सम्भावित जोखिमको कारण सामाजिक सुरक्षा कोषले लगानीलाई विविधीकरण गर्नसकेको छैन।
कोषले कुल लगानीयोग्य रकमको ८४.६२ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाहरुको मुद्दतीमै राखेको हो।
चालू आर्थिक वर्षको असोज मसान्तसम्म कोषले ९९ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको थियो। यसमध्ये ८३ अर्ब ९३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमै लगानी गरेको छ।
सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ ले विभिन्न १२ क्षेत्रमा कोषको लगानी विविधीकरण गर्नुपर्ने व्यवस्था गरेको छ। तर बैंकको ब्याजदर एकल अंकमा झरेर प्रतिफल खुम्चिँदा पनि कोषले कुल लगानीको ८४.६२ प्रतिशत रकम निक्षेपमै राखेको छ।
योबाहेक कोषले डिबेन्चरमा ३ अर्ब ७१ करोड, ट्रेजरी बिलमा ५ अर्ब ४४ करोड, विकास ऋणपत्रहरुमा १ अर्ब ९८ करोड, योगदानकर्ता सापटीतर्फ ३ अर्ब ६८ करोड र म्युचुअल फन्डमा ४१ करोड रुपैयाँ लगानी गरेको छ।
कोषले सम्भावित जोखिम आकलनसहित ८ क्षेत्रभन्दा अन्यमा लगानी विविधीकरण गर्न नसकेको हो। निक्षेपसँगै डिबेन्चर, ट्रेजरी बिल, विकास ऋणपत्र, म्युचअल फन्ड र योगदानकर्ता सापटीमा लगानी गरे पनि धितोपत्रको दोस्रोबजार तथा सूचीकृत कम्पनीहरुको संस्थापक सेयरमा लगानी गरेको छैन। अर्थात् सेयरबजार र स्थिर सम्पत्तितर्फ कोषको लगानी शून्य छ।
बैंक वित्तीय संस्था, पूर्वाधार विकास र उत्पादनमूलक क्षेत्र वा अन्य सीमित दायित्व भएका कम्पनीहरुको सेयरमा लगानी गर्नसक्ने र स्टक डिलरको काम गर्ने गरी सुरक्षणहरुको खरिद तथा बिक्री गर्न पाउने कार्यविधिले व्यवस्था गरेको छ। योसँगै कोषले व्यावसायिक प्रयोजनका आवासीय परियोजना तथा घरजग्गामा समेत लगानी गर्न पाउने व्यवस्था छ।
लगानी विविधीकरण गर्दै प्रतिफल बढाउने योजनासहित कार्यविधि ल्याइए पनि ८४ प्रतिशत रकम अन्य क्षेत्रमा कोषले विविधीकरण गर्नसकेको छैन।
कोषका प्रवक्ता कृष्ण अधिकारीले जोखिम मूल्यांकनसम्बन्धी संयन्त्र नबनेको कारण लगानी विविधीकरण गर्न नसकेको बताए।
‘इक्विटी जोखिमपूर्ण हुन्छ, यसबारे हामीले पर्याप्त मेकानिज्म (संयन्त्र) तयार पारिसकेको छैनौँ। तयार पारेपछि दुई क्षेत्रमा लगानी गर्ने योजना छ’, उनले नेपालखबरसँग भने।
जोखिम हुनसक्ने देखिएका क्षेत्रहरुमा कोषले लगानीलाई प्राथमिकतामा नराखेको उनको भनाइ छ।

पछिल्लो दुई वर्षयता घरजग्गा कारोबार चलायमान बन्नसकेको छैन भने सेयर बजारले पनि अपेक्षित गति लिनसकेको छैन।
यसले गर्दा कोषले एकल अंकमा झरेको ब्याजदरमै लगानी बढाएर धितोपत्रको दोस्रो बजारमा गर्ने लगानी र घरजग्गामा गर्ने लगानीलाई शून्यमै सीमित राखेको अधिकारीले बताए।
असोज मसान्तसम्म कोषले १७ लाख ९७ हजार ६ सय ४० जना योगदानकर्ताबाट ६८ अर्ब ६८ करोड रुपैयाँ रकम संकलन गरेको थियो।
योबाहेक कोषले उपदान, सामाजिक सुरक्षा कर, लगानीबापतको प्रतिफललगायतका अन्य शीर्षकबाट प्राप्त ३० अर्ब रकमसहित कुल ९९ अर्ब १८ करोड रकम कोषले ८ क्षेत्रमा लगानी गरेको हो।
कोषमा योगदानकर्ताले ४ शीर्षकमा योगदान गर्न सक्छन्। जसमा औपचारिक क्षेत्रतर्फबाट कोषले ५९ अर्ब ७४ करोड रुपैयाँ संकलन गरेको छ भने वैदेशिक रोजगारतर्फ २ खर्ब ५७ करोड, अनौपचारिक तर्फबाट ३२ लाख र स्वरोजगार तर्फबाट २५ लाख रुपैयाँ योगदानबापतको रकम संकलन गरेको हो। योबाहेक लगानीबापतको प्रतिफलबाट कोषले असोज मसान्तसम्म ४ अर्ब २ करोड रुपैयाँ आम्दानी गरेको छ।
योगदानकर्ताले पाए ११ अर्बमाथिको दाबी भुक्तानी
कोषले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कुल ११ अर्ब ६२ करोड रुपैयाँ योगदानकर्तालाई दाबी भुक्तानी गरेको छ। हालसम्म कोषले सबैभन्दा धेरै दाबी भुक्तानी उपदान शीर्षकमा गरेको छ।
यो शीर्षकमा असोज मसान्तसम्म ९ अर्ब ८० करोड रुपैयाँ योगदानकर्तालाई भुक्तान गरिएको हो। योबाहेक कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी शीर्षकमा १ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी दिँदा दुर्घटना तथा अशक्तता सुरक्षा दाबी शीर्षकमा १५ करोड, आश्रित परिवार सुरक्षा दाबी रकम शीर्षकमा १८ करोड रुपैयाँ भुक्तानी दिएको हो।
असोज मसान्तसम्म कोषले कुल योगदानबापत प्राप्त गरेको रकमको १६.२७ प्रतिशत रकम विभिन्न शीर्षकमा रहेका योगदानकर्तालाई दाबी भुक्तानी गरेको छ।
दाबी भुक्तानी बढ्न थालेपछि सामाजिक सुरक्षा कोषमा सहभागी हुनेहरुको संख्या पनि पछिल्लो समय उल्लेख्य बढ्नथालेको छ।
चालू आर्थिक वर्षको तीन महिनामै कोषमा २ लाख संख्याको हाराहारीमा नयाँ योगदानकर्ताहरु कोषमा जोडिएका हुन्। योसहित सामाजिक सुरक्षा कोषमा जोडिने योगदानकर्ताको संख्या १७ लाख ९७ हजार पुगेको छ।
Shares

प्रतिक्रिया