समाज


रविसहितको सहकारी मुद्दामा बहस गर्न नायब महान्यायाधिवक्तासहितको टोली पोखरामा

रविसहितको सहकारी मुद्दामा बहस गर्न नायब महान्यायाधिवक्तासहितको टोली पोखरामा

नेपालखबर
पुस १६, २०८१ मंगलबार १५:५६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसमेत संलग्न रहेको पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा बहस गर्न महान्यायाधिवक्ता कार्यालयबाट समेत टोली पोखरा पुगेको छ।

यस मुद्दामा जिल्ला न्यायाधीश नितिज राईको इजलासमा मंगलबार दिउँसो थुनछेक बहस सुरु भएको छ। सरकारको तर्फबाट बहसका लागि महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतम पोखरा पुगेका हुन्।

रेग्मी र गौतमले बुधबार थुनछेक बहस गर्नेछन्।

मंगलबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीकै अधिकारीहरूले बहस गर्दै छन्। जिल्लाका सरकारी वकिलहरू सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गर्ने तयारी छ। सरकारको तर्फबाट बुधबार पनि बहस जारी रहनेछ।

सरकारी वकिल र जाहेरवालाको तर्फबाट बहस सकिएपछि प्रतिवादीहरूको तर्फबाट बहस हुनेछ। प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तलगायतले बहस गर्ने तयारी गरेका छन्।

दुवै पक्षको बहसपछि सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ। त्यसपछि उनीहरूलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुनाबाहिर राखेर गर्ने भन्ने आदेश हुनेछ।

पक्राउ परेका ७ जना प्रतिवादीकै बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो।

लामिछानेसहित उनका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाई, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अभियोगपत्रसाथ उपस्थित गराइएको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

सहकारी ठगीका अलावा रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टो करेन्सी कारोबारको कसुरमा समेत मुद्दा दायर गरिएको छ।

सम्पत्ति जफतका लागि रविपत्नी निकितासहित ५ जनालाई पनि प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad