कारोबार


राम जन्मभूमिका प्रमुख अर्चकले गरे शाश्वत धाम भ्रमण

राम जन्मभूमिका प्रमुख अर्चकले गरे शाश्वत धाम भ्रमण

नेपालखबर
पुस १६, २०८१ मंगलबार १५:५२, काठमाडौँ

श्रीराम जन्मभूमि न्यासका प्रमुख अर्चक सन्तोष तिवारी र विश्व हिन्दु परिषद्का विशिष्ट आचार्य दुर्गाप्रसाद गौतमले सोमबार नेपालको प्रसिद्ध सनातन धार्मिक केन्द्र शाश्वत धामको भ्रमण गरेका छन्।

तीन दशकभन्दा बढी समयदेखि अयोध्या स्थित श्रीराम मन्दिरमा निरन्तर सेवारत रहेका तिवारीको यस भ्रमणले दुई महत्त्वपूर्ण धार्मिक-शैक्षिक संस्थाहरूबीच नयाँ सहकार्यको ढोका खोलेको छ।

भ्रमणको मुख्य उद्देश्य श्रीराम वेद विद्यालय अयोध्या र शाश्वत धामस्थित वैदिक कर्मकाण्ड गुरुकुलबीच भगिनी सम्बन्ध स्थापना गर्ने रहेको छ। यस अवसरमा शाश्वत धामकी फाउन्डर सारिका चौधरी र गुरुकुलका प्रधानाचार्य विष्णुप्रसाद घिमिरेबीच गहन छलफल भएको थियो।

छलफलका क्रममा दुवै संस्थाका विद्यार्थीहरूको शैक्षिक र आध्यात्मिक विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नेबारे पनि छलफल भयो। यसअन्तर्गत दुई धार्मिक केन्द्रका विद्यार्थीहरुबीच ज्ञान आदानप्रदान कार्यक्रम, संयुक्त अनुसन्धानका योजनाहरू, वैदिक ज्ञान-विज्ञानको अध्ययन-अध्यापन र सांस्कृतिक आदानप्रदानजस्ता गतिविधिहरू समावेश हुनेछन्।

श्रीराम जन्मभूमि न्यासका प्रमुख अर्चक तिवारीले भ्रमणका क्रममा शाश्वत धामको भव्य परिसर, यहाँको वैदिक शिक्षा प्रणाली र आध्यात्मिक वातावरणको प्रशंसा गरे। उनले भने, ‘शाश्वत धामको शैक्षिक र आध्यात्मिक गतिविधिहरूले वैदिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने निश्चित छ।’

सन् २०१७ मा स्थापित यस शाश्वत धामले स्थापनाकालदेखि नै आध्यात्मिक चेतना जागृत गर्ने र वैदिक ज्ञानको प्रसार गर्दै आएको छ। यस धामले ज्ञान, भक्ति, कर्म र योगमार्फत मानिसहरूको आध्यात्मिक र मानसिक विकासमा विशेष जोड दिँदै आएको छ। 

हालसम्म ४९ लाखभन्दा बढी दर्शनार्थी एवं धार्मिक पर्यटकहरूले यस धामको भ्रमण गरिसकेका छन्, जुन यस धामको बढ्दो लोकप्रियताको प्रमाण हो।

आगामी दिनमा ५० लाख भ्रमणकर्ताको ऐतिहासिक उपलब्धि हासिल गर्न लागेको अवसरमा शाश्वत धामले विशेष समारोहको आयोजना गर्ने तयारी समेत गरिरहेको छ। 

विश्व हिन्दु परिषद्का आचार्य दुर्गाप्रसाद गौतमले दुवै धार्मिक संस्थाबीचको सहकार्यले सनातन धर्म र वैदिक संस्कृतिको विश्वव्यापी प्रचार-प्रसारमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे।

शाश्वत धाममा नियमित रूपमा वैदिक कर्मकाण्ड, योग शिविर, ध्यान साधना, सत्संग लगायतका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। 

साथै, यहाँको वैदिक गुरुकुलले परम्परागत शिक्षा प्रणालीलाई आधुनिक शिक्षासँग समन्वय गर्दै नयाँ पुस्तामा सनातन मूल्य र मान्यताहरू हस्तान्तरण गर्ने काम गर्दै आएको छ।

दुई धार्मिक स्थलबीचको सहकार्यले वैदिक ज्ञान र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा नयाँ अध्याय थप्ने विश्वास समेत गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad