अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीमाथि छानबिन अघि बढाएको छ।
उनीमाथि बैंकमार्फत प्रवाह हुने कर्जामा कमिसन लिएको आरोपमा छानबिन भइरहेको अख्तियार स्रोतले बताएको छ।
उनीविरुद्ध उजुरी परेपछि छानबिन अघि बढाएको अख्तियार स्रोतको भनाइ छ।
अहिलेसम्म प्राप्त विवरणअनुसार, अधिकारीले आफ्ना सवारी चालकमार्फत ऋणीहरूबाट कमिसन लिने गरेका थिए। उनका सवारी चालक उमेश महर्जनको खातामा एकैपटक २५ देखि ३० लाख रुपैयाँसम्मको कारोबार गरेको भेटिएको छ।
‘हामीले विस्तृत अनुसन्धान गरिरहेका छौँ,’ अख्तियार स्रोतले भन्यो, ‘उजुरीको व्यहोरा, प्रारम्भिक बयान र प्राप्त तथ्य–प्रमाणबीच तालमेल देखिँदै गएको छ।’
अख्तियारले सुरुमा चालक महर्जनसँग बयान लिएको थियो। त्यसपछि अध्यक्ष अधिकारीलाई अख्तियारले बोलाएको थियो। उनी तीन दिनदेखि अख्तियारमा बयान दिइरहेका छन्।
यता नेपाल बैंकको धर्मपथस्थित केन्द्रीय कार्यालयमा रहेको उनको कार्यकक्ष पनि अख्तियारले ‘सिल’ गरेको छ।
यसबारे बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक पाण्डेसँग जिज्ञासा राख्दा खासै खुल्न चाहेनन्। उनले संक्षिप्तमा भने, ‘इक्वाइरी (सोधपुछ) भइरहेको भन्ने थियो। अरू जानकारी भएन।’
अध्यक्ष अधिकारीले ठूला कर्जा प्रवाह गर्दा समयमा निर्णय नगर्ने, फाइल अनावश्यक अड्काइदिने, कमिसनका लागि बार्गेनिङ गर्ने गरिरहेको भन्दै अख्तियारमा उजुरी परेका थिए। उजुरी प्राप्त भएपछि अख्तियारले केही समयउनलाई निगरानीमा राखेको थियो। केही प्रमाणहरू अख्तियारले सुरक्षित गरेपछि पहिला सवारी चालक महर्जन र त्यसपछि अध्यक्ष अधिकारीलाई सोधपुछका लागि बोलाएको हो।
अनुसन्धान पूरा भएपछि अख्तियारले अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा चलाउनेछ।
अधिकारीलाई २०८० असोज १० गते तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले सरकारी स्वामित्वको बैंकको अध्यक्ष नियुक्त गरेका थिए। उनी त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त सहप्राध्यापक पनि हुन्। यसअघि उनी कृषि विकास बैंकका सञ्चालक पनि थिए।
Shares

प्रतिक्रिया