ad ad

कारोबार


अर्थमन्त्रीलाई गगन थापाको व्यंग्य : ६ महिनापछि आफैंले काँध थाप्नुपर्ला, धेरै प्रश्न गर्दिन

अर्थमन्त्रीलाई गगन थापाको व्यंग्य : ६ महिनापछि आफैंले काँध थाप्नुपर्ला, धेरै प्रश्न गर्दिन

नेपालखबर
जेठ २३, २०८१ बुधबार १५:२८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले बजेटमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यको आधार नभएको बताएका छन्।

बुधवारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले अर्थमन्त्री वर्षमान पुनले ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर गरेको दाबीको आधार माग गरे।

उनले भने, ‘अर्थमन्त्रीज्युले यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्नेकुराको प्रक्षेपणको दाबी गर्नुभएको छ। अघिल्लो वर्ष पनि ठिक त्यस्तै दाबी थियो। ४ प्रतिशतको भन्दा कम रह्यो। यो वर्ष हाम्रा विकास साझेदार, चाहे एशियाली विकास बैंक होस्, चाहे आइएमएफ होस् कसैल ४ भनिरहेको ठाउँमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर जुन दाबी गर्नुभएको छ। यसको आधार के हो?’

उनले मौसमको अनुमानको आधारमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुन्छ भन्नेकुराको स्पष्ट जवाफ अर्थमन्त्रीले दिनुपर्ने बताए।

उनले संसदमा धेरै उथलपुथल भएको भन्दै ६/८ महिनापछि आर्फैँले काँध हाल्नुपर्ने हुनसक्ने टिप्पणी गर्दै बजेटबारे अर्थमन्त्रीलाई प्रश्न मात्रै गर्दा जोगिने अवस्था नरहेको बताए।

उनले भने, ‘यति धेरै उथलपुथल भएको यो संसदमा ६/८ महिनापछि यो बजेट आफैँले काँध हाल्नुपर्ने पो हो की। आफ्नै बोली फेरि गलपासो हुने हो की। मैले बोल्ने तयारी गर्दा अर्थमन्त्रीज्युलाई सामान्य प्रश्न सोध्ने कुरा सोचेँ।’

महामन्त्री थापाले बजेटमा राजश्वको अनुमान १४ खर्ब १९ अर्ब राखिएको र लिएको लक्ष्य सबैभन्दा उच्चवृद्धि हुनुपर्ने बताए। करिब ३४ प्रतिशत वृद्धि भएमात्रै सरकारले लिएको लक्ष्य भेटिने जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .