ad ad

कारोबार


पेट्रोलसहित सबै सवारीसाधनको कर बढ्यो, ईभीको मूल्य १२ प्रतिशतले बढ्ने

पेट्रोलसहित सबै सवारीसाधनको कर बढ्यो, ईभीको मूल्य १२ प्रतिशतले बढ्ने

वसन्त अर्याल
जेठ १६, २०८१ बुधबार १२:२१, काठमाडौँ

पेट्रोल, डिजेल र विद्युतीय गाडीको मूल्य बढ्ने भएको छ। सरकारले विद्युतीय गाडीमा भन्सार र अन्तःशुल्क थप गर्दा पेट्रोल तथा डिजेल इन्जिनका गाडीको सडक दस्तुर बढाएको छ।

नेपालमा हाल सबैभन्दा बढी विद्युतीय गाडी बिक्री भइरहेका छन्। सरकारले कम मूल्यका गाडीदेखि बढी मूल्य पर्ने सबै गाडीका एकै पटक कर बढाएको छ। विद्युतीय गाडीमा २० प्रतिशतसम्म भन्सार बढाएको छ। गाडीअनुसार मूल्य बढ्ने व्यवसायी बताउँछन्। 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले सरकारले बढी बिक्री गरी राजस्व बढी संकलन गर्न सक्नेमा कम बिक्री हुने वातावरण बनाएको बताए। 

‘नेपालमा गाडी बिक्री बढाउँदा राजस्व त झन् बढ्छ’, गोल्छाको प्रतिक्रिया छ, ‘कर बढाउँदा गाडीको मूल्य बढ्छ, राजस्व झन् घट्छ।’

उनले पेट्रोल डिजेलका गाडीमा २ प्रतिशतसम्म सडक दस्तुर लगाएकाले थोरै बढ्ने र विद्युतीय गाडीमा १० प्रतिशतमाथि बढाएकाले मूल्य धेरै बढ्ने बताए।  

आर्थिक विधेयकअनुसार सरकारले हाल मोटर पिकपावर ५० किलोवाटसम्म १० प्रतिशत भन्सार महशुल रहेकोमा अन्तःशुल्क ५ प्रतिशत थप गरेको छ भने १० प्रतिशत रहेको भन्सार महशुल १५ प्रतिशत पुर्‍याएको छ।

मोटर पावरको ५० देखि १०० किलोवाटसम्म १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लाग्दै आएको छ। अन्तःशुल्क १० बाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ भने भन्सार १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याइएको छ। नेपालमा हाल सबैभन्दा बढी यही सेग्मेन्टमा गाडी आयात हुँदै आएका छन्।  

१०० किलोवाटदेखि २०० किलोवाटसम्मका चारपांग्रे निजी गाडीमा २० प्रतिशत भन्सार महशुल र २० प्रतिशत अन्तःशुल्क लाग्छ। अन्तःशुल्कको व्यवस्था यथावत् छ। भन्सार भने ३० प्रतिशत पुर्‍याइएको छ।

२०० देखि ३०० किलोवासम्मका बिजुली गाडीमा ४० प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था रहेको छ। अहिले अन्तःशुल्क ३५ प्रतिशतमा सीमित गरिएको छ भने भन्सार ४० प्रतिशतबाट ६० प्रतिशत पुर्‍याइएको छ।

३०० किलोवाटमाथिका गाडीमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था छ। अहिले अन्तःशुल्क ५० प्रतिशतमा झर्दा भन्सार महशुल ८० प्रतिशत पुर्‍याइएको छ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले साना गाडीमा पनि कम्तीमा १२ प्रतिशतले मूल्य बढ्ने बताएका छन्। 

‘भन्सार र महशुलमा ५–५ प्रतिशत बढाएको छ। यसमा भ्याट र सडक दस्तुर जोड्दा करिब १२ प्रतिशतले मूल्य बढ्ने सम्भावना देखिन्छ’, उनले भने, ‘उपभोक्ताको हिसाबले हेर्दा नबढाएको भए हुन्थ्यो। व्यवसायीले त आफ्नो लागतअनुसार मूल्य समायोजन गरी बिक्री गर्छन्।’

चारपांग्रेमा सडक दस्तुर २ प्रतिशत बढायो, मोटरसाइकलमा यथावत्
सरकारले ११ सिटमाथिका बस, मिनीबस, माइक्रो बसमा ९ प्रतिशत सडक दस्तुर लाग्ने व्यवस्था गरेको छ। हाल बस तथा ट्रकमा सात प्रतिशत मात्रै सडक दस्तुर लाग्ने गरेको थियो। ट्रक, बुलेटमा लाग्ने सडक दस्तुर ७ प्रतिशत नै राखेको छ। 

सार्वजनिक यातायातका बसमा समेत सडक दस्तुर बढाएकोमा अटो व्यवसायी असन्तुष्ट छन्। अहिले बस तथा ट्रकको व्यवसाय करिब ७० प्रतिशत नै खस्किएको अवस्थामा सडक दस्तुर बढाएको छ। 

‘सार्वजनिक यातायातको रुपमा सञ्चालन हुने बसमा सडक दस्तुर बढाउँछ भन्ने अपेक्षा थिएन’, टाटाको आधिकारिक बिक्रेता सिप्रदी टे«डिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, ‘अब बसको बजार अलि चलायमान हुन्छ कि भन्नेमा ठप्पै होलाजस्तो छ।’
१० सिट भएका गाडीमा भने १० प्रतिशत सडक दस्तुर लाग्ने भएको छ।  

विद्युतीय मोटर मात्रै भएका ११ सिटमाथिका बसमा २.५ प्रतिशत लाग्ने व्यवस्था गरेको छ। यसअघिको व्यवस्थालाई निरन्तरता दिएको छ। १० सिट मात्रै विद्युतीय भ्यानलाई ५ प्रतिशत सडक दस्तुर लाग्नेछ।  

तीन पांग्रे सवारीलाई प्रतिगोटा १५ हजार लाग्ने व्यवस्था गरेको छ। विद्युतीय ३ पांग्रेमा भने १० हजार सडक दस्तुर लाग्छ। धक्का दिने विद्युतीय मोटर मात्र भएका गाडीमा यसअघिकै ५ प्रतिशत यथावत् छ। 

१ हजार सीसीमाथि कार जिप भ्यानहरुमा मूल्यको ८ प्रतिशत मात्रै सडक दस्तुर लाग्ने व्यवस्था रहेकोमा अब १० प्रतिशत लाग्ने व्यवस्था गरेको छ। हाइब्रिड गाडीमा पनि १० प्रतिशत सडक दस्तुर लाग्नेछ। यसअघि २  सीसीभन्दा माथिका गाडीमा १० प्रतिशत सडकर दस्तुर लाग्दै आएको थियो। 

पिकअप गाडी तथा डेलिभरी भ्यानमा १० प्रतिशत लाग्ने व्यवस्थालाई निरन्तरता दिइएको छ। 

मोटरसाइकल तथा स्कुटरमा सडक दस्तुर यथावत् छ। १२५ सीसीसम्मका दुईपांग्रेमा १५ हजार, १२५ देखि २५० सीसीसम्म १८ हजार, २५० सीसीभन्दा बढी ४०० सीसीसम्मका मोटरसाइकलमा २० हजार र ४०० सीसीमाथिका मोटरसाइलका १० प्रतिशत लाग्नेछ। विद्युतीय २ पांग्रेमा १० हजार लाग्ने व्यवस्था यथावत् राखेको छ।  

सरकारले सडक दस्तुर, भन्सार, अन्तःशुल्कपछिको मूल्यमा लगाउने हुँदा २ प्रतिशत मात्रै बढ्दा पनि मूल्य बढ्ने व्यवसायी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .