साढे २ अर्ब रुपैयाँको नहर निर्माणको सिक्टा सिँचाइ आयोजनामा ११ कम्पनीले प्रस्ताव हालेका छन्।
शुक्रबार अन्तिम दिनसम्म ११ वटा कम्पनीको प्रस्ताव परेको आयोजनाले जानकारी दिएको हो।
सिक्दा सिँचाइ आयोजनाको डुडुवा नहरको प्याकेज ५ मा प्रस्ताव हाल्नेमा ११ कम्पनी सहभागी छन्। जसमा लामा कन्स्ट्रक्सन कम्पनी प्रालि, शर्मा एण्ड कम्पनी प्रालि, बन्धन भगवती निर्माण सेवा प्रालि, कुमार श्रेष्ठ निर्माण सेवा प्रालि, फेवा श्री गीता जेभी, माउन्टेन इन्फा कम्पनी लिमिटेड, रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालि, अर्घाखाँची इन्जिनियर्स बिल्डर्स कम्पनी, हाइ हिमालय आरएस्सी जेभी, स्वछन्द निर्माण सेवा प्रालि र लुम्बिनी बिल्डर्स प्रालि रहेका छन्।
त्यसैगरी प्याकेज ६ मा पनि ११ कम्पनीले प्रस्ताव हालेका छन्। यो प्याकेजमा लामा कन्स्ट्रक्सन कम्पनी प्रालि, शर्मा एण्ड कम्पनी प्रालि, रामेछाप शेर्पा कन्स्ट्रक्सन, बन्धन भगवती निर्माण सेवा प्रालि, कुमार श्रेष्ठ निर्माणसेवा प्रालि, फेवा श्री गीता जेभी, रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालि, अर्घाखाँची इन्जिनियर एण्ड बिल्डर्स कम्पनी प्रालि, थ्रिएचसी पीके प्रालि, स्वछन्द निर्माण सेवा प्रालि र लुम्बिनी बिल्डर्स प्रालिले प्रस्ताव हालेका छन्।
सिक्टा सिँचाइअन्तर्गत करिब ४३ किमि नहरको ठेक्का आह्वान भएको थियो।
ठेक्कामा ६–७ कम्पनीको मात्रै योग्यता पुग्ने गरी आह्वान भएको भन्दै थुप्रै उजुरी परेका थिए। त्यसपछि आयोजनाले केही संशोधन गरे पनि प्रतिस्पर्धा खुम्चिने निर्माण व्यवसायीहरुको दाबी छ।
‘बोलपत्रको प्रस्ताव खुलेको छ। अन्तिम दिनसम्म ११ कम्पनीले प्रस्ताव पेस गरेका छन्’, सिक्टा सिँचाइ आयोजना प्रमुख राजु आचार्यले नेपालखबरसँग भने, ‘अहिले ११ कम्पनीले ठेक्का हाले। अब कुनकुन कम्पनी प्राविधिक रूपमा छनोट हुन्छन्, मूल्यांकन गर्छौँ।’
आचार्यले प्राविधिक रुपमा छनोट भएका कम्पनीको आर्थिक प्रस्ताव खुल्ने र सबैभन्दा कम रकम कबोल गरेका कम्पनीले पाउने बताए।
‘अहिले कुन–कुन कम्पनीले प्रस्ताव गरे भन्ने हेरौँ’, उनले भने, ‘अब मापदण्ड पूरा भई आएका कम्पनी छनोट गरी आर्थिक प्रस्ताव खोल्छौँ।’
निर्माण व्यवसायी महासंघले नै सिक्टा सिँचाइ आयोजना ठेक्का आह्वान हुँदा सेटिङमा भएको जनाएको छ। महासंघका अध्यक्ष रवि सिंहले सिँचाइका आयोजनामा हाइड्रोमा काम गरेको अनुभव देखाउन पाउने गरी उजुरी गरेको जानकारी दिएका छन्।
टेन्डरमा ११ कम्पनीले आवेदन दिएमा प्राविधिक छनोटमा ६–७ कम्पनीभन्दा नपर्ने एक निर्माण व्यवसायी बताउँछन्।
‘टेन्डर आह्वान गर्दा नै सीमित कम्पनीले मात्रै पाउन भनेर योग्यता राखेको छ। आज प्रस्ताव हाल्दा हाइड्रोमा अनुभव भएका कम्पनीले पनि हालेका छन्’, ती व्यवसायी भन्छन्, ‘तर प्राविधिक छनोटमा आधा कम्पनी बाहिरिने देखिन्छ।’
व्यवसायीहरुले शर्मा एन्ड कम्पनी र कुमार श्रेष्ठ निर्माण सेवालाई ठेक्का दिने गरी सिँचाइ मन्त्रालय र विभागले सहयोग गरेको दाबी गरेका छन्।
यो पनि-
Shares

प्रतिक्रिया