कारोबार


४ महिनामा झण्डै २० अर्बको लगानी प्रतिबद्धता, नेपालबाट कति बाहिरियो?

४ महिनामा झण्डै २० अर्बको लगानी प्रतिबद्धता, नेपालबाट कति बाहिरियो?

नेपालखबर
मंसिर २, २०८१ आइतबार १३:४१, काठमाडौँ

४ महिनामा १९ अर्ब ८० करोड १२ लाख २९ हजार २ सय ५० रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। 

स्वचालित प्रणाली, स्वीकृति र सेयर खरिदलगायतमा विदेशी लगानीकर्ताले उक्त परिमाणको लगानी भित्र्याउने प्रतिबद्धता जनाएको उद्योग विभागले जनाएको छ। 

विभागका अनुसार उक्त लगानीमध्ये स्वचालित प्रणालीबाट उनीहरुले चार महिनामा १०९ उद्योगका लागि १ अर्ब ६२ करोड ७३ लाख ५७ हजार, अप्रुभल रुट (स्वीकृति लिएर)बाट १५४ उद्योगका लागि १७ अर्ब ३ करोड ७७ लाख ५६ हजार ४ सय रुपैयाँबराबर लगानी भित्र्याउन स्वीकृति लिएका छन्। 

यसबाहेक सेयर खरिदलगायतमा २५ उद्योगका लागि १ अर्ब १३ करोड ६१ लाख १५ हजार ८ सय ५० रुपैयाँबराबरको लगानी भित्र्याउन विभागबाट स्वीकृति लिइएको छ। 

गत कात्तिकमा मात्रै विदेशी लगानीकर्ताले स्वचालित रुटबाट ६१ करोड ३७ लाख ९६ हजार ८ सय रुपैयाँ ३६ उद्योगमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। त्यस्तै २३ उद्योगका लागि १ अर्ब ६१ करोडबराबरको लगानी प्रतिबद्धता आएको छ। सेयर खरिद तथा सब्सक्रिप्सनमा उनीहरुले कात्तिकमा एक उद्योगको लागि २ करोडको लगानी प्रतिबद्धता गरेका छन्। 

चार महिनामा जनाइएको लगानी प्रतिबद्धताअनुसार लगानी भित्रिए ७ हजार ६ सय ६७ जनाले रोजगारी पाउन सक्नेछन्। 

सबैभन्दा बढी साना उद्योगमा लगानी प्रतिबद्धता धेरै आएको छ। १५१ यस्ता उद्योगमा प्रतिबद्धता आउँदा मध्यमखालको उद्योगका लागि १ र ठूलाखालको उद्योगका लागि २ वटा प्रतिबद्धता प्राप्त भएको विभागले उल्लेख गरेको छ। 

यसमा पनि पर्यटनमा सबैभन्दा बढी, त्यसपछि सेवा, उत्पादन, कृषि, ऊर्जा, खनिज र सूचना प्रविधि क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ। 

बिजनेस भिसा सिफारिस माग्ने लगानीकर्ता बढे 
यसैबीच नेपालमा बिजनेस भिसा सिफारिस माग्ने विदेशी लगानीकर्ताको संख्या पनि बढेको छ। 

विभागका अनुसार गत आवको ४ महिनामा १ हजार ५ जनाले यस्तो भिसा मागेकामा यस वर्षको सोही अवधिमा १ हजार २० जना पुगेको छ। त्यसैगरी लगानीकर्ताको प्रतिनिधि पनि यस वर्ष बढेर २०५ जना पुगेको छ। यसबाहेक बिजनेस भिसा सिफारिस लिने लगानीकर्ताको डिपेन्डेन्टको संख्या पनि यस वर्ष बढेर ३३२ पुगेको छ। 

कति बाहिरियो लगानीबापतको लाभांश र रोयल्टी? 
यो चार महिनामा लगानीकर्ताले नेपालबाट फिर्ता लगेको रकममा पनि उल्लेख्य गिरावट आएको छ। 

लगानीकर्ताले उक्त अवधिमा ३८ करोड २२ लाख ५४ हजार ७ सय २९ रुपैयाँ रोयल्टी स्वदेश फिर्ता लगेका छन्। जुन अघिल्लो वर्षको सोही अवधिमा भन्दा निकै कम हो। अघिल्लो वर्ष उनीहरुले ७४ करोड ८६ लाख ६७ हजार ५ सय ८९ रुपैयाँ राजस्व फिर्ता लगेका थिए।

अमेरिकी डलरमा यो अवधिमा उनीहरुले ८ लाख १५ हजार ५ सय २१ डलर फिर्ता लगेका छन्। गत वर्ष सोही अवधिमा यस्तो रकम ५ लाख ९१ हजार ४ सय ६८ थियो। डलरमा फिर्ता गएको रकम भने यो अवधिमा बढेको देखिएको हो। 

लगानीकर्ताले भारुमा यस वर्ष २० करोड ५ लाख १ हजार १२८ भारु फिर्ता लगेका छन्। गत वर्ष सोही अवधिमा १९ करोड २० लाख २५ हजार भारु लगेका थिए। यस वर्ष युरोमा १० हजार २ सय रोयल्टीबापत फिर्ता गएको छ। 

विदेशी प्रविधिलगायतको प्रयोगबापत नेपालबाट रोयल्टी रकम बाहिरिने गर्छ। 

त्यसैगरी लाभांशतर्फ यस वर्ष ४ महिनामा ६ करोड ४० लाख फिर्ता गएको छ। गत वर्ष यस्तो रकम १ अर्ब ४१ करोड ६ लाख ८८ हजार २ सय ३३ रुपैयाँ लाभांशबापत लगानीकर्ताले लगेका थिए। 

सेवाशुल्कबापत असोजसम्म नेपाली रुपैयाँमा ३८ करोड ८ लाख ६८ हजार १६७, अमेरिकी डलरमा २८ लाख ६८ हजार ६ सय ४४ र भारुमा ५ करोड ७६ लाख १५ हजार ९ सय १७ संकलन भएको विभागले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad