तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण भएको छ।
मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मङ्गलबार विद्युत प्रवाह गरी (चार्ज) सञ्चालनमा ल्याइएको हो।
मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइनलाई पनि मङ्गलबारनै २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ।
८२ किलोमिटर उक्त प्रसारणलाइनलाई ७ असार २०७९बाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो। मार्कीचोक सबस्टेसन चार्ज गरिएसँगै मर्स्याङ्दी–काठमाडौ प्रसारणलाइन २२० केभीमा सञ्चालनमा ल्याइएको हो।
मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत प्रसारणलाइन र मार्कीचोक तथा काठमाडौंको मातातीर्थमा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो।
मातातीर्थ सबस्टेसन निर्माणसम्पन्न गरी गत वैशाखबाट सञ्चालनमा आइसकेको छ। दुवै सबस्टेसनमा १६०/१६० एमभीए क्षमताका दुई/दुई पावर ट्रान्सफर्मर राखिएका छन्। दुवै सबस्टेसनको क्षमता ३२०/३२० एमभीए छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्कीचोक सबस्टेसन सञ्चालनमा आएसँगै मर्स्याङ्दी नदी करिडोरका जलविद्युत आयोजनाहरुको विद्युत् २२० केभी प्रसारणलाइनबाट काठमाडौं उपत्यकामा ल्याउन पूर्वाधार संरचना बनेको बताए।
यसबाट देशको एकीकृत विद्युत् प्रणालीको भोल्टेज सुधार भई विद्युत् थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले मर्स्याङ्दी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत निर्माणाधीन मार्कीचोक–भरतपुर खण्ड सम्पन्न भएपछि विद्युत् भरतपुरतर्फ पनि पठाउन सकिने बताए। मार्कीचोक–भरतपुर खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको छ। ्

मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको बाडभञ्ज्याङसम्म मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको त्रिशूली–काठमाडौं २२० केभी प्रसारणलाइनलाई बाडभञ्ज्याङमा एक आपसमा आबद्ध गरिएको छ।
त्रिशूली र मस्याङ्दीका दुवै प्रसारणलाइनलाई बाडभञ्ज्याङबाट मल्टिसर्किट (चार सर्किट)मा आबद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ।
मर्स्याङ्दी–काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारणलाइनबाट आएको करिब १/१ हजार मेगावाट विद्युत् बाडभञ्ज्याङमा आवद्ध भई त्यहाँबाट करिब २ हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारणलाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुनेछ।
मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी २०७७ पुसमा चाइना मेसेनरी इन्जिनियरिङ कर्पोरेसनसँग नयाँ ठेक्का सम्झौता गरी बाँकी निर्माण अगाडि बढाइएको थियो। दुवै सबस्टेसनको अनुमानित लागत करिब सवा दुई अर्ब रुपैयाँ रहेको आयोजना प्रमुख लक्ष्मण फुँयालले उल्लेख गरे।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन आयोजना सुरु गरिएको थियो।
Shares

प्रतिक्रिया