कारोबार


रतन टाटा : प्रेम अधूरै रहेपछि विवाह गरेनन्, व्यवसाय र परोपकारमा रमाएर ‘उपयोगी जीवन’ बिताए

रतन टाटा : प्रेम अधूरै रहेपछि विवाह गरेनन्, व्यवसाय र परोपकारमा रमाएर ‘उपयोगी जीवन’ बिताए

भारतीय उद्योगी तथा व्यवसायी रतन नेवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ


नेपालखबर
असोज २४, २०८१ बिहिबार १४:०, काठमाडौँ

चर्चित भारतीय उद्योगी तथा व्यवसायी रतन नेवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। सन् १९३७ डिसेम्बर २८ मा जन्मिएका उनको मुम्बईको ब्रिच क्यान्डी हस्पिटलमा गएराति निधन भएको हो।

उनी टाटा ग्रुपको होल्डिङ कम्पनी टाटा सन्सका पूर्वप्रमुख थिए। रतन टाटाले टाटा समूहको नेतृत्व लिएपछि विश्व व्यवसाय विस्तारमा भूमिका खेलेका थिए।

पछिल्लो समय उनी बुढ्यौली जीवन बिताइरहेका थिए। स्वर्गीय रतन टाटा भारतकै प्रभावशाली व्यवसायी थिए। १४८ वर्षको इतिहास बोकेको टाटा ग्रुपको अभिवृद्धिमा उनले उल्लेखनीय योगदान गरेका छन्।

यो ग्रुपले १ खर्ब अमेरिकी डलर बढीको आम्दानी गर्दै आएको छ। टाटा ग्रुपका मुख्य केही कम्पनीहरुमा टाटा स्टिल, टाटा मोटर्स, टाटा कन्सल्टेन्सी सर्भिस र टाटा कम्युनिकेसन्स रहेका छन्।

यो ग्रुपले २०२२ जनवरी २७ देखि भारतीय ध्वजावाहक एयर इन्डिया समेत खरिद गरी ग्राउन्डेड विमानलाई पुनः आकाश फर्काएको थियो।

त्यसलगत्तै ४७० वटा विमानको अर्डर मागेको थियो। यसले १०२ घरेलु तथा बाह्य गन्तव्यमा उडान भर्दै आएको छ। यसबाट ग्रुपले २०२४ मा मात्रै ३ खर्ब ८८ अर्ब १२ करोड भारु आम्दानी गरेको छ।

प्रेम अधूरै रह्यो, त्यसपछि गरेनन् विवाह
सन् १९६२ तिर रतन टाटाले कलेज सकेर अमेरिकी सहर लस एन्जलसमा जागिर गरिरहेका थिए। त्यही बेला उनी एक युवतीसँग प्रेममा परे। विवाह हुने पक्का भएपछि तयारी सुरु भयो। कार्ड समेत छापियो। 

तर भारतमा रहेकी हजुरआमाको खराब स्वास्थ्यका कारण रतन भारत जानुपर्ने भयो। उनी विवाह हुन लागेकी प्रेमिकालाई सँगै भारत ल्याउन चाहन्थे। केटीको परिवारले उचित ठानेन। 

त्यसपछि प्रेमसम्बन्ध अधूरै रहन पुग्यो। 

खर्बौँ सम्पत्तिका मालिक टाटाले विवाह नै गरेनन्। अर्थात् आजीवन अविवाहित रहे। उनलाई विवाहको लागि दबाब त आएकै थिए। उनी त्यसलाई ठाडै अस्वीकार गरेर बसे। 

टाटाले विवाह नगर्नुलाई कतिपयले आमा–बुवाको सम्बन्धसँग जोडेर हेर्ने गरेका छन्। उनका आमा–बुवाको वैवाहिक सम्बन्ध टुटेको थियो। त्यति बेला उनी १० वर्षको मात्र थिए। 

त्यसपछि उनको रेखदेखको सम्पूर्ण जिम्मेवारी उनको हजुरआमा नवजैबाईले नै लिइन्। नवजैबाईले नै रतनलाई हुर्काएकी थिइन्। त्यसैले हजुरआमाको लागि आफ्नी प्रेमिकालाई नै छाडिदिए। 

भुइँ पुछ्ने कामबाट सुरु भएको करिअर
टाटा ग्रुपको सुरूवात रतन टाटाका बुवा जमशेदजीले गरेका हुन्। जमशेदजीले सन् १८६८ मा पारिवारिक व्यवसाय सुरू गरेका थिए। त्यसपछि उनले एक कपडा मिल खोले जहाँ नियम तोड्दै श्रमिकहरूलाई पेन्सन र दुर्घटना क्षतिपूर्ति दिन थाले।

टाटा ग्रुपका कम्पनी सय बढी राष्ट्रहरूमा सञ्चालन भइरहेको छ। कम्पनीले ऊर्जा, अटोमोटिभ, इन्जिनियरिङ र सूचना प्रविधिलगायत समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ। 

रतन टाटाले सन् १९५९ मा अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट वास्तुकला र संरचनात्मक इन्जिनियरिङमा डिग्री गरेका छन्। सुख–सुविधामा हुर्किएका र पढाइको पृष्ठभूमि राम्रो भए पनि उनले आफ्नो करिअर टेल्को (अहिलेको टाटा मोटर्स)बाट सुरू गरे। उनले त्यहाँ भुइँ पुछ्ने काम थाले। त्यसपछि उनले टाटा स्टिलमा चुनढुंगा फाल्ने काम गरे।

रतन सन् १९८१ सम्ममा टाटाको अध्यक्ष भइसकेका थिए। उनी जेआरडीको उत्तराधिकारी भए र सन् १९९० देखि २०१२ सम्म टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सको अध्यक्ष भए र सन् २०१२ मा सेवानिवृत्त भए। 

अविवाहित टाटाको सम्पत्ति ३ वर्षअघि करिब २४२ बिलियन अमेरिकी डलर पुगेको थियो। उनका कम्पनीमा लाखौँले रोजगारी पाएका छन्। 

सार्वजनिक रूपमा सूचीबद्ध २९ वटा टाटा उद्यमहरु पुँजी बजारमा सूचीकृत छन्। स्वर्गीय रतन भारतीय उद्योगपति, परोपकारी र टाटा सन्सका पूर्वअध्यक्ष हुन्।

रतन सन् १९९० देखि २०१२ सम्म टाटा ग्रुपका अध्यक्ष थिए। त्यसपछि सन् २०१६ को अक्टोबरदेखि २०१७ को फेब्रुअरीसम्म अन्तरिम अध्यक्षको रूपमा कार्यरत थिए। त्यसयता भने उनी यसको परोपकारी ट्रस्टको नेतृत्व गरिरहेका थिए। 

रतनको कार्यकालमा टाटा ग्रुपको राजस्व वार्षिक १ सय बिलियन अमेरिकी डलर बढी भएको थियो। 

पुराना कम्पनी किने, जीवनदान दिए
टाटा ग्रुपको विशेषता भनेको यसले कम्पनीहरू खरिद गर्दै त्यसलाई रूपान्तरण गर्नु रहयो। रतनको नेतृत्वमा टाटा ग्रुपले उल्लेखनीय रूपमा सुधार गरेको थियो। टाटा ग्रुपले सन् २००० मा चिया कम्पनी टेट्ली, सन् २००७ मा एङ्गलो–डच कोरस ग्रुप र सन् २००८ मा ज्यागवार ल्यान्ड रोवर खरिद गरेको थियो।

टाटाले चिया कम्पनी ४०७ मिलियन अमेरिकी डलरमा, एङ्गलो–डच कोरस ग्रुप १२ बिलियन अमेरिकी डलरमा र ज्यागवार ल्यान्डरोवर २.३ बिलियन अमेरिकी डलरमा खरिद गरेको थियो।

२ वर्षअघि मात्रै टाटाले भारतीय सरकारको स्वामित्वमा रहेको एयर इन्डिया किनेको थियो। टाटा सन्सका पूर्वअध्यक्ष रतन टाटाको लागि एयरलाइन्सको पुनरागमन महत्वपूर्ण थियो।

एयर इन्डियाको स्थापना सन् १९३२ मा जहांगीर रतनजी दादाभाइ टाटा (जेआरडी)ले गरेका थिए। त्यतिबेला उनले टाटा एयरलाइन्सको नामबाट विमान कम्पनीको स्थापना गरेका थिए।

सरकारले लिएको एयरलाइन्स कम्पनीले कोरोना महामारीको समयमा ठूलो घाटा व्यहोर्नुपरेपछि टाटा सन्सले त्यसलाई पुनः खरिद गरेको थियो। टाटा सन्सले १८० बिलियन भारूमा यो एयरलाइन्स किनेको हो।

जीवनभर दिन मात्रै जानेका व्यवसायी 
रतनले उद्योगीसँगै परोपकारिताको परिचय बनाए। ८६ वर्षमा निधन भएका उनले आफ्नो जीवनको अधिकांश समय टाटा कम्पनीको लागि समर्पित गरे। मानिसको जीवन र दैनिकी सुधारमा उनको लगाव रह्यो। रतनका बाबु जमशेदले पारिवारिक कम्पनी स्थापना गरे पनि त्यसबाट कमाएको अधिकांश हिस्सा टाटा ट्रस्टहरूलाई दान गरेका थिए। अहिले पनि टाटा सन्सको इक्विटीको ६६ प्रतिशत टाटा ट्रस्टको स्वामित्वमा छ।

टाटा ट्रस्टले विभिन्न देशहरूमा प्राविधिक केन्द्रहरूको निर्माणदेखि विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। टाटाले गुगल, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र अन्य सरकारी एजेन्सीहरूसँग समेत साझेदारीमा काम गरिरहेको छ।  

टाटा ट्रस्टले खेलकुदमा इच्छुक बालबालिकाहरूलाई आवश्यक स्रोत र शिक्षा उपलब्ध गराएको छ। महामारीका बेला कोभिडविरुद्ध लड्न टाटा ट्रस्टले १५ बिलियन भारु अर्थात् २०१ मिलियन अमेरिकी डलर दान गरेको थियो।  

‘कुनै समय पसलको भुइँ सफा गर्ने काम गर्थेँ। त्यसबेला मैले कम भाग्यमानी मानिसहरूको दुःख र कठिनाइलाई नजिकबाट नियाल्ने मौका पाएँ’, रतन टाटाले भन्थे, ‘मानिसको जीवनलाई सुधार गर्नमा आफूलाई समर्पित गर्दै छु।’

टाटा पशु कल्याणको काममा पनि उत्तिकै सक्रिय रहे। 

‘जनावरहरूले पनि निकै दुःख भोग्नुपर्छ। तीमध्ये जनावरलाई मानिसले बाटोमै छाडेको देख्दा मेरो मुटु साँच्चै टुट्छ’, उनी भन्थे।

शिक्षकले देखेका थिए रतनको चम्किलो भविष्य
सन् १९५५ तिरको कुरा हो, रतन टाटा त्यसबेला न्युयोर्कस्थित रिभरडेल कन्ट्री स्कुलमा अध्ययनरत थिए। उनले त्यहीँबाट आफ्नो स्नातक पनि सकाए। 

रतनको स्कुलमा वार्षिक पुस्तक छापिन्थ्यो, जसमा शिक्षकहरूले विद्यार्थीहरूबारे केही लेख्थे। सोही वर्ष रतनबारे पनि लेखिएको थियो। उनको स्वभाव र व्यवहारबारे त्यो वार्षिक किताबमा लेखिएको थियो, ‘रतनको मनमोहक र नम्र चरित्रले उनलाई सफलता दिलाउने निश्चित छ। यदि उसले यो चरित्र र विद्यालाई पूर्ण विकास गरिरह्यो भने हामीलाई पूरा विश्वास छ उसको जीवन निकै सम्पन्न र उपयोगी हुनेछ।’ 

त्यो किताबमा उनको उपस्थिति, बानी–व्यवहार र सपनाबारे पनि लेखिएको थियो। रतनबारे जे लेखिएको थियो, त्यो पढ्दा यस्तो लाग्छ कि उनी किशोरावस्थामा निकै प्रभावशाली छात्र थिए। तर रतनले आफ्नो राष्ट्र र महादेशमा उनको जुन प्रभाव जमाए, त्यसबेला यस्तो प्रभावशाली हुन्छन् भन्ने कसैले सोचेकै थिएन होला। 

रतनले संसारको सबैभन्दा शक्तिशाली र गतिशील कम्पनीमध्ये एउटा कम्पनी, टाटाको विस्तार मात्र गरेनन् उनले आफ्नो परोपकारी भाव र कार्यहरूमार्फत लाखौं भारतीयहरूको जीवनमा सकारात्मक प्रभाव पारेका छन्।

टाटाको जीवन हेर्दा, रिभरडेल कन्ट्री स्कुलमा हुँदा छापिएको वार्षिक पुस्तकमा उनको बारेमा जे लेखिएको थियो, त्यो पक्कै पनि सही प्रमाणित भएको छ। उनले एक ‘उपयोगी जीवन’ बिताए र संसारबाट विदा भए। एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad