कारोबार


नेपाल–चीन व्यापार खुलाउन चार सचिव छलफलमा

नेपाल–चीन व्यापार खुलाउन चार सचिव छलफलमा

नेपालखबर
फागुन १२, २०७६ सोमबार ५:५२,

करिब एक महिनायता बन्द नेपाल–चीन नाका खुलाउनेबारे सरकारले पहल गर्ने भएको छ। चीनबाट चेकजाँच राम्रो भएको खण्डमा नाका खोल्न सकिने संकेत पाएपछि वाणिज्य, अर्थ, गृह र स्वास्थ्यसचिव छलफलमा जुटेका हुन्।

माघ १४ गतेदेखि कोरोना भाइरस संक्रमणको त्रासमा पूर्णरुपमा नाका बन्द गरिएपछि आयातनिर्यात ठप्पप्रायः छ। यसको नराम्रो असर देखिनथालेपछि सरकारले पहलकदमी सुरु गरेको हो।

नाकाबन्दीले नेपाल–चीन व्यापार प्रभावित हुँदा त्यसको सिधा असर उपभोक्तालाई परेको छ। चीनबाट आउने सामान बन्द भएपछि उपभोक्ता महंगीको मारमा पर्न थालेका छन्।

व्यापार खुलाउने उपाय खोज्दै आजदेखि छलफल सुरु भएकोे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

चिनियाँ पक्षले समेत चेकजाँच राम्रो गर्न सके व्यापारलाई निरन्तरता दिन सकिने संकेत दिएको मन्त्रालय स्रोतले जनाएको छ। चीनबाट ग्रिनसिग्नल आएपछि नेपाली पक्षले नाका खुलाउन गृहकार्य गरेका हुन्। वाणिज्य सचिव, अर्थसचिव, गृहसचिव र स्वास्थ्य सचिवले औपचारिक छलफल गरिरहेको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ।

‘यसबारे केही निर्णय नै गर्ने गरी सचिवज्यूहरुको औपचारिक बैठक समेत भइसकेको छ’, वाणिज्य मन्त्रालयका एक अधिकारीले भने।

उनका अनुसार आज चार सचिवबीच बैठक तय भएको छ। उनले भने, ‘सोहीअनुसार अहिले छलफल भइरहेको छ। आजको छलफलले चार सचिवको बैठकले कहिलेदेखि र सरकारी नाका सञ्चालन गर्ने भन्ने तय गर्नेछ।

नेपाल–चीन व्यापार रोकिँदा आयात गर्न लागेको करिब चार सय कन्टेनर सामान चीनमा नै रोकिएको छ। कन्टेनरका केही सामान बिग्रिन समेत लागेको हिमालपारि व्यापार संघका अध्यक्ष बच्चु पौडेलले नेपालखबरलाई जानकारी दिए।

पौडेलका अनुसार नेपालबाट निर्यात हुने सामानभन्दा आयात हुने सामान करिब ४ गुणाभन्दा बढी छ। आयात हुने वस्तुहरुमा स्याउ, लसुन प्याज, लत्ताकपडा, इलेक्ट्रोनिक्सका सामानहरु बढी मात्रामा आयात हुन्छन्। निर्यात हुने वस्तुहरुमा भने चिया, घ्यू, जडीबुटी, पश्मिना, अगरबत्तीजस्ता वस्तुहरु निर्यात हुन्छन्।

निर्यात हुने सामानहरुले व्यवसायीहरुलाई धेरै घाटा परिरहेको छ। तर आयात हुने वस्तु रोकिँदा व्यापारीदेखि उपभोक्तासम्म असर पर्न थालेको उनको भनाइ छ। नेपालमा गर्मी बढ्न थालिसकेको छ। गर्मीका सबै कपडाहरु चीनबाट नै आउने गर्छन्। तर भाइरस प्रकोपका कारण नाका बन्द हुँदा कपडाहरु नेपाल भित्रिन पाएका छैनन्।

पौडेलले भने, ‘नेपाली बजार गर्मीको कपडा नै नपाउने स्थितिमा पुगेको छ। पाए पनि महंगो मूल्य पर्न थालिसकेको छ।’

चालू आर्थिक वर्षको ६ महिनाको तथ्याङ्क हेर्दा एक अर्ब १ करोड ६० लाख रुपैयाँको सामान नेपालबाट चीनतर्फ निर्यात भएको छ। त्यस्तै, चीनबाट हुने आयात १२ दशमलव १ प्रतिशतले बढेर १ खर्ब १ अर्ब २५ करोड २० लाख रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad