कारोबार


ऊर्जामन्त्री खड्काले सय दिनमा केके गरे?

ऊर्जामन्त्री खड्काले सय दिनमा केके गरे?

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १५:३९, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक कुमार खड्काले १०० दिने प्रगति सार्वजनिक गरेका छन्।

मन्त्री खड्काले  वर्तमान सरकार निर्माण भएको १०० दिनको अवधिमा मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१’ तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्‍मा पेस गरिएको  जनाए। 

 ऊर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न ४६ खर्बभन्दा बढी लागत लाग्ने बताए। उनले ऊर्जा मन्त्रालय सम्हालेको १०० दिनको अवधिमा देशभर परेको वर्षाका कारण ऊर्जा र सिँचाइ क्षेत्रमा ठूलो क्षति पुगे पनि वर्तमान सरकारको १०० दिनमा लक्षित क्रियाकलाप र अतिरिक्त क्रियाकलापतर्फ ९८ प्रतिशत लक्ष्य हासिल गरिएको उल्लेख  गरे। 

ऊर्जामन्त्री खड्काले १०० दिनको अवधिमा जल तथा मौसम विज्ञान नीति–२०८१  नेपाल सरकारबाट स्वीकृति भई कार्यान्वयनमा ल्याएको, जलस्रोत तथा सिँचाइ क्षेत्रमा अध्ययन अनुसन्धान कार्यका लागि मापदण्ड तयार गरी स्वीकृति गरिएको तथा निर्माण कार्यको मापदण्ड तयार गरी स्वीकृतिको लागि मन्त्रिपरिषद्‍मा पेस गरिएको बताए। 

वर्तमान सरकारको १०० दिनको अवधिमा गत असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभेलपमेन्ट बोर्ड एनटीपीसी विद्युत व्यापार निगम भारतबीच नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्ने सम्बन्धी त्रिपक्षीय विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएको मन्त्री खड्काले बताए। यस्तै, सोही अवधिमा सुख्खा यामको विद्युत मागलाई मध्यनजर गरी भारतसँग २३० मेगावाट विद्युत आयतका लागि सम्झौतासमेत गरिसकिएको छ । 

यसैगरी, २२०/१३२/३३ केभी चिलिमे हब जीआईएस सबस्टेशन र २२०/१३२/३३ केभी त्रिशूली हब हाईब्रिड जीआईएस सबस्टेसन गरी दुई सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउनुका साथै मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट बाह्रबिसे सवस्टेसनसम्मको चार किलोमिटर २२० केभी सिंगल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न भएको बताइएको छ । 

ढल्केवर–इनरुवा ४०० केभी प्रसारणलाइन र ढल्केवर–लोहरपट्टी  १३२ केभी प्रसारणलाइन एवम् १३२/३३/११ केभी सवस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको जनाएको छ। 

यसैगरी, रसुवा जिल्लास्थित १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, सिन्धुपाल्चोक जिल्लास्थित १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजना र रसुवास्थित ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा ल्याउन अन्तिम चरणमा रहेको बताइएको छ। 

यसैबीच, निजी क्षेत्रको लगानीमा ८८ मेगावाट जलविद्युत आयोजना सञ्चालनमा ल्याई राष्ट्रिय प्रसारण ग्रीडमा आबद्ध गरी विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ गरिएको बताइएको छ। 

सोही समयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत ३२.४ किलोवाट बराबर क्षमताको सौर्य खानेपानी तथा सिँचाइ पम्प जडान कार्य सम्पन्न भएको, केन्द्रमार्फत सुस्ता गाउँपालिकामा १०० किलोवाट क्षमताको सौर्य मिनीग्रिडबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रीडमा जडान गरी करिब ३०० घरधुरीमा विद्युत सेवा सञ्चालन कार्य सम्पन्न भएको छ । 

यस्तै, जलस्रोत तथा सिँचाइ विभागबाट यस अवधिमा सतह तथा भूमिगत सिँचाइमार्फत थप करीब २६६ हेक्टर जमिनमा सिंचीत क्षेत्र विस्तार, देशका विभिन्न नदी तथा खोलामा विभागबाट करिब ५ किलोमिटर तटबन्ध निर्माण कार्य सम्पन्न गरी करिब ४।५ हेक्टर जग्गा उकास भएको बताइएको छ । 

उक्त अवधिमा कैलालीमा अवस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट १४ हजार ३०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउनुका साथै ४.७१ मेगावाट क्षमताको विद्युत गृहसमेत सञ्चालनमा ल्याइएको मन्त्री खड्काले  बताए। 

सोही अवधिमा ९२ वटा जलविज्ञान केन्द्रको तथ्याङ्क प्रशोधन सम्पन्न गरी देशभर अतिजन्य मौसम र बाढीसम्बन्धी पूर्वसूचना प्रवाहको सहज उपलब्धता सुनिश्चित गर्दै तथ्यांकको गुणस्तरीयतामा उल्लेखनीय वृद्धि गरिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad