नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सीआईपी सम्मान (व्यवसायिक महत्त्वपूर्ण व्यक्ति) गर्ने निश्चित मिति घोषणा गर्न माग गरेका छन्।
शुक्रबार नेपाल सिमेन्ट उत्पादक संघको नवनिर्वाचित कार्यकारी समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
सीआईपी जारी गर्ने निश्चित मिति घोषणा गर्नसके धेरै निर्यात गर्ने, धेरै कर तिर्ने, धेरै भन्दा धेरै रोजगारी दिने र व्यवसायीलाई पनि सक्षम बनाउने काम हुने उनले बताए।
‘श्रीमान् सचिवज्यु वास्तवमा यो सीआईपीको डेट फिक्स गरौँ। यो दिन नेपाल सरकारले सीआईपी दिन्छ भनेर एउटा पब्लिक डेट घोषणा गरौँ। यसले धेरै निर्यात गर्ने, धेरै कर तिर्ने, धेरै भन्दा धेरै रोजगारी दिने व्यवसायीलाई इन्करेज गर्नेछ। जसले समग्रमा सकारात्मक वातावरण बनाउनेछ,’ उनले भने।
नेपाल सरकारका कतिपय नीतिहरूको कारणबाट उद्योगी, व्यवसायीहरूले दुःख पाइरहेको बताउँदै ढकालले आवश्यक भएको ठाउँमा नीतिहरु परिवर्तन गरी समय सापेक्ष बनाउन माग गरे।
दुई ठूला राजनीतिक दलहरू मिलेर बनेको सरकारपछि निजी क्षेत्रले लगानी गर्ने मनोबल बढाएको उनको भनाइ थियो।
‘वास्तवमा नेपाल सरकारका कतिपय नीतिहरुको कारणबाट कतिपय, सरकारको रेभिन्यु खर्च नगरीकन सरकारको तर्फबाट गर्ने केही सरकारी खर्च नगरीकन गर्ने निर्णयहरुले धेरै काम गर्छ भन्नेकुरा राख्न चाहन्छु,’ ढकालले भने, ‘माननीय मन्त्रीज्युले निजी क्षेत्रले गरेको, निजी क्षेत्रले रोजगारी सिर्जना, रेभिन्युमा सहयोग गरेको र निजी क्षेत्रलाई सँगै लिएर निजी क्षेत्रको मनोबल बढाउने कुरामा माननीय मन्त्रीज्युले जुन इन्करेज गर्नुभयो। त्यसको लागि मन्त्रीज्यु र सरकारलाई धेरै धन्यवाद दिन चाहन्छु।’
Shares

प्रतिक्रिया