कारोबार


मन्त्रालयको आलोचना बढेपछि भौतिकमन्त्री दाहालले सार्वजनिक गरे २०० दिनको प्रगति

मन्त्रालयको आलोचना बढेपछि भौतिकमन्त्री दाहालले सार्वजनिक गरे २०० दिनको प्रगति

भौतिकमन्त्री दाहाल (फाइल तस्बिर)


नेपालखबर
फागुन २, २०८१ शुक्रबार १८:४०, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफ्नो २०० दिनको आफ्नो प्रगति सार्वजनिक गरेका छन्।

मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले २८.१५ प्रतिशत खर्च गरेको बताएका हुन्। 

भौतिक पूर्वाधारका योजनाहरु समयमै नसकेको, काममा तीव्रता नदिएकोजस्ता आरोपसहित मन्त्रालयको सार्वजनिक आलोचना बढिरहँदा मन्त्री दाहालले आफ्नो दुई सयदिने प्रगतिविवरण सार्वजनिक गरेका हुन्।  

चालू आर्थिक वर्षमा मन्त्रालयको १ खर्ब ५० अर्ब कुल बजेटमध्ये माघ मसान्तसम्म २८.१५ प्रतिशत खर्च भएको उनको भनाइ छ। 

मन्त्रालयले ७ महिनामा कुल कालोपत्रेस्तरको नयाँ सडक २ लेनको २४६ कि.मि र २ लेनमाथिको सडक ३०.५८ किमि सम्पन्न भएको उल्लेख गरेको छ। 

ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण गर्ने कार्य माघ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेकोमा ८२ प्रतिशत कार्य सम्पन्न भएको, फिल्डमा देखिएका केही प्राविधिक विषयहरुलाई सम्बोधन गरी २०८१ चैत मसान्तभित्र कार्यसम्पन्न गर्ने गरी काम भइरहेको मन्त्री दाहालको दाबी छ। 

त्यसैगरी सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ खन्ने कार्य सम्पन्न भएको पनि मन्त्री दाहालले उल्लेख गरेका छन्।

सबै जिल्ला सदरमुकाम बाह्रै महिना राष्ट्रिय सडक सञ्जालसँग जोड्ने गरी यातायातको पहुँच विस्तार गर्ने सरकारको योजनाअनुसार सदरमुकाम जोड्न बाँकी हुम्लाको सिमिकोट जोड्न खार्पुनाथको चुवा खोलामा बेलीब्रिज जडान गर्न नेपाली सेनालाई जिम्मा दिई कार्य अगाडि बढाइएको प्रगतिविवरणमा उल्लेख छ। 

यसबाहेक राष्ट्रिय गौरवका पुष्पलाल राजमार्ग, हुलाकी राजमार्ग  र कालिगण्डकी कोरिडोरको विभिन्न खण्डहरूमा ५६ कि.मि सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ७८.५ कि.मि. सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको मन्त्रालयले दाबी गरेको छ।

माघ मसान्तसम्ममा ४१ वटा पुल निर्माण कार्य सम्पन्न भएको, पूर्व-पश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्ड लामो समयदेखि निर्माण कार्य अवरुद्ध भइरहेकोमा विभिन्न तह र चरणमा भएको छलफलपछि हाल निर्माण कार्यले तीव्रता लिएको समेत उल्लेख गरिएको छ।  

बुटवल चन्द्रौटा सडकको ६९ किमिमध्ये बुटवल गोरसिंङ्गे खण्डको ५० किमि सडक चौडा गर्न ठेक्का सम्पन्न भई निर्माणकार्य सुरु भएको विवरणमा जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad