ad ad

कारोबार


सेयरमा कीर्तिमानी साता : सवा खर्बको कारोबार, २३४ अंकको वृद्धि

सेयरमा कीर्तिमानी साता : सवा खर्बको कारोबार, २३४ अंकको वृद्धि

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १८:२, काठमाडौँ

यो हप्ता सेयरबजारमा २३४ अंकको वृद्धि देखिएको छ भने हप्तैभर कारोबारमा नयाँ रेकर्ड बनेका छन्।

साताको पहिलो दिन आइतबार २७६६ अंकबाट खुलेको बजार अन्तिम दिन बिहीबार ३ हजार अंकमा बन्द भयो। 

अघिल्लो पटकको बुल (२०७८ भदौ ३ गते ) मा ३२२८ को अलटाइम हाइ रेकर्ड राखेको नेप्सेले त्यसयता सो रेकर्ड तोड्न सकेको छैन। यद्यपि, करिब ३ वर्षपछि नेप्से सूचक अलटाइम हाइनजिक आइपुगेको छ। यो साता बजारमा नेप्से सूचकले ३ हजारको यात्रा सुरु गरेको छ। 

कारोबार अंकका हिसाबले सेयर बजारले अभूतपूर्व उचाइ छोएको छ। हप्तामा ५ दिन कारोबार हुँदा कुल १ खर्ब २५ अर्ब ६५ करोड ८३ लाखभन्दा बढी रूपैयाँको सेयर किनबेच भएको छ। दैनिक औसत २५ अर्बको कारोबार भएको छ।

अघिल्लो साता ४ दिन बजार खुल्दा ८२ अर्ब ७१ करोडको सेयर किनबेच भएको थियो। त्यस हप्ता दैनिक औसत कारोबार २० अर्बमाथि थियो। 

यो हप्ताभर ५ कारोबार दिनमध्ये ४ कारोबार दिन सूचक बढेर बजार हरियो बन्दा एक दिन भने बजार राताम्मे बन्न पुग्यो। यी कारोबार दिनहरुमा सूचकमा उतारचढाव देखिए पनि कारोबारमा भने हप्तैभर लगानीकर्ता हौसिरहे। 

हप्ताको पहिलो दिन आइतबार सूचक ९४.४६ अंकले बढ्दा २५ अर्ब ३३ करोडको कारोबार हुनपुग्यो। त्यस्तै सोमबार पनि ७० अंकले नेप्से बढ्दा सो दिन कारोबार रकम २६ अर्ब ८० करोड रुपैयाँमा पुग्यो।

मंगलबार भने बजारमा करेक्सन देखियो। यो दिन लगानकर्ता नाफा निकाल्न व्यस्त देखिँदा सूचक ८ अंकले घट्यो र काराेबार पनि घटेर २१ अर्ब ३ करोड रुपैयाँको हुन पुग्यो। सूचक घटेर बजार राताम्मे बनेपछि लगानीकर्ता नाफा निकाल्न र केही लगानीकर्ता होल्ड गर्नेतिर लाग्दा बजारमा काराेबार रकममा कमी आएको थियो। 

तर त्यसको भोलिपल्टै बजारमा देखिएको वृद्धिले सूचकले अघिल्लो पटकको बुल रेकर्ड तोड्नेमा लगानीकर्ता विश्वस्त रहेको देखाउँछ। 

मंगलबार एकल अंकले नेप्से घटे पनि बुधबार  खरिदकर्ता बढ्दा सूचक ३४ अंकले बढ्नुका साथै कारोबार पनि २३ अर्ब १६ करोड रुपैयाँको हुन पुग्यो।

साताको अन्तिम दिन बिहीबार पनि लगानीकर्ता सेयर खरिदमै झुम्मिन पुग्दा सूचकसँगै कारोबारले पनि छलाङ मार्‍यो।

यो दिन सूचक ४३ अंकले बढ्दा कारोबार रकमले २९ अर्ब ९५ करोडको नयाँ रेकर्ड राख्यो। यो नै सेयरबजारको इतिहासमा सबैभन्दा धेरै कारोबार भएको दिन हो। 

यसले लगानीकर्तामा बजार बढ्ने मनोविज्ञान बलियो भएको देखाउँछ। सूचकले अघिल्लो बुल पछ्याइरहँदा सेयर खरिदचाप पनि उल्लेख्य बढेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .