कारोबार


कोरोनाले पर्यटन क्षेत्र चौपट, खाली कर्मचारीलाई के गर्ने ?

कोरोनाले पर्यटन क्षेत्र चौपट, खाली कर्मचारीलाई के गर्ने ?

वसन्त अर्याल
चैत ४, २०७६ मंगलबार ११:४,

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अधिकांश देशको पर्यटन, होटल र हवाइ क्षेत्रमा ठूलै नोक्सानी पुगेको छ। भाइरस फैलिने डरले देशहरुले यात्रामा प्रतिबन्ध लगाउनेदेखि हवाइ कम्पनीहरुले उडान रोक्नेसम्मका निर्णय लिँदा त्यसको सिधा असर पर्यटन क्षेत्रमा पुगेको छ।

नेपालमा पनि बढी प्रभावित क्षेत्र यिनै बनेका छन्। होटलहरु खाली हुनथालेका छन् भने पर्यटक आउन बन्दप्रायः हुँदा यस क्षेत्रको व्यवसाय निष्क्रियजस्तो बनेको छ। साथसाथै पर्यटन क्षेत्रका विभिन्न कामहरु समेत रोकिने अवस्थामा पुगेका छन्। यसले पर्यटन क्षेत्रका हजारौँ कर्मचारी खाली बस्नुपर्ने अवस्था आएको छ। व्यवसायीहरुको व्यवसाय चौपट हुनथालेको भन्दै सरकारसँग गुनासो पोख्ने क्रम पनि सुरु भएको छ।

याे पनिः
कोरोनाको मार तारे होटलमा, २५० रुममा ९ वटा मात्रै बुकिङ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार नेपालमा सन् २०१८ मा ट्राभल एजेन्सी मात्रै ३ हजार ५ सयको संख्यामा रहेका थिए। ट्रेकिङ एजेन्सी २६ सय ४९, टुरिस्ट गाइडहरु ४ हजार १ सय २६, टुर गाइडहरु १६ हजार २ सय ४ र रिभर गाइड २ सय ५३ रहेका थिए। हाल यो संख्यामा केही फेरबदल भएको मन्त्रालयको आँकलन छ।

के हुन्छ हिमाल सरसफाइ?
अघिल्ला वर्षहरुमा नेपाली सेना, पुलिसको सहभागितामा विगतमा नेपाल पर्वतारोहण संघले हिमाल सरसफाइ गर्दै आएको थियो। यो वर्ष पनि वातावरण विभागले हिमाल सरसफाइको कार्यक्रम गर्ने कार्यक्रम राखेको छ। तर सरसफाइ कसरी कसले गर्ने भन्ने स्पष्ट भएको छैन। सरकारले नेपाली सेनालाई यसको जिम्मेवारी सुम्पिनसक्नेछ।

याे पनिः 
कोरोनाका कारण हिमाल आरोहण बन्द, विदेशी आरोहीलाई स्वदेश फर्काइने

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले कोरोनाको कारण हिमाल आरोहण बन्द भए पनि त्यसमा आबद्ध कर्मचारीलाई हिमाल सरसफाइ गर्न सकिने सुझाव दिए।

‘हाम्रो संघले कर्मचारी व्यवस्थापन गर्नको लागि हिमाल सरसफाइ गर्ने प्रस्ताव गरेका छौं’, लामाले नेपालखबरसँग भने, ‘यो लागू भयो भने हिमालको वातावरण पनि सफा हुन्छ। अर्को हिमाल आरोहण बन्द भई बसेका कर्मचरीले काम पनि पाउँछन्।’

याे पनिः 
कोरोना प्रभावित व्यवसायीलाई सम्बोधन गर्न सरकारले राहत प्याकेज ल्याउँदै

विगतमा आरोहीको चाप हुने बेला गरिने सरसफाइभन्दा अहिले आरोहण बन्द भएको समयमा सफा गर्दा उपयुक्त हुने बताउँछन्।

‘कोरोना भाइरस त सधैँ रहिरहँदैन। यो सिजनमा आरोहण बन्द भए पनि अर्को सिजनमा आरोहण गर्छन्। त्यसबेला हामीले स्वच्छ हिमाल, सफा हिमाल भन्दै विश्वभर प्रचार गर्न सक्छौं’, उनले भने।

अध्यक्ष लामाका अनुसार यस क्षेत्रका सबै कर्मचारीलाई जागिर नपुगे पनि २५ प्रतिशतलाई भए पनि काममा लगाउन सकिन्छ।

खाली समयमा कर्मचारीलाई तालिम
कोरोनाका कारण पर्यटन व्यवसायीले काम ठप्प भए पनि कर्मचारीलाई विभिन्न तालिम दिन सकिने सुझाव दिएका छन्। रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान)का अध्यक्ष अरनिको राजभण्डारीले पर्यटक लक्षित रेस्टुरेन्टमा १० प्रतिशत मात्रै व्यापार रहेको दाबी गरे।

काठमाडौं, पोखरा र सौरहामा २५ सय रेस्टुरेन्टमा ६० हजार कर्मचारी रहेको उनले जानकारी दिए। उनले कोरोनाको कारण कामविहीन भएका कर्मचारीलाई तालिम दिन सरकारले सहयोग गर्नुपर्ने बताए।

होटल एसोसिएसन नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले पहिला होटल कसरी जोगाउने भन्ने मुख्य कुरा रहेको बताउँछन्।

याे पनिः 
विश्व पर्यटन क्षेत्रको ५ करोड रोजगारी जोखिममा

‘पर्यटन उद्योगका लागि अहिले संक्रमणकाल नै हो’, शाहले नेपालखबरसँग भने, ‘सरकारसँग प्याकेजका कुरा गरिरहेका छौं। त्यसमा कर्मचारी व्यवस्थापन पर्छ।’

होटलमा काम नभए पनि कर्मचारीलाई आबद्धता गराउनको लागि खाली समयमा तालिम दिन सकिने बताउँछन्।

‘कर्मचारीलाई तलब, भत्ता त दिनुपर्यो। केही भत्ता नदिई तालिममा राख्ने भनेर हुँदैन। त्यसको लागि सरकारले सहयोग गर्नुपर्छ,’ उनले भने ।

श्री एयरलाइन्सका प्रबन्धनिर्देशक अनिल मानन्धरले कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए।

‘हाम्रो एसोसिएसन र सरकारसँग पनि छलफल भइरहेको छ’, मानन्धरले नेपालखबरसँग भने, ‘कर्मचारीलाई तालित दिन त सकिन्छ तर तालिम दिने दक्ष जनशक्ति छ कि छैन भन्ने पनि हेर्नुपर्यो।’
उनले कोरोना नै फैलियो भने त तालिम दिन पनि सम्भव नहुने बताउँछन्।

‘कोरोनाको कारण ठूलो समूहमा सरकारले नै भनेको छ तर अहिले नै यो गर्ने भनेर हुँर्दैन। सबैसँग छलफलपछि निष्कर्ष निकाल्नुपर्छ’, उनले भने।

उनले ब्रिटिश एयर, कोरियन एयरले कर्मचारीलाई बेतलबी विदामा पठाएको भन्दै आफूहरुले पनि त्यस्तो गर्नुपर्ने बाध्यता आउनसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad