ad ad

कारोबार


उद्योग विभाग धाउने विदेशी लगानीकर्ता घटे, अटोमेटिक रुटबाटै डेढ महिनामा १० अर्ब स्वीकृत

उद्योग विभाग धाउने विदेशी लगानीकर्ता घटे, अटोमेटिक रुटबाटै डेढ महिनामा १० अर्ब स्वीकृत

वसन्त अर्याल
जेठ २८, २०८१ सोमबार २०:१३, काठमाडौँ

उद्योग विभागले विकास गरेको स्वचालित मार्ग (अटोमेटिक रुट)ले विदेशी लगानीकर्तालाई सहज भएको छ। 

अटोमेटिक रुट सञ्चालनमा आएको डेढ महिनामै करिब १० अर्ब रुपैयाँको लगानी स्वीकृत भएको हो। 

उद्योग विभागले वैशाख १७ गते स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृत हुने गरी प्रणाली सञ्चालनमा ल्याएको थियो। 

स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्मका उद्योगले दर्ता गर्न पाउँछन्। जेठ २६ गतेसम्म ७९ उद्योगको वैदेशिक लगानी स्वीकृत भएको विभागले जनाएको छ। जसमा कुल ९ अर्ब ९३ करोड रुपैयाँ स्वीकृत भएको छ। 

‘विदेशी लगानी भित्र्याउनेलाई झन्झटमुक्त बनाउन स्वचालित मार्ग सञ्चालनमा ल्याइएको हो’, उद्योग विभागका महानिर्देशक यज्ञराज कोइरालाले भने, ‘अटोमेटिक रुटबाट लगानी स्वीकृति बढ्दो छ।’

दर्ता हुनेमा पर्यटन क्षेत्रका उद्योग बढी छन्। ४१ वटा पर्यटनसम्बन्धी उद्योगले ५ अर्ब ५० करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको छ। 

त्यस्तै सेवा क्षेत्रका २१ उद्योगको ३ अर्ब ८४ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ। उत्पादनमूलक उद्योग ३ वटा मात्रै दर्ता भएका छन्। जसका लागि २६ करोड लगानी स्वीकृत भएको छ। 

सूचना प्रविधि क्षेत्रमा १३ वटा उद्योगमा वैदेशिक लगानी स्वीकृत भएको छ। लगानी सम्मेलनको समयमा सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीको सीमा हटाएसँगै साना उद्योग दर्ता हुन आएको विभागले जनाएको छ।  

कृषि तथा वनसम्बन्धी एउटा उद्योग दर्ता भएको छ। उक्त उद्योगले ४ करोड वैदेशिक लगानी भित्र्याउने प्रतिबद्धता जनाएको छ। 

वैशाखमा स्वचालित मार्गबाट २१ वटा उद्योगको लगानी स्वीकृत भएको थियो। जसमा २ अर्ब १५ करोड रुपैयाँ स्वीकृत भयो। अन्य उद्योगबाट वैशाखमा ११ अर्ब २८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। साउनदेखि वैशाखसम्म ४३ अर्ब ५३ करोड रुपैयाँ स्वीकृत भएको छ। 

स्वचालित प्रणाली सञ्चालनमा आएसँगै लगानीकर्ता र उद्योग विभागका कर्मचारीलाई कामको भार कम भएको विभागका अधिकारी बताउँछन्। 

उद्योग विभाग

धेरै निकायमा धाउनुपर्दैन, सिस्टमबाटै विदेशी लगानी स्वीकृत हुन्छ
विभागमा दर्ता हुने विदेशी लगानीका उद्योगमा अटोमेटिक रुटबाटै लगानी स्वीकृति बढेको छ।

एउटा उद्योग दर्ता गर्नकै लागि राष्ट्र बैंक, कम्पनी रजिस्ट्रार कार्यालय, उद्योग विभागलगायतका निकायमा धाउनुपर्ने  बाध्यता थियो। यसअघि नै विभागले एकल विन्दु सेवा केन्द्र स्थापना गरे पनि प्रभावकारी हुनसकेको छैन। 

‘एकल विन्दु सेवा केन्द्रबाट अनलाइनबाटै डकुमेन्ट भरिन्छ। सम्बन्धित कर्मचारीले हेरेर मात्रै लगानी स्वीकृत हुन्छ’, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकर सिंह धामी भन्छन्, ‘अटोमेटिक रुटमा लगानीकर्ताले हालेको डकुमेन्ट सफ्टवेयरले स्क्रिनिङ गरी वैदेशिक लगानी स्वीकृत हुन्छ।’

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७९ को पहिलो संशोधनबाट  स्वचालित मार्ग (अटोमेटिक रुट)बाट सेवा प्रदान गर्न सकिने व्यवस्था गरेको थियो। 

उद्योग विभागले ऐन तथा नियमावलीबमोजिम लगानीको स्वीकृतिको लागि पेस गर्नुपर्ने विवरण तथा कागजात विद्युतीय प्रणालीबाट पेस गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको छ। लगानीकर्ताले विभागको सिस्टम लग इन गरी आफ्ना विवरण भर्न सक्छन्। 

उद्योग विभागले लगानीकर्ताले भरेको इमेल ठेगानामा आवेदन नम्बरसहितको लगानी स्वीकृत भएको जानकारी दिन्छ।

वैशाख ७ गते राजपत्रमा प्रकाशित नियमावलीले शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापन गर्न वा विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेका कम्पनीको तत्काल कायम रहेको विदेशी लगानीकर्ताले कम्पनीको पुँजीवृद्धि गर्नसक्ने व्यवस्था गरेको छ। 

‘अटोमेटिक रुटबाट नयाँ उद्योग दर्ता र पुँजी वृद्धि दुवै काम हुन्छ’, निर्देशक धामी भन्छन्, ‘नयाँ उद्योग अटोमेटिक सिस्टमबाट दर्ता हुने बढी छन्। जेठ २७ गतेसम्म पुँजी वृद्धि २ वटा कम्पनीले उक्त रुटबाट गरेका छन्।’ 

विद्युतीय प्रणालीमा विदेशी लगानी स्वीकृतिको लागि आवश्यक विवरण तथा कागजात प्रविष्टि गरेपछि त्यस्तो लगानी स्वीकृतिको लागि विद्युतीय प्रणालीमा पेस गर्नुभन्दा पहिलो सम्बन्धित विदेशी लगानीकर्ताले भरेका विवरण तथा कागजात जाँच गर्न वा सच्याउन समेत सक्छन्। 

‘जेठ २७ गतेसम्म ८२ वटा साना उद्योगको वैदेशिक लगानी स्वीकृत भएको छ’, धामी भन्छन्, ‘अटोमेटिक रुटबाट मझौला उद्योग पनि दर्ता हुन सक्छन् तर अहिले साना उद्योग मात्रै दर्ता भएका छन्।’ 

वैशाख मसान्तसम्मको तथ्यांकअनुसार उद्योग विभागमा ३२४ उद्योग दर्ता मध्ये २५० साना उद्योग मात्रै रहेका छन्। मझौला ३४ र ठूला उद्योग ४० वटा दर्ता भएका छन्। सबैभन्दा बढी दर्ता हुने उद्योग अटोमेटिक रुटबाट हुँदा लगानीकर्तालाई छिटो र सहज हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .