नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले गरेको निर्णय अनुसार नै कटौती भएको लाइन जोड्ने कार्य कार्यान्वयनको चरणमा रहेको बताएका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले सरकारी निर्णय कार्यान्वयन गर्नुपर्ने बाध्यतामा रहेको उल्लेख गरे।
‘विद्युत् प्राधिकरणले सरकारी निर्णय कार्यान्वयन गर्नुपर्ने बाध्यता छ। कानुनी रुपमा चालिएका कदमबाट कटौती गरिएको लाइन सरकारले जोड्न निर्देशन दिएअनुसार हामीले २८ वटा उद्योगको लाइन जोड्ने गरी मपको निर्णय र बोर्डको निर्णय कार्यान्वयन गर्ने चरणमा छौँ,’ घिसिङले भने।
यसअघि तीन पटकसम्म लाइन काटिएको र प्रशासनिक निर्णयबाट निर्देशन आएपछि उक्त निर्देशनको पालना गरेको पनि जिकिर गरे।
‘यसअघि ३ पटक काटेका थियौँ, तीनैपटक प्रशासनिक निर्णयबाट निर्देशन आएपछि पालना गरेका थियौँ। अहिले पनि सरकारको एउटा निर्देशन छ। तिहारअघि ८ गते लाइन काटेका थियौँ, भर्खरै सरकारले निर्देशन दिएको छ। १५ दिनभित्र बक्यौता उठाउने गरी २४ घण्टाभित्र हाललाई लाइन जोड्ने भनेको छ। यस अवधिमा बक्यौता उठाउन हामी लाग्नेछौँ,’ घिसिङले भने।
साथै, उनले व्यवसायीहरूले १५ दिनभित्र सरकारको निर्देशन अनुसार बक्यौता बुझाउनुपर्ने बताए। उनका अनुसार २८ किस्ताको सुविधा दिएर पहिलो किस्ता तिर्ने १४ वटा उद्योगको लाइन जोडिएको पनि बताए।
‘उहाँहरुले १५ दिनभित्र सरकारको निर्देशनअनुसार बुझाउनुपर्नेछ। यसअघि २८ किस्ता सुविधा दिएर १ किस्ता तिर्दा १४ उद्योगको लाइन जोडेका छौँ,’ घिसिङले भने।
उनले अघि थपे, ‘३९ उद्योग डेडिकेटेड र ट्रंकलाइनमा पर्थे, उहाँहरूले करिब ७ उद्योगको स्टेअर्डरमा रहेको र केहीले किस्तामा तिरिरहेकोमा २८ ले किस्ता पनि नबुझाएको अवस्था थियो। अब सरकारले भनेअनुसार नै गर्छौँ। ’
Shares

प्रतिक्रिया