नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरूले १५ दिनभित्र बक्यौता नतिरे पुनः आफ्नो प्रक्रियामा लाग्ने चेतावनी दिएका छन्।
बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै घिसिङले यस्तो बताएका हुन्।
‘१५ दिनभित्र नतिरे हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौँ। सरकारले नै १५ दिनमा उठाउन भनेको छ। यो सरकार, ऊर्जा मन्त्रालय सबैको एकमुष्ट दायित्वमा आएको छ,’ घिसिङले भने।
त्यतिबेला सम्म पनि बक्यौता नउठे सरकार र ऊर्जा मन्त्रालयले जिम्मेवारीपूर्वक उठाउनेतिर अघि बढ्ने विश्वास लिएको उनको भनाइ छ।
‘उठेन भने सरकारले र मन्त्रालयले पनि जिम्मेवारीपूर्वक बक्यौता उठाउनेतिर अघि बढ्ने विश्वास छ। प्राधिकरण आफ्नो नियमकानुनमा अघि बढ्छ,’ घिसिङले भने, ‘यसअघि पनि ३ महिना समय दिएका छौँ। प्रधानमन्त्री र नियमन आयोगको लिखित निर्देशनअनुसार ३ महिना दिएका थियौँ। अहिले १५ दिनको समयलाई शिरोधार्य गरी अघि बढेका छौँ।’
उनले त्यतिबेलासम्म पनि बक्यौता नउठ्ने हो भने यो विषय ठूलो सरकारको विषय बन्ने बताए।
‘१५ दिनमा पनि नबुझाए सरकार, मन्त्रालय र प्राधिकरणको मात्रै पनि सरोकारको विषय रहेन। यो सबैको ठूलो सरोकारको विषय बनेको छ। जनसरोकारको विषयलाई आमजनताबाट पनि यो विषय उठ्ने लागेको छ,’ घिसिङले भने, ‘यो विषय काट्ने र जोड्ने अनि बक्यौता रहने विषय रहन हुँदैन। पहिले नै भनेका छौँ अब हामी धेरै लाइन काट्नेतिर जोडेका छौँ। समाधानको अन्तिममा थियौँ।’
घिसिङका अनुसार प्राधिकरणलाई विभिन्न निकाय र पक्षबाट औद्योगिक वातावरणलाई नकारात्मक दिशामा धकेलेको आरोप पनि छ।
‘प्राधिकरणले यसलाई बढावा दिनुपर्नेमा लाइन काटेर वातावरण बिगार्नलागेको भन्नेमा यो विषयमा प्राधिकरण सचेत छ। यही भनेर नै प्राधिकरण सुरुदेखि नै लागेका छौँ,’ उनले भने।
साथै, उनले प्राधिकरणले प्रदान गर्ने सेवासुविधामा आफूहरू गम्भीर रहेको जिकिर गरे।
‘प्राधिकरणले दिने सेवासुविधामा गम्भीर छौँ। बक्यौता भएको उद्योगलाई थप लोड स्वीकृत नगर्ने अवस्था हुँदा पनि त्यसलाई संशोधन गरेर ८ सय मेगावाट लोड स्वीकृत गरेर सहयोग गरेका छौँ,’ उनले भने, ‘त्यसअघि ४/५ सय मेगावाट स्वीकृत गरेका छौँ। सबै उद्योग एकनासले चःल्दैन। लोड स्वीकृत भएको अवस्थामा उहाँहरुले चलाउन सक्नुहुन्छ। उद्योगको शुल्क विश्वमै नभएको कम छ। ग्राहकको भन्दा पनि।’
Shares

प्रतिक्रिया