कारोबार


कुलमानको आग्रह- तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत् प्रयोग गरे पनि पुग्छ

कुलमानको आग्रह- तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत् प्रयोग गरे पनि पुग्छ

नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार ११:१७, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका छन्।

कार्यकारी निर्देशक घिसिङले खपतका लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका हुन्।

उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मीपूजामा बत्ती नजाने पनि स्पष्ट पारे। यस वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत् उत्पादन भइरहेको भन्दै तिहारमा आयात पनि गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

सकेसम्म तिहारमा देशभित्रको खपत पुर्‍याएर निर्यातसमेत गर्न पुग्ने विद्युत् प्राधिकरणसँग रहेको जानकारी पनि उनले दिएका छन्।

घिसिङले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित केही जलविद्युत् आयोजनामा ठूलो क्षति गरेको र अधिकांश आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

अहिले २१ सय मेगावट क्षमताका आयोजना सञ्चालनमा रहे पनि उत्पादन घटेर १९ सय मेगावाटमा झरेको उनको भनाइ छ।

यस वर्ष बाढीपहिरोले जलविद्युत् आयोजनाहरूमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत् आयात गर्नुपर्ने प्राधिकरणको आकलन छ। 

घिसिङले भने, ‘मुख्य गरेर यो वर्ष वर्षातको कारण आएको बाढी पहिरोको कारणले जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुगेको छ। प्राधिकरण र निजी क्षेत्र दुवैमा क्षति पुगेको छ। तामाकोसी ४६५ मेगावट अहिले पनि आउट छ । प्रसारणलाइन बगाएको हुनाले काबेली करिडोरको करिब २ सय मेगावटका आयोजना आउट छन्। करिब ७ सय मेगावाट जलविद्युत् प्रणालीभन्दा बाहिर छ। त्यसबाट राजस्व संकलनमा ठूलो घाटा भएको छ। मर्मतको लागि प्राधिकरणले ठूलो रकम खर्च गर्नुपर्ने अवस्था छ। यति हुँदा पनि हामीलाई पुग्ने विद्युत् उत्पादन छ। तर तिहारको लागि हाम्रो उत्पादनले हामीलाई पुग्छ। अहिले पनि निर्यात गरिरहेका छौँ।’

तिहारको लक्ष्मीपूजाका दिन सबैभन्दा धेरै बिजुली खपत हुने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad