहार नै फेर्नसक्ने सम्भावना रहेका संस्थानहरु भए पनि प्रतिफल दिन नसकेको बताए।
उनले यस उद्योगहरुमा रहेका सम्पत्ति सरकारको नाममा सेयर कायम हुने गरी निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी दिनुपर्ने सुझाव दिए।
त्यस्तै सरकारले अध्यादेशमार्फत ऐनहरु संशोधन गरेको विषयमा विभाग प्रमुख मोतिलाल दुगडले प्रशंसा गरे।
उनले भने, ‘निजी क्षेत्रले राखेको माग र अर्थतन्त्रसँग जोडिएको समस्या हल गर्ने गरी संशोधन भएको छ। त्यसको हामी स्वागत गर्दछौँ। साथै निजी क्षेत्रको भावना बुझेर अध्यादेश आएकोमा सरकारलाई धन्यवाद समेत दिन चाहन्छौँ।’
निजी क्षेत्रको तालुकदार मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नै रहेकोले सबै किसिमको समस्या समाधान गर्न र समाधानको विषयमा छलफल गर्न यहीँ आउने समेत उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओली, उद्योगमन्त्री दामोदर भण्डारीलगायत अहिलेको सरकारले देशलाई नै गति दिने गरी काम गरेकोमा उनले खुसी व्यक्त गरे।
भेटमा मन्त्री भण्डारीले अब बजेट बनाउने काम सुरु हुनलागेको भन्दै निजी क्षेत्रले चाहेको कुरा बुझेर अघि बढ्ने बताए।
मन्त्रालय सुधार कार्यक्रममा लामो छलफल समेत हुँदा निजी क्षेत्र किन नआएको भनेर उनले प्रश्न समेत गरे।
बजेटमा सधैँ निजी क्षेत्रले राम्रो छ भनेर स्वागत गर्ने तर पछि कार्यान्वयनको क्रममा विरोध गर्ने गरेको भन्दै उनले यसलाई नराम्रो परम्पराको संज्ञा दिए।
आगामी बजेटको क्रममा अर्थ मन्त्रालयलाई दिने कर लगायतको परामर्शको तयारीको लागि एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागलाई सुझाव पत्र नै ल्याउन समेत आग्रह गरे।
अहिलेको सरकारले धेरै राम्रो काम गरेको भन्दै उनले औद्योगिक क्षेत्रहरुको समस्या हल गरेको र त्यसलाई निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्न समेत भनिसकेको जानकारी दिए।
भेटमा उद्योगी व्यवसायी किशोर प्रधान लगायतले आफ्नो भनाइ राखेका थिए। प्रधानले पछिल्लो समय उद्योगी व्यवसायीहरु टिक्न नै नसक्ने अवस्थामा रहेको कारण पुँजी पलायनको काम भइरहेको समेत अवगत गराए। व्यावसायिक वातावरण बिग्रिँदै गएको कारण सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो।
सो क्रममा पूर्वमन्त्री समेत रहेका नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुख दुगडले उद्योगहरुको कच्चा पदार्थदेखि तयारी वस्तुहरुमा समेत रहेको कर व्यवस्था सुधार गर्न आग्रह गरे। त्यस्तै उद्योग मन्त्रालयहरुका निकायहरुमा मन्त्री आफैँले ‘मोनिटरिङ’ गर्नुपर्ने बताएका थिए।
यसमा मन्त्री भण्डारीले पछिल्लो समय कुनै पनि निकायमा फाइल एक टेबलमा ७ दिनभन्दा बढी राखेमा कारबाही हुने व्यवस्था गरिसकेको जानकारी दिए।
आजको छलफलमा मन्त्री भण्डारीहितको टिम र उद्योगी व्यवसायीहरु बसेर समस्या समाधानको लागि अन्तरक्रिया कार्यक्रम गर्ने , एक आफसमा समय समयमा छलफल गर्ने सहमति भएको छ।
सो क्रममा मन्त्री भण्डारीले जायज समस्या समाधानको लागि आफू सधैँ समय दिने र जुनसुकै ठाउँमा समेत जाने वाचा गरेका थिए।
Shares

प्रतिक्रिया