कारोबार


सिक्टा सिँचाइ आयोजनाको साढे २ अर्बको ठेक्कामा पनि ‘कार्टेलिङ’

मिलेमतोमा ठेक्का दिलाउन जलस्रोत सचिव र सिँचाइ विभागका महानिर्देशककै सहयोग
सिक्टा सिँचाइ आयोजनाको साढे २ अर्बको ठेक्कामा पनि ‘कार्टेलिङ’

सिँचाइ सचिव सरिता दवाडी, महानिर्देशक देवराज निरौला तथा कुमार श्रेष्ठ निर्माण सेवाका सुशील श्रेष्ठ र शर्मा एन्ड कम्पनीका रमेश शर्मा (बायाँबाट क्रमश)


वसन्त अर्याल
माघ २४, २०८१ बिहिबार २२:११, काठमाडौँ

सिक्टा सिँचाइ आयोजनाको साढे २ अर्बको ठेक्कामा ‘कार्टेलिङ’ भएको आरोप लागेको छ।

पश्चिमी नेपालको राप्ती नदीमा रहेको सिक्टा सिँचाइ आयोजना अन्तर्गत डुडुवा शाखा नहर निर्माणका लागि यो टेन्डर आह्वान भएको हो।

४३ किमि नहर निर्माणको ठेक्का दुई कम्पनीले पाउने गरी शुक्रबार १२ बजेसम्म मात्र प्राविधिक र आर्थिक दुवै प्रस्तावमा आवेदन दिन पाइने भएपछि ‘कार्टेलिङ’ भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेको हो।

राजनीतिक तहमा शक्तिशाली पहुँच भएको मानिने शर्मा एन्ड कम्पनी र कुमार श्रेष्ठ निर्माण सेवालाई ठेक्का दिने गरी कार्टेलिङ गरेको सम्बद्ध व्यवसायीले दाबी गरेका छन्।  

‘सिँचाइ विभागले राखेको योग्यताअनुसार बढीमा ६ कम्पनीको मात्रै योग्यता पुग्छ’, ३० वर्षदेखि निर्माण क्षेत्रमै काम गरिरहेका एक व्यवसायी भन्छन्, ‘यस आधारमा बढीमा ६ कम्पनीबीच प्रतिस्पर्धा हुने देखिन्छ। त्यसमा पनि शर्मा एन्ड कम्पनी र कुमार श्रेष्ठले चलखेल गरेर ठेक्का हत्याउन खोजेका छन्।’

स्वदेशी कम्पनी मात्रै सहभागी हुन सक्ने गरी आह्वान गरिएको नहर निर्माणको टेन्डरमा ८ कम्पनी योग्य हुने देखिन्छन्। तर योग्य अन्य कम्पनीलाई २ प्रतिशत दिएर शर्मा एन्ड कम्पनी र कुमार श्रेष्ठ निर्माण सेवाले ठेक्का हत्याउने सहमति भइसकेको यो प्रक्रियामा सम्वद्ध एक सरकारी अधिकारीले बताएका छन्। 

यो ठेक्का कार्टेलिङमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी र सिँचाइ विभागका महानिर्देशक देवराज निरौलाले सहयोग गरेको आरोप छ। ती अधिकारीका अनुसार शर्मा एन्ड कम्पनीका अध्यक्ष तथा प्रबन्धनिर्देशक रमेश शर्मा तथा कुमार श्रेष्ठ निर्माणका कुमारले महानिर्देशक र सचिवलाई प्रभावित पारेका छन्।   

कुमार श्रेष्ठ निर्माण सेवाका प्रबन्धनिर्देशक सुशील श्रेष्ठले सिक्टाको टेन्डरमा सहभागी हुने जानकारी दिए। 

‘हामी सिँचाइकै आयोजनाहरु निर्माण गरिरहेका छौँ। सिक्टाको नहर निर्माणमा पनि सहभागी हुन्छौँ’, श्रेष्ठले नेपालखबरसँग भने, ‘अरु कम्पनीको विषयमा हामीलाई थाहा हुँदैन।’

डुडुवा शाखा नहर निर्माणका लागि टेन्डर प्रक्रियामा सहभागी हुन २ वटा सिलबन्दी खाममा प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै पेस गर्नुपर्नेछ। 

पश्चिमी नेपालको राप्ती नदीमा रहेको सिक्टा सिँचाइ आयोजनाका अनुसार मुख्य नहरको शाखा र उपशाखा निर्माण हुनलागेको हो। यसको शाखा २३ किलोमिटरको र उपशाखाहरु १०–१० किमिका गरी कुल ४३ किलोमिटरको नहर निर्माण हुनेछ।

यसका लागि दुईवटा प्याकेजमा ठेक्का आह्वान गरिएको छ। 

नहरको लागत अनुमान २ अर्ब ५० करोड रुपैयाँ छ। यसको निर्माणसँगै हेड रेगुलेटर, क्रस रेगुलेटर, गाउँका पुल निर्माण गर्नुपर्नेछ।

यसबाहेक माटो व्यवस्थापन, नहरको लाइनिङको काम समेत छ। यी काम ३ वर्षमा पूरा गर्नुपर्ने शर्त राखिएको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत सिँचाइ विभागअन्तर्गतको सिक्टा सिँचाइ आयोजनाले गत पुस १ गते २ प्याकेजमा ४३ किमि नहर निर्माणका लागि टेन्डर आह्वान गरेको थियो। तर उक्त टेन्डरमा योग्यता विवाद भएपछि आयोजनाले आंशिक संशोधन गरेको छ।

सिँचाइ विभागले सुरुमै सीमित कम्पनीले मात्रै पाउने गरी योग्यता निर्धारण गरेको थियो। यसविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेपछि डकुमेन्ट संशोधन गर्न विभाग बाध्य भएको थियो। 

सार्वजनिक खरिद अनुगमन कार्यालयमा हाइड्रो (जलविद्युत् परियोजना)मा काम गरेको अनुभव सिँचाइमा पनि हुनुपर्ने माग राख्दै उजुरी परेको थियो। उजुरीपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले सिँचाइ विभागलाई गुनासो सम्बोधन गर्न पत्र काटेको थियो। 

योसँगै यही माघ १५ गते विभागले योग्यता संशोधन गरेको थियो।

जसअनुसार न्यूनतम योग्यता पछिल्ला १० वर्षमध्ये कम्तीमा ३ वर्ष ६२ करोड ५८ लाख वार्षिक आम्दानी गरेको हुनुपर्ने भन्ने छ। त्यसैगरी आवेदन दिने कम्पनीको नगद प्रवाह क्षमता कम्तीमा १० करोड हुनुपर्ने, टनेल (सुरुङ) निर्माणमा कम्तीमा ७५ करोड १० लाख रुपैयाँबराबरको काम गरेको हुनुपर्ने शर्त छ। 

‘टनेल निर्माणमा मात्रै ७५ करोडबराबरको काम गरेको अनुभव सीमित कम्पनीसँग मात्रै हुन्छ’, एक निर्माण व्यवसायी भन्छन्, ‘टेन्डर आह्वान हुनुअगावै पूरै सेटिङ मिलाएको देखिन्छ।’

हाइड्रो निर्माणको अनुभव सिँचाइमा नलाग्ने शर्त राखी प्रतिस्पर्धा साँघुरो
हाइड्रो निर्माणको अनुभव सिँचाइका पूर्वाधार बनाउँदा काम नलाग्ने बनाएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले सच्याउन निर्देशन दिएको थियो। 

कार्यालयले बोलपत्रदाता वा प्रस्तावदाताको योग्यताको आधार तयार गर्दा कुनै खास वर्गका निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता वा सेवाप्रदायकले मात्र भाग लिन पाउने वा नपाउने व्यवस्था गर्न सकिनेछैन भन्ने प्रावधान रहेको पत्र सिँचाइ विभागलाई पठाएको छ। 

‘विभागको निर्णय खरिद कार्यलाई बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउने व्यवस्थासँग मिल्दो देखिँदैन’, खरिद अनुगमन कार्यालयले भनेको छ, ‘खरिद कार्यहरूमा खरिद सम्झौतासँग मेल खाने प्रकृति, जटिलता र निर्माण प्रविधिका विषयमा खरिद सम्झौता गरी सिँचाइ, हाइड्रोपावरलगायत अन्य आयोजनामा हाइड्रोलिक संरचनासम्बन्धी निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायी पनि खरिद कारबाहीमा सहभागी हुनसक्ने गरी बोलपत्र कागजात संशोधन गर्न अनुरोध छ।’

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १९ गते सार्वजनिक खरिद अनुगमन कार्यालयलाई आयोजनाअन्तर्गत विभिन्न नहर निर्माणसम्बन्धी बोलपत्र योग्यताका मापदण्डहरुबारे आयोगमा दर्ता भएको ‘सार्वजनिक खरिद कानुनविपरीत रहेको भन्ने व्यहोराको उजुरी’माथि कारबाही गर्न भन्दै पत्र पठाएको थियो। 

अख्तियार र सार्वजनिक खरिद अनुगमन कार्यालयको पत्रपछि सिक्टा सिँचाइ आयोजनाले मूल्यांकन र योग्यता मापदण्डमा संशोधन गरेको हो। 

माघ १५ मा गरेको संशोधनमा कुनै पनि सिँचाइ आयोजनामा काम गरेको अनुभव हुनुपर्ने व्यवस्था छ। त्यसलाई पनि संशोधन गर्दै हाइड्रोपावरमा नहर निर्माण गरेको अनुभव राख्न पाइने बनाइएको छ। जसमा सुरुङमार्ग, भौतिक संरचना, इलेक्ट्रोमेकानिकल र हाइड्रो मेकानिकलको अनुभव देखाउन नपाउने व्यवस्था गरिएको छ। 

विभागले निर्माण कम्पनीको अनुभवमा केही संशोधन गरे पनि हाइड्रोपावरमा काम गरेको पूरा अनुभवलाई सिँचाइमा नदिएको भन्दै माघ १८ गते पुनः उजुरी परेको थियो। 

उक्त उजुरीमा भनिएको छ, ‘इन्टेक स्ट्रक्चर, बेसिन निर्माणलगायतका कामको अनुभव नहर निर्माणमा काम लाग्नेछ।’

सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी गरेका एक व्यवसायीले पूर्वाधार निर्माणमा हाइड्रो सबैभन्दा अप्ठ्यारो क्षेत्र भएकाले नहर बनाउन सक्ने बताए। 

‘केही सीमित कम्पनीलाई फाइदा पुग्ने गरी योग्यता निर्धारण गरिएको छ। यसलाई सच्याउनुपर्ने भनी उजुरी दिएका हौँ’, ती व्यवसायी भन्छन्, ‘सिँचाइ मन्त्रालयले नै बहुउद्देश्यीय आयोजना बनाइरहेको समयमा हाइड्रोमा गरेको अनुभव सिँचाइमा दिन्न भन्नु सीमित कम्पनीहरुलाई पोस्ने नीति हो।’

सिक्टा सिँचाइ आयोजनाका निमित्त प्रमुख राजु आचार्यले हाइड्रोको अनुभव सिँचाइमा देखाउन नमिल्ने दाबी गरे। 

‘निर्माणको क्रममा गुनासोहरु आउने गर्छन्। हाइड्रोमा काम गरेको अनुभव भएकालाई नहर निर्माणको अनुभव मान्न सकिँदैन’, उनले नेपालखबरसँग भने, ‘२०७८ पछिको सबै सिँचाइ आयोजनामा हाइड्रोको अनुभवलाई मान्यता दिएका छैनौँ।’

सिँचाइ विभागले ठूला साना सबै आयोजनामा हाइड्रो र सिँचाइको अनुभव फरक हुने व्यवस्था गरेको उनले बताए।  

‘हाइड्रो र सिँचाइको कामको प्रकृति फरक हुन्छ। सिँचाइको उद्देश्य कसरी सिँचाइ क्षेत्र बढाउने भन्ने हुन्छ’, आचार्यले थपे, ‘हाइड्रोको उद्देश्य कसरी बढी विद्युत् उत्पादन गर्ने हुन्छ। मिलेमतो, कार्टेलिङ भन्ने कुरामा सत्यता छैन। प्रतिस्पर्धा राम्रै हुन्छ।’

बबई सिँचाइ आयोजनामा धेरै प्रतिस्पर्धी छन् भने सिक्टाको शाखा नहर निर्माणमा पनि बढी प्रतिस्पर्धा हुने आचार्य दाबी गर्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad