आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटपछिको पहिलो सेयर कारोबारमा लगानीकर्ता झुम्मिएका छन्।
बुधबार प्रिओपन सेसनमा नै २० अंकले बढेको नेप्सेले कारोबार सुरु भएपछि पनि निरन्तरता पाएको हो।
कारोबारको पहिलो घण्टा अर्थात् १२ बज्नु अघिसम्म नेप्से ७.२१ अंकले बढ्दा कारोबार रकम १ अर्ब नाघेको छ भने १२६ कम्पनीको सेयर मूल्य बढिसकेको छ। तीमध्ये युनिलिभर नेपाल र कालिञ्चोक दर्शनको सेयरमा सकारात्मक सर्किट लागेको छ।
बजेटले सेयरबजारलाई सहयोग पुग्ने ७ वटा व्यवस्था गरेको थियो। जसमा ठूला पुँजी भएका कम्पनीहरु अनिवार्य रुपमा धितपत्र बजारमा सूचीकृत भई आईपीओ निष्काशन गर्नुपर्ने, विद्युत् प्रसारणलाइनका जग्गाधनीलाई आयोजनाबाट प्रभावित नागरिकसरह नै सेयर दिनुपर्ने, गैरआवासीय नागरिक (एनआरएन) डेभलपमेन्ट फण्डको उपयोग गरी लगानीलाई थप प्रोत्साहन गर्ने, नेपाल स्टक एक्स्चेन्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पुनर्संरचना गरिने व्यवस्था गरेको छ।
योसँगै पुँजीबजार क्षेत्र र लगानीकर्ताको संरक्षणका लागि धितोपत्र बोर्डको संस्थागत क्षमता विस्तार गर्ने कमोडिटी एक्सचेन्स सञ्चालनका लागि कानुनी व्यवस्था गर्ने लगायतको व्यवस्था बजेटमा गरिएको छ।
गत वर्षहरुको बजेटमा जस्तै यस वर्ष पनि पुरानै व्यवस्थाहरु बजेटले दोहो¥याएको छ। यद्यपि लाभकर बढाउन सक्ने त्रासमा रहेका लगानीकर्तालाई बजेटले केही राहत भने दिएको छ। लाभकर बढाउन सक्ने हल्लाका बीच लगानीकर्ताका ८ वटा संगठनहरुले संयुक्त रुपमा लाभकरमा लाग्दै आएको करलाई घटाउँदै त्यसलाई नै अन्तिम करको रुपमा मान्ने व्यवस्था गर्न अर्थमन्त्रीलाई आग्रह गरेका थिए।
गत आर्थिक वर्षको बजेटले एक वर्षभन्दा कम अवधिमा खरिदबिक्री गर्दा ७ प्रतिशत र एक वर्षभन्दा बढीको हकमा ५ प्रतिशत लाभकर लाग्ने व्यवस्था गरेको थियो। त्यसपश्चात् लगानीकर्ताहरुले ७ प्रतिशतलाई ५ प्रतिशतमा र ५ प्रतिशतको लाभकरलाई ३ प्रतिशतमा झार्नुपर्ने माग राख्दै आएका थिए।
आगामी वर्षको बजेटले लगानीकर्ताको उक्त मागलाई सम्बोधन नगरे पनि धितोपत्र बोर्डको संस्थागत विकास गर्नुका साथै विद्युत् प्रसारणलाइन क्षेत्रका बासिन्दालाई सेयर वितरण गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ। यसले लगानीकर्तालाई उत्साहित बनाएको छ। अन्यथा अन्य व्यवस्थाहरु भने पुरानै दोहोरिएका छन्।
Shares

प्रतिक्रिया