कारोबार


यस वर्ष पनि लक्ष्मीपूजाका दिन ‘पिक डिमान्ड’ पूरा गरी उब्रेको विद्युत् भारत निर्यात गरियो

तर गत वर्षभन्दा उच्च माग बढ्यो, निर्यात घट्यो
यस वर्ष पनि लक्ष्मीपूजाका दिन ‘पिक डिमान्ड’ पूरा गरी उब्रेको विद्युत् भारत निर्यात गरियो

लक्ष्मीपूजाका दिन बिहीबार राति काठमाडौँ स्वयम्भूको दृश्य। तस्बिर : सरोज बैजु


नेपालखबर
कात्तिक १६, २०८१ शुक्रबार ९:११, काठमाडौँ

यस वर्ष पनि लक्ष्मीपूजाका दिन देशभित्र विद्युत्‌को उच्च माग (पिक डिमान्ड) पूरा गर्दै बढी भएको बिजुली भारत निर्यातसमेत गर्न नेपाल विद्युत् प्राधिकरण सफल भएको छ। 

प्राधिकरणका अनुसार लक्ष्मीपूजाका दिन बिहीबार साँझ ६.२५ बजे विद्युत्‌को उच्च माग (पिक डिमान्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ।यो गत वर्षभन्दा १६४ मेगावाट बढी हो। गत वर्ष लक्ष्मीपूजाका दिन (कात्तिक २६ गते) विद्युत्‌को पिक डिमान्ड १४३८ मेगावाट मात्र थियो।  

तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहक बाहेकको हो। लक्ष्मीपूजाका दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत्‌गृहबाट उत्पादन गरी आपूर्ति गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। 

देशभित्रको विद्युत् माग पूरा गरी बढी भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारत निर्यात गरिएको उनले बताए। यस वर्ष लक्ष्मीपूजाका दिन निर्यात गरिएको विद्युत् भने गत वर्ष लक्ष्मीपूजाका दिनभन्दा केही हो। गत वर्ष लक्ष्मीपूजा पिक समयमा ५१७ मेगावाट निर्यात गरिएको थियो।

यस वर्ष बाढीपहिरोले क्षतिपुग्दा ४५६ मेगावाटको माथिल्लो तामाकोसी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द छ। यसले गर्दा यस वर्षको विद्युत् निर्यात प्रभावित भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ। 

उनका अनुसार लक्ष्मीपूजाका दिन बिहीबार साँझ निर्यातसहित प्रणालीमा समग्र विद्युत्‌को माग १८५५ मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष प्रणालीको पिक डिमान्ड १९५५ मेगावाट थियो। यस वर्ष लक्ष्मीपूजाका दिन काठमाडौँ उपत्यकाको पिक डिमान्ड ३९० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३६६ मेगावाट थियो।

ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य रतन ऐन, कार्यकारी निर्देशक कुलमान घिसिङ, ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलगायतको टोली लक्ष्मीपूजाका दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन बिहीबार स्युचाटारस्थित भार प्रेषण केन्द्रको नियन्त्रण कक्षमा  खटिएको थियो।

कार्यकारी निर्देशक घिसिङले विगतमा लोडसेडिङको अवस्थामा लक्ष्मीपूजाकाे दिनको विद्युत् मागलाई पिक डिमान्ड मान्ने गरिएकामा अहिले त्यस्तो अवस्था नरहेको बताए।

कार्यकारी निर्देशक घिसिङले भने, ‘आठ वर्षअघि लक्ष्मीपूजाको दिनको विद्युत् माग व्यवस्थापनका लागि आयात हुने गरेकामा केही वर्षदेखि आन्तरिक उत्पादनलेनै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको हो, बाढीपहिरोले जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति नपुर्‍याएको भए यो वर्ष लक्ष्मीपूजाको दिन झण्डै एक हजार मेगावाट विद्युत् निर्यात गर्ने अवस्थामा हुन्थ्यौँ।’

उनले लोडसेडिङ अन्त्य भई निरन्तर विद्युत् आपूर्ति हुनथालेपछि र विद्युतीकरण व्यापक रूपमा गरिएपछि हरेक वर्ष देशभित्रको विद्युत् माग बढिरहेको बताए। 

प्राधिकरणले तत्कालीन समयमा भइरहेको लोडसेडिङलाई २०७३ सालको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रूपमा अन्त्यको सुरुवात गरेको थियो। परीक्षण सफल हुँदै गएपछि २०७५ वैशाखबाट देशलाई पूर्ण रूपमा लोडसेडिङमुक्त घोषणा गरिएको थियो।

अहिले मुलुक लोडसेडिङबाटमुक्त मात्र छैन, देशभित्र प्रयोग गरी बाँकी भएको वर्षायामको विद्युत् निर्यात भइरहेको छ। विद्युत्‌को खुद आयातकर्ताबाट गत आर्थिक वर्षबाट नेपाल खुद निर्याकर्ता बनेको छ।

लक्ष्मीपूजाको विद्युत् माग व्यवस्थापनका लागि जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०६ मेगावाट विद्युत् उत्पादन क्षमता भए तापनि प्राधिकरकणले पिक समयमा ६२ मेगावाटमा मात्र चलाएको  थियो।

प्राधिकरणका स्वामित्वका अन्य विद्युत्‌गृहहरूबाट ६२ मेगावाट, चिलिमेलगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत्‌गृहहरूबाट ९० मेगावाट, निजी क्षेत्रका विद्युत्‌गृहहरूबाट १३०४ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad