कारोबार


पाथीभरामा केबलकार परियोजनाविरुद्धको विरोधप्रति निजी क्षेत्रका तीन संगठनले गरे ध्यानाकर्षण

‘नेपालमा लगानी गर्ने लगानीकर्तामा यसले नकारात्मक सन्देश जान्छ’
पाथीभरामा केबलकार परियोजनाविरुद्धको विरोधप्रति निजी क्षेत्रका तीन संगठनले गरे ध्यानाकर्षण

नेपाल उद्योग वाणिज्य महासङ्घ, चेम्बर र सीएनआईका अध्यक्षहरू चन्द्र ढकाल, कमलेश अग्रवाल र राजेश अग्रवाल


नेपालखबर
माघ २२, २०८१ मंगलबार १६:२४, काठमाडौँ

पाथीभरामा केबलकार निर्माणविरुद्ध भइरहेका विरोध र बन्दजन्य गतिविधिप्रति निजी क्षेत्रले ध्यानाकर्षण गरेका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सले साझा वक्तव्यमार्फत केबलकार निर्माण परियोजनाविरुद्धका गतिविधिमा ध्यानाकर्षण गरेका हुन्। 

तीन संगठनले विज्ञप्ति जारी गर्दै केबलकार यातायातको एउटा साधन मात्रै भएको जनाउँदै यसको निर्माणले त्यहाँको धार्मिक सांस्कृतिक तथा साहसिक पर्यटन प्रवर्द्धन, कृषि, हस्तकलाको विकासमार्फत व्यवसायको प्रवर्द्धनका साथै स्थानीयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना गर्ने तथा देशकै पर्यटन विकासमा नयाँ आयाम थप्ने विषयमा दुईमत नरहेको उल्लेख गरेका छन्। 

‘नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको सर्वविदितै छ। उद्योग, व्यापार, बैंकिङ, ऊर्जा, कृषि, पर्यटन, सञ्चार लगायत अन्य विभिन्न पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रको गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पुऱ्याएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालका प्रमुख तीर्थस्थलहरूमध्ये एक पाथिभरा ( मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्द्धन गर्न केवलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधि प्रति समग्र निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको छ।’

परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन समेत अस्तव्यस्त भएको छ भने आम नागरिकले सास्ती भोग्नुपरेको छ।

निजी क्षेत्र देशको विकासका लागि सधैं प्रतिबद्ध रहेको जनाउँदै उनीहरुले समृद्ध नेपालको निर्माणमा सबै पक्षको सहकार्य आवश्यक छ भन्ने धारणा राख्दै आइरहेको उल्लेख गरिएको छ।

‘अर्कोतर्फ पर्यटन क्षेत्र नेपालको समृद्धिको महत्वपूर्ण आधार बन्दै गइरहेको सन्दर्भमा निजी क्षेत्रले पर्यटनमा अबौं रुपैयाँ लगानी गरिसकेको छ’, थप भनिएको छ, ‘यो क्षेत्रले हजारौँ नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेको छ भने पर्यटकीय पूर्वाधारको विकासमा निजी क्षेत्रको लगानी बढ्दै जाँदा आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्यामा वृद्धि भई समग्र देशकै अर्थतन्त्रमा सकारात्मक प्रभावहरु देखिएका छन्।’

यस परियोजनाले पाथिभरा (मक्कुम्लुङ) जान चाहने वृद्धवृद्धा, अशक्त बालबालिका सहित अन्य यात्रुहरूलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउने उनीहरुको भनाइ छ। 

केवलकार निर्माण कार्यमा अवरोध हुनु दुःखद
सो क्षेत्रको विकासका लागि केवलकार निर्माण अपरिहार्य रहेकोमा स्थानीय तह र स्थानीय बासिन्दाहरु सहमत रहनु र बन्नुपर्छ भन्ने धारणा राखिरहेको सन्दर्भमा केवलकार बन्न दिनुहँदैन भनेर बाह्य हस्तक्षेपसहित केवलकार निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद मात्र नभई विकासको प्रवाहलाई रोक्ने प्रयासका रुपमा निजी क्षेत्रले लिएको तीन संगठनले उल्लेख गरेका छन्।

विकासमा देखिएको यो अवरोध कुनै एउटा परियोजनाको विरोध मात्रै नभएर देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुनुको साथै नेपालमा लगानी गर्ने लगानीकर्ताहरुलाई यसले नकारात्मक सन्देश प्रवाह गर्ने उनीहरुको भनाइ छ।

यस्तै देशका अन्य भागमा हुने विकास निर्माणका कार्यलाई समेत गम्भीर असर गर्ने देखिएको निजी क्षेत्रको साझा धारणा छ।

यस विषयमा देखिएको अवरोध हटाउन सरकारले गरेको पहल र आन्दोलनरत पक्ष समेत वार्तामा बस्ने कुराले निजी क्षेत्र केही उत्साहित भएको पनि उनीहरुले बताएका छन्।

‘कुनै पनि विषयमा समस्या सिर्जना भएका वार्ताका माध्यमबाट ती समस्याको हल गर्न सकिन्छ। विकासका कार्यहरू सबैको हितका लागि हुने भएकाले विकासलाई अवरोध गर्ने कार्यले दीर्घकालीन हित गर्दैन’, विज्ञप्तिमा उल्लेख छ, ‘यो अवस्थामा विकासको यो प्रयासलाई सकारात्मक रूपमा ग्रहण गर्न र पाथिभरा (मक्कुम्लुङ) केवलकार परियोजनालाई सहज र निर्वाध रूपमा अघि बढाउन स्थानीय समुदाय, सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई निजी क्षेत्र हार्दिक अपिल गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad