ad ad

कारोबार


नयाँ सत्ता समीकरणको प्रभाव सेयरबजारमा, यसकारण अन्त्यतिर संयमित बने सुरुमा हौसिएका लगानीकर्ता

नयाँ सत्ता समीकरणको प्रभाव सेयरबजारमा, यसकारण अन्त्यतिर संयमित बने सुरुमा हौसिएका लगानीकर्ता

सम्झना घिमिरे
असार १८, २०८१ मंगलबार १५:५३, काठमाडौँ

नयाँ सत्ता समीकरणको खबरसँगै आज दिनभर सेयरबजार उथलपुथल भयो। जब जब सत्ता परिवर्तनको चहलपहल बढ्छ तब नेप्सेमा कि नकारात्मक सर्किट लाग्ने गर्छ कि त सकारात्मक।

सेयरबजारले माओवादी सरकारलाई खासै नरुचाए पनि एमालेको सरकारलाई भने उत्साहित भएरै स्वागत गर्ने गरेको विगतका कारोबारमा देखिन्छ। मंगलबार पनि यस्तै दृश्य देखियो।

सोमबार मध्यराति भएको नयाँ ‘राजनीतिक सहमति’बाट माओवादी सरकार ढल्नेसँगै कांग्रेस र एमालेको गठबन्धन सरकार बन्ने पक्कापक्की भएका समाचार बाहिर आए। 

सेयरबजार खुल्नुपूर्व नै आएका समाचारलाई आकलन गरेर लगानीकर्ताले बजार खुल्नुपूर्वको प्रि–ओपन सेसनमै सेयर डिमान्डलाई बढाउन पुगे। एमालेको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल बन्नसक्ने सम्भावनालाई आधार मान्दै बजारमा लगानीकर्ता हुत्तिएका थिए। 

फलस्वरुप प्रि–ओपन सेसनमै नेप्से सूचक १६ अंकले बढ्न पुग्यो। समग्रमा बजार खुलेको एक मिनेटमै लगानीकर्ता खरिदमा जोड दिँदा नेप्से सूचक ३१ अंकले मात्र बढेन, ४ प्रतिशतको उच्चतम वृद्धिसहित सर्किट ब्रेक नै लगाउनुपर्‍यो। 

सत्ता समीकरणको सूचनालाई लिएर उत्साहित बनेका लगानीकर्ताले एक मिनेटमा ३१ अंकले बजार उचाले। नेप्सेले बजार असामान्य रुपमा तीव्र बढेमा बजारलाई संयमित बनाउन सर्किट ब्रेकरको व्यवस्था गरेको छ। जहाँ लगानीकर्ता आक्रामक बनेर फस्न नपरोस् भन्ने नेप्सेको उद्देश्य हो। सोहीअनुसार पहिलो २० मिनेटको ब्रेकपछि दोस्रो पटक खुलेको बजारमा पनि लगानीकर्ताको विश्वास विष्णु पौडेल आउनेमा थियो।

तर जसै माओवादीको सचिवालय बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री पदबाट राजीनामा नदिने समाचार बाहिरियो, लगानीकर्ताको मनोबल पनि खस्किन पुगेको लगानीकर्ताहरु बताउँछन्।

सेयरबजारका लगानीकर्ता छोटेलाल रौनियार प्रधानमन्त्री दाहालले राजीनामा नदिने भन्ने समाचार फैलिँदा विष्णु पौडेलको इन्ट्रीलाई लिएर विश्वस्त नहुँदा त्यसको असर बजारमा परेको बताउँछन्। 

उनी भन्छन्, ‘१२ बजेभन्दा अगाडिसम्म लगानीकर्तामा पौडेल अर्थमन्त्री हुने विश्वास बलियो भएको थियो। यसकारण पनि उनीहरुले बजारमा डिमान्ड बढाएका थिए तर प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि लगानीकर्ता हच्किए। अन्ततः त्यसको असर सूचकमा देखिएको हो।’ 

मंगलबार कारोबार खुलेको १ घण्टामै ५ प्रतिशतले नेप्से सूचक बढेको थियो। यो बीचमा १०८ अंकसम्मले बढेको नेप्से त्यसपछि भने बढ्न सकेन। दुई पटकसम्म लगातार सकारात्मक सर्किट लागेको बजारमा तेस्रो पटक भने सर्किट लाग्न पाएन। फलतः ५ प्रतिशतको वृद्धिसँगै नेप्सेको वृद्धिदर निरन्तर ओरालो लाग्यो। 

यो बीचमा झण्डै १०८ अंकले बढेको सूचक १२ बजेर १० मिनेट गएपछि भने ७३ अंकले घटेर २०८९ अंकमा आइपुग्यो। बजारमा विष्णु पौडेल अर्थमन्त्री हुने नहुने आशंकाका बीच लगानीकर्ताले एक घण्टापछि नै लगानीको रणनीति फेर्दा सूचकमा गिरावट आइपुगेको लगानीकर्ता रौनियाको तर्क छ। 

१२ बजेपछि संयम बनेको बजारमा नेप्से सूचक सामान्य उतारचढावका बीच ४७.०४ अंकका साथ बन्द हुन पुग्यो। मंगलबार २.२९ प्रतिशतको वृद्धिसहित २१००.४३ अंकमा पुगेर नेप्से बन्द भएको छ।  

उथलपुथलका बीच पनि आज बजारले दोहोरो अंकको वृद्धिसहित बिट मारेको हो। जसमा २२७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७ वटा कम्पनीको भने घटेको हो। 

आज हिमालयन डिस्टिलरीले ८.५४ प्रतिशतले सेयरमूल्य बढाउँदा समाज लघुवित्तले ६.९६ प्रतिशत, गुडविल फाइनान्सले ५.७४ प्रतिशतले सेयरमूल्य बढाएका हुन्। सर्किट लाग्दै गर्दा १० प्रतिशतको वृद्धि गर्ने कम्पनीहरु त्यसपछि भने आरालो लागे। 

मूल्य घट्नेमा उपकार लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीसहित १५ वटा कम्पनी छन्। 

समग्रमा सूचकको आधारमा भने आज सबै उपसमूह सूचक बढेका छन्। यद्यपि आज बैंकले ‘लिड’ गरेको हो। बैकिङ र उत्पादनमूलक समूहको आज ३.०३ प्रतिशतले बढ्दा विकास बैंक, फाइनान्स, लगानी, जीवन बीमालगायतका समूहको २ प्रतिशतभन्दा धेरैले सूचक बढेको छ।

कारोबारमा भने आज एनआरएन इन्फ्रास्ट्रक्चर विकास बैंक अगाडि छ। यो कम्पनीको १२ करोड बराबरको सेयर कारोबार भएको छ। समग्रमा आज ४ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको छ। 

सोमबार १६.२९ अंकले बढेको बजारमा २ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .