कारोबार


करको विषयमा अलि म कठोरै छु साथीहरु यो बुझिदिनुहोलाः अर्थमन्त्री खतिवडा

करको विषयमा अलि म कठोरै छु साथीहरु यो बुझिदिनुहोलाः अर्थमन्त्री खतिवडा

नेपालखबर
फागुन ११, २०७६ आइतबार ७:५५,

अर्थमन्त्री डा. युवराज खतिवडाले अलि धेरै कमाउनेबाट कर बढी उठाएर भए पनि गरिबीको रेखामुनि रहेका नागरिकको बीमा गरिने बताएका छन्।

राष्ट्रिय बीमा संस्थानको ५३औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले आफ्नो काम नै कर उठाएर पुनर्वितरण गर्ने भएकाले करको विषयमा आफू अलि कठोरै भएको बताएका हुन्।

उनले भने, ‘अर्थमन्त्रीको काम कर उठाउने र पुनर्वितरण गर्ने हो। तपाईंहरुले दिनुभएन कर त्यहाँ पनि पुग्दैन त्यो वर्गलाई माथि उठाउने कुरा नगर्ने हो भने हामी श्रमजीवी वर्गको पार्टी भन्छौँ, हामी तल्ला वर्गको जनताको उत्थान गर्ने पार्टी भन्छौँ, श्रमिकको पार्टी भन्छौँ, गरिबको पार्टी भन्छौँ, तिनीहरुको उत्थानचाहिँ कसले गरिदिने, हामीले नगरे कसले गर्ने? त्यसो हुनाले करको विषयमा अलि म कठोरै छु साथीहरु यो बुझिदिनुहोला।’

‘बीमादाबी भुक्तानी समयमै नभए कारबाही’
अर्थमन्त्री डा. खतिवडाले बीमा दाबीको भुक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिने बताएका छन्। उनले बीमा कम्पनीहरुले दाबी भुक्तानी समयमा नगर्ने भएकाले बीमितहरु समस्यामा परेको उल्लेख गर्दै अबदेखि समयमा भुक्तानी नगर्ने कम्पनीलाई नियामक निकायले कारबाही गर्ने बताएका हुन्।

कार्यक्रममा उनले भने, ‘आफुले गरेको बीमाको रकम तिर्नुभएन तपाईहरु बीमा गर्ने संस्थाहरुले भने कारबाही गर्ने हो। यस्तो पनि हुन्छ हामीकहाँ, बीमा ग¥यो समयमा भूक्तानी पाउन गाह्रो, दशथरि प्रमाण जुटाउनुप¥यो । अहिलेको प्रविधिको युगमा हामी उच्च प्रविधिको प्रयोग गरेर हरेक किसिमका दुर्घटनाहरुको विवरण लिने र अल्मोष्ट रियलटाइम, तत्कालै सुविधा दिन सक्ने क्षतिपूर्ति दिनसक्ने बीमितको रकम फिर्ता दिनसक्ने यो व्यवस्थामा गइएन भने हामीले जतिसुकै संस्था विस्तार गरे पनि बीमाको विस्तार हुँदैन। हामीले छिट्टो तरिकाले पाउने भुक्तानी दिने विधिमा जानुपर्छ।’

अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले ठूला–ठूला ग्राहक खोज्ने ठूला–ठूला कारोबार मात्रै गर्ने सानातिना बीमा गर्नुपर्ने व्यवसायलाई हेर्दै नहेर्ने प्रवृत्तिको अन्त्य गर्न समेत आग्रह गरे। त्यसका लागि आफूले गरेको कुल कारोबारको ५ प्रतिशत बीमा लघुबीमा गरेको हुनुपर्ने व्यवस्था गरिएको समेत बताए। सरकारले विपन्न वर्गका नागरिकलाई स्वास्थ्य बीमामा पहुँच पु¥याउन १ लाखसम्मको बीमाको प्रिमियम निःशुल्क गरेको र गत वर्ष २ अर्ब रकम खर्च गरेकाले बीमा कम्पनीहरुलाई पनि त्यसतर्फ ध्यान दिन आग्रह गरे।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बीमा कम्पनीहरुले सबै क्षेत्रको जोखिम बोक्ने भएकाले बीमा क्षेत्रमा संस्थागत सुशासन र जोखिम व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हुने बताए। त्यसका लागि बीमा समितिले सबै पूर्वाधारहरु तयार गगरिसकेको र आगामी आर्थिक वर्षको सुरुदेखि नै जोखिममा आधारित सुपरिवेक्षण र जोखिममा आधारित पुँजीलाई कार्यान्वयनमा ल्याउने बताए। उनले बीमा कम्पनीहरुको जोखिम पहिचान गरिसकेको र आगामी दिनमा बीमा सल्भेन्सी १ः१.५को अनुपातमा तुलना गरेर सबैभन्दा बढी जोखिम हुने कम्पनीको पुँजी बढाउने या कारोबारमा रोक लगाउने विकल्पमा जाने बताए।

अध्यक्ष चापागाईंले राष्ट्रिय बीमा संस्थान लगायत राष्ट्रिय बीमा कम्पनीको लामो समय देखिको लेखापरिक्षण समपन्न हुन नसकेको र यसलाई छिटो भन्दा छिटो सम्पन्न गर्न समेत निर्देशन दिए। उनले सरकारको स्वामित्व भएको बीमा कम्पनी भएकाले पनि संस्थागत सुशासनलाई सुधार गरी व्यवसाय विस्तारका लागि आफ्नो उपस्थितिलाई वृद्धि गर्न सुझाव समेत दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad